खाडीको तीन बर्षे तनाव अन्त्यको बाटोमा

साउदी अरेविया तथा उसको नेतृत्वमा रहेका अन्य खाडीका मुलुकहरु युएई, बहराइन तथा ईजिप्टले कतारमा लगाएको नाकावन्दी तीन बर्षपछि अन्ततः टुँगिने बाटोमा अगाडी बढेको छ । खाडीकै कुवेतको निरन्तरको प्रयत्न, अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा जो वाइडेनको कार्यभार सुरु हुनै लाग्दा खाडीको तनाव मत्थर हुन लागेको छ ।

नेपाल र भारतको झैं ‘रोटी बेटी’को सम्वन्ध भएको कतारको साउदी अरेविया तथा खाडीका अन्य मुलुकहरु युएई, बहराइन लगायतसँग वितेका तीन बर्ष अत्यन्त तित्ततापूर्ण सम्वन्ध रह्यो । दुध, दुग्यजन्य पदार्थ, तरकारी देखि धेरैजसो सामग्रीमा कतार साउदी अरेवियामा निर्भर थियो । चीन तथा तेश्रो मुलुकबाट आउने सामग्रीहरु कतारले युएई हुँदै आयात गर्दथ्यो । तर एकाएक सुरु भएको नाकावन्दीले सुरुमा कतारमा निक्कै अप्ठ्यारो अवस्था सिर्जना भयो । तर सो मुलुकले यसबीचमा नाकावन्दीलाई अवशरका रुपमा बदल्ने प्रयत्न गर्यो । कतार हाल दुध तथा दुग्यजन्य पदार्थमा आत्मनिर्भर तथा तरकारी लगायतको उत्पादनमा वृद्धि गर्न सफल भएपनि यसका लागि सो मुलुकले चुकाउनु परेको आर्थिक मूल्य धेरै ठूलो छ । यसैगरी हवाई उडानमा खेपेको अप्ठ्यारो तथा कतार एयरवेजले खेपेको संकट ठूलो भएपनि साउदी अरेविया लगायतका मुलुकहरुले जुन उद्देश्य र अपेक्षाका साथ कतारविरुद्द नाकावन्दी लगाएका थिए, त्यो भनें अन्ततः सफल हुन सकेन ।

यसबीचमा कतार माथि दवाव बढाएर ईरान, टर्की लगायतका मुलुकसँगको उसको सम्वन्धलाई जुन सहजताका साथ तोड्न सकिन्छ भन्ने साउदी अरेविया लगायतका मुलुकहरुको आँकलन थियो, तीन बर्ष भित्रमा त्यो पुरा हुन सकेन, उल्टै यसले कतारलाई खाडीका अन्य छिमेकी मुलुकसँग टाढा पुर्याउँदै टर्की र ईरानसँग नै नजिक्याएपछि साउदी अरेविया लगायतका मुलुकहरु नाकावन्दी अन्त्यको निश्कर्षमा पुगेको अनुमान छ ।

नाकावन्दी यसै पनि खराव कुरा हो जसको अनुभव नेपाल र नेपालीले यसअगाडी नराम्रोसँग गरिसकेका छन् । भारतले लगाएको चर्को नाकावन्दीलाई कमसेकम अहिलेको नेपाली पुस्ताले विर्सने छैन । भारतीय नाकावन्दीका कारण नेपाल र नेपालीले जुन अप्ठ्यारो भोगे, साउदी अरेविया, युएई, बहराइन, ईजिप्टले पनि त्यहि रवैया अपनाएका थिए सन् २०१७ को मध्य देखि सुरु भएको नाकावन्दीमा कतारमाथि । सडक मार्ग भन्द गरियो, हवाई मार्ग नियन्त्रीत भयो, कुटनीतिक सम्वन्ध सवै भत्काइयो । दृष्यमा कुनै लेनदेन नदेखिई भारतले एकतर्फी रुपमा सुरु गरेको नाकावन्दी केहि नभए झैं गरेर जसरी फिर्ता लियो अहिले खाडीमा त्यहि रुप पुनरावृत्ति भएको छ । साउदी अरेविया लगायतका मुलुकहरु तीन बर्ष पश्चात नाकावन्दी हटाउन तथा सम्वन्ध सहज बनाउँदै खाडीका मुलुकबीचको एकतालाई मजबुत बनाउन तत्पर भएका छन् । साउदी अरेवियाका परराष्ट्रमन्त्री राजकुमार फैजल बीन फरहानले पछिल्ला केहि दिनभित्र ‘महत्वपूर्ण प्रगति’ भएको बताएका छन् भनें कतारका परराष्ट्रमन्त्री शेख मोहम्मद बीन अव्दुल्लाहरहमान अल थानीले कुवेतले हालै जारी गरेको वक्तव्यलाई ‘स्वागतयोग्य कदम’ भनेका छन् । यो खाडीमा तीन बर्षदेखि जारी तनाव सेलाउने छाँटकाँट मात्र होइन, शान्तिको चाहना राख्नेहरुका लागि पनि एउटा सुखद सन्देश हो । साउदी अरेवियाका परराष्ट्रमन्त्रीले हालको प्रगतिबाट ‘आफू उत्साहित रहेको’ र ‘चाँडै नै सम्झौता हुने र समस्या हल हुने’ आशा व्यक्त गरेबाट खाडीको संकटले पार पाउने अनुमान गर्न सकिन्छ ।

यसबीचमा अर्को महत्वपूर्ण कुरा भनेको अमेरिकाको दृष्टिकोणमा आएको परिवर्तन पनि हो । हालै साउदी अरेवियाको भ्रमण गरेका अमेरिकी विदेशमन्त्री माईक पेम्पेओले खाडी क्षेत्रको समस्या सुल्झिनेमा आफू ‘धेरै आशावादी’ रहेको बताएका छन् । विशेषगरी साउदी अरेविया लगायतका मुलुकलाई कतार विरुद्ध उत्रिन भित्रि रुपमा अमेरिकी समर्थन रहेको अनुमान गरिएको सन्दर्भमा अमेरिकी अधिकारीको यो भनाईको महत्वपूर्ण अर्थ छ । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा अनुदार देखिएका डोनाल्ड ट्रम्पको हार र डेमोक्र्याट जे वाईडेनको विजयले पनि खाडी क्षेत्रको राजनीतिक परिदृष्य फेरिने आँकलन सुरु भइसकेको थियो । विशेषगरी साउदी अरेवियाका शक्तिशाली राजकुमार मोहम्मद सलमानको व्यवहार प्रति वाईडेनको आलोचना र मानवअधिकारको हननका घटनाप्रतिको तिखो टिप्पणीका कारण पनि साउदी अरेविया विवाद अन्त्यको दिशामा जान बाध्य भएको विश्लेषकहरु अनुमान गर्दछन् । जनवरीमा आफ्नो कार्यकाल सकेर ह्वाईटहाउस छोड्दै गर्दा डोनाल्ड ट्रम्पले पनि खाडीको विवाद अन्त्य होस् भन्ने चाहेको खाडी क्षेत्रको राजनीतिका जानकारहरु बताउँछन् । गत हप्ता कतारका शेख तामिम बीन मोहम्मद अल थानीसँग ट्रम्पका विशेषदूतका रुपमा ट्रम्पका ज्वाई कुशनेरले गरेको भेटघाटलाई त्यहि रुपमा लिइएको छ ।

पछिल्लो विकासक्रमबाट केहि सकारात्मक सन्देश आएपनि तत्काल सवै समस्या हल भईनहाल्ने विश्लेषकहरु अनुमान गर्दछन् । “साउदी अरेविया र कतारबीच रहेको मतभेद निक्कै हल हुँदै आएको छ”, रोयल युनाईटेड सर्भिस ईन्स्टिच्यूटका थिंक ट्याँक माईकल स्टेफन भन्छन् “यसले सम्वन्धमा सुधार आउने सम्भावना देखिएको छ तर एकाएक पुरै समस्या समाधान भइहाल्ने अपेक्षा गर्नु भनें हतार हुनेछ ।” दुवै पक्षमा केहि समय संशय बाँकी रहने र यो पूर्ण रुपमा हट्न समय लाग्ने उनको भनाई छ ।

युएई भनें अझै पनि कतार प्रति धेरै सकारात्मक छैन । विशेषगरी कतारको टर्कीसँगको सम्वन्ध उसले रुचाउँदैन । खाडी क्षेत्रमा बढेको टर्कीको प्रभावलाई युएईले मन पराएको छैन । टर्कीको प्रभाव बढाउन कतारले नै भूमिका खेलेको युएईको विश्वास छ जसलाई टर्कीसँग संयुक्त सैन्य अभ्यास, टर्कीको सेनाको बेस क्याम्प राख्न अनुमति दिएर कतारले यसलाई पुष्टि पनि गरिसकेको छ । सहमतिको वातावरण बन्दै जाँदा कतारले टर्कीसँगको आफ्नो नाता नतोड्ने स्पष्ट पारिसकेको छ । नाकावन्दी सुरु भएपछि टर्कीले खाद्यान्न पठाएर कतारलाई सहयोग गरेको थियो भनें सेना समेत पठाएर कतारसँग ऐक्यवद्दता जनाएको थियो ।

विश्व राजनीतिमा आएको फेरवदल, लामो समयसम्मको नाकावन्दीका वावजूद आर्थिक रुपमा कतारलाई धरासायी पार्न नसक्नु र विश्व समुदायबाट एक्ल्याउन नसकेका कारण साउदी अरेविया लगायतका मुलुकहरु अन्ततः सम्झौताको विन्दुमा आइपुगेका छन् । भित्रि लेनदेन वा सहमतिका विषयहरु भएको भए समयक्रमसँगै सार्वजनिक होलान् नै तर अमेरिकामा राष्ट्रपतिको फेरवदल तथा लाभ भन्दा हानी भएका कारण नै खाडीका अन्य मुलुकहरु कतारसँग छुटेको हात मिलाउन आइपुगेका छन् । यसले खाडी क्षेत्रमा देखिएको अनिश्चयको बादल केहि हदसम्म हट्ने र शान्ति स्थापनाको बाटोमा सकारात्मक कदम अगाडी बढ्ने अपेक्षा गर्न सकिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय