जव परदेशमा अलपत्र परेकाहरुको पीडा सरकारमा बस्नेहरुले बुझ्दैनन् ……

आइतवार युएई स्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमा एउटा विज्ञप्ती प्रकाशित गर्यो । सो विज्ञप्तीमा १७ देखि ३१ अगष्टसम्म १५ दिन भित्र हुने १५ उडानको विस्तृत विवरण थियो जसको समाचार देशपरदेशमा पनि छापिएको छ । यस्तै उडान तालिकाहरु अन्य मुलुक स्थित नेपाली दूतावासहरुले पनि सार्वजनिक गरेका थिए र आफ्नै खर्चमा स्वदेश फर्किनेहरुको नामावली पनि ।

सोमवार साँझ विभिन्न मुलुकबाट हुने उडानहरु रोकिएको पत्र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका तर्फबाट पर्यटन मन्त्रालयलाई पठाइएको र उडानहरु अकस्मात र तत्काल रोकिएको सार्वजनिक भयो । जतिबेला सो आकस्मीक निर्णय सार्वजनिक हुँदै थियो, युएईबाट स्वदेश फर्किन नेपाल एयरलाइन्सको टिकट काटेकाहरु विमानस्थल पुग्दै थिए । प्राप्त समाचार अनुसार केहि व्यक्तिले उडान स्थगित भएको जानकारी फोन मार्फत पाए, झण्डै एक सयको हाराहारीले एयरपोर्ट पुगेपछि मात्र सोका बारेमा जानकारी पाए । विलखबन्दमा परे उनीहरु ।

एउटा परदेशी अनेकौं झण्झट खेपिसकेको अवस्थामा बल्लतल्ल स्वदेश फर्किने टिकट हातपरेर विमानस्थल पुग्दा उसले के कस्तो तयारी गरिसकेको हुन्छ र सरकारी कुर्सीमा बसेकाहरुले अकस्मात यसरी निर्णय गर्दा तिनिहरुलाई के आपत आइपर्दछ भन्ने हेक्का सायद उनीहरुलाई छैन । यसरी अकस्मात उडान स्थगित गर्दा परेदशीलाई कस्तो समस्या आईपर्दछ भन्ने कुरा सायद उनीहरुको हेक्कामा रहेन वा त्यो समस्यालाई अनुभूत नै गरेनन् उनीहरुले । बस्ने कोठा छोडेर, प्रयोग गरेका मालमत्ताको व्यवस्थापन गरेर परदेश छोडेर फर्किदै थिए उनीहरु । अर्थात जहाज नउड्ने भयो भन्ने खवर उनीहरुका लागि अप्रिय मात्र थिएन, सकसपूर्ण थियो ।

दैनिक रुपमा भइरहेका उडान मार्फत कति नेपाली फर्किदैछन् र उनीहरुको व्यवस्थापन कसरी गर्नु पर्दछ, व्यवस्थापनमा आइपरेका चुनौति के छन् र ति चुनौतिलाई कसरी पार लगाउने भन्ने विषयमा कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र पक्कै जानकार हुनु पर्ने हो । तर कुनै छिमेकीले अकस्मात गोलाबारुदले झम्टिएपछि वा कुनै सशस्त्र समूह फ्याट्टै प्रकट भएपछि त्यसलाई रोक्न प्रत्याक्रमणमा उत्रिए झैं उडान स्थगितको निर्णय गर्नु लज्जास्पद कुरा हो । यो परदेशमा रहेका र स्वदेश फर्किने अन्तिम पाइला टेक्दै गरेकाहरु प्रतिको घात हो । उडान स्थगित हुँदाको पीडा विदेश स्थित नेपाली नियोगले निकालेका सूचनामा नेपाली नागरिकले दिएको प्रतिकृयाबाट नै बुझ्न सकिन्छ ।

घर फर्किन पाइने भयो भनेर आफ्ना सवै जिम्मेवारी टुँग्याएर ढुक्कका साथ विमानस्थल पुगेकाहरु माथि अकस्मात आइपरेको यो समस्याका विषयमा त्यो अकस्मात निर्णय गर्नेहरु जानकार छन् वा छैनन् ? के उनीहरुले यसको जिम्मेवारी लिनु पर्दैन ? नागरिकसँग उठाउनु पर्ने कुतका लागि कुनै मोलाहिजा नगर्ने सरकारले आफैंले समस्था थोपरेका नागरिक प्रति राज्यले जिम्मेवारी लिनु पर्दछ की पर्दैन ?

हो, कोभिड १९ का कारण समस्या छ । पछिल्ला केहि दिनयता त्यो समस्या नेपालमा अझ चर्किंदो छ । यो सवैलाई राम्रोसँग जानकारी भएको विषय हो । तर यसको अर्थ हठात निर्णय गर्ने र समस्यामा रहेकाहरुलाई थप अप्ठ्यारोमा पार्ने छुट कसैलाई हुन्न । कुनै महत्वपूर्ण निर्णय गर्दैगर्दा त्यसले भुईमान्छेलाई के प्रभाव पार्दछ भन्ने आँकलन सत्ता र शक्तिमा बस्नेहरुले गर्न सक्नु पर्दछ ।  राज्यको निर्णायक तहमा बस्ने व्यक्ति सेवक हुन सक्नु पर्दछ न की शासक । उडान स्थगनको निर्णय जुन रुपमा अकस्मात गरियो र यसले स्वदेश फर्किन विमानस्थल पुगिसकेको, टिकट काटिसकेका वा कोभिड परीक्षण लगायत सम्पूर्ण प्रकृया सकेर दिन पर्खेर बसेकाहरुलाई पारेको अप्ठ्यारोको सम्वोधन तत्काल हुन आवश्यक छ ।

यो पनि पढ्नुहोस् ‘सरकार अव हामी परेदशमा भोकै मर्नु ?’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय