श्रमिकलाई मलेसिया आउँदा तिरेको रकम किन फिर्ता गर्दैछन् यी कम्पनीहरु

विश्वकै ठूलो ग्लोव उत्पादक कम्पनी मध्येको टप ग्लोव, मलेसियाले आफ्नो कम्पनीमा काम गर्ने श्रमिकहरुलाई उनीहरुले भर्ना प्रकृयामा तिरेको रकम फिर्ता गर्ने काम सुरु भइसकेको जनाएको छ । बेलायती सञ्चार माध्यम रोयटर्सका अनुसार सन् २०१९ सम्मको विश्वकै सवैभन्दा ठूलो ग्लोव उत्पादक सो कम्पनीले हालसम्म पहिलो किस्ता वापत श्रमिकहरुलाई ४४ लाख रिंगिट भुक्तानी गरिसकेको बताएको छ ।

आप्रवासी श्रमिकहरुलाई रोजगारीका लागि भर्ना शुल्क तिराएको र बाध्यकारी श्रम गर्न बाध्य बनाएको भन्दै अमेरिकाले टप ग्लोव, डव्लुआरपी लगायतका कम्पनीहरुको उत्पादन आयातमा बन्देज लगाएपछि ति कम्पनीहरु समस्यामा परेका थिए । अमेरिका ति कम्पनीहरुद्धारा उत्पादित ग्लोव खपत गर्ने ठूलो मुलुक हो ।

????????????????????????????????????

कोभिड १९ का कारण विश्वव्यापी रुपमा ग्लोवको ठूलो मागका बीच वन्देज कायम रहेपछि सो फुकुवा गर्ने उद्धेश्यले टप ग्लोव लगायतका कम्पनीहरुले आप्रवासी श्रमिकहरुले तिरेको रकम फिर्ता गर्ने घोषणा गरेका थिए । सो अनुरुप केहि कम्पनीहरुले रकम फिर्ता गरिसकेको बताएका छन् भनें केहिले किस्तावन्दीमा रकम फिर्ता गरिरहेको बताएका छन् ।

टप ग्लोवले सोमवार विज्ञप्ती जारी गर्दै पहिलो किस्ता वापत आप्रवासी श्रमिकहरुलाई १० लाख अमेरिकी डलर (४४ लाख रिंगिट) रकम भुक्तान गरिसकेको जनाएको रोयटर्सले लेखेको छ । सो कम्पनीले ५ करोड ३० लाख रिंगिट रकम आप्रवासी श्रमिकलाई फिर्ता गर्नुपर्ने देखिएको समाचारमा जनाइएको छ । किस्तावन्दीमा रकम फिर्ता गर्ने भन्दै टप ग्लोवले अमेरिकासँग बन्देज फुकुवाका लागि पहल भइरहेको स्पष्ट पारेको छ । सो कम्पनीले अगष्ट महिना भित्रमा बन्देज फुकुवा हुने अपेक्षा गरिएको जनाएको छ ।

टप ग्लोवले रकम फिर्ता गरेको स्वतन्त्र रुपमा पुष्टि भएको छैन । यदि सो कम्पनीका काम गर्ने कुनै नेपाली भएमा कम्पनीले रकम फिर्ता दिए/नदिएको विषयमा जानकारी दिन सक्नुहुन्छ ।

यसैगरी अर्को एक प्रतिस्पर्धी कम्पनी हार्टालेगाले पनि आफ्नो कम्पनीमा कार्यरत आप्रवासी श्रमिकलाई उनीहरुले तिरेको रकम आगामी सेप्टेम्वर देखि फिर्ता दिन सुरु गर्ने योजना सार्वजनिक गरेको छ । सो कम्पनीले ४ करोड रिंगिट श्रमिकहरुलाई फिर्ता गर्नुपर्ने अनुमान गरेको छ ।

यसैगरी रिभरस्टोन होल्डिङ्स कम्पनीले आफ्नो कम्पनीमा काम गर्ने आप्रवासी श्रमिकलाई उनीहरुले भर्ना शुल्क वापत तिरेको ३४ लाख रिंगिट रकम जुलाई ३१ सम्ममा भुक्तानी गरिसकेको जनाएको छ । सो कम्पनीले पनि ग्लोव्स उत्पादन गर्दछ । सो कम्पनीका मलेसियाका अलावा थाईल्याण्ड, चीन लगायतका मुलुकहरुमा पनि कारखानाहरु सञ्चालनमा छन् ।

मलेसियाको अर्को ग्लोव उत्पादक कम्पनी डव्लुआरपीले यसअगाडी देखि नै मासिक रुपमा रकम फिर्ता गर्न थालेको छ । डव्लुआरपीले गत जुलाई देखि नै भर्ना शुल्क बापत आप्रवासी श्रमिकले तिरेको रकम फिर्ता गर्न सुरु गरेको हो ।सो क्रममा १ हजार ६ सय आप्रवासी श्रमिकले किस्तावन्दीमा रकम फिर्ता पाउन थालिसकेका छन् । डव्लुआरपीले २ करोड १४ लाख रिंगिट आप्रवासी श्रमिकलाई उनीहरुले तिरेको भर्ना शुल्क वापत फिर्ता गर्दैछ । यसमा श्रमिकले कम्तीमा ४ हजार ५ सय ४७ देखि १६ हजार ५४ रिंगिटसम्म फिर्ता पाउँदैछन् । सो रकम ३० महिनाभित्रमा फिर्ता गरिसक्ने गरी डव्लुआरपीले हरेक महिना रकम फिर्ता गरिरहेको छ ।

डव्लुरआरपी कम्पनीमा कार्यरत देशपरदेशसँगको सम्पर्कमा रहेका केहि नेपाली श्रमिकले पनि आफूहरुले रकम फिर्ता पाउन थालेको बताएका छन् । हालसमेत सोही कम्पनीमा कार्यरत रहेका कारण आफ्नो परिचय गोप्य राखिदिन उनीहरुले अनुरोध गरेका छन् ।

यसैबीच टप ग्लोव, डव्लुआरपी लगायतका कम्पनीहरुको उत्पादनमा लागेको बन्देजको फाइदा अन्य स–साना कम्पनीहरुले उठाउन थालेका छन् । ग्लोव उत्पादन गर्ने सानो कम्पनी सुपरम्याक्स कर्पोरेशनले पछिल्लो एक चौमासिकमा मात्र ३९ करोड ९६ लाख २० हजार रिंगिट बरावरको कारोवार भएको र यो कारोवार कम्पनीको ईतिहासमै उच्च रहेको जनाएको छ । सो कम्पनीले अन्य कम्पनीलाई बन्देज लाग्नु अगाडी एक चौमासिकमा १ करोड ५० लाख ६० हजार रिंगिट बरावरको कारोवार गर्दै आएको थियो । कोभिड १९ का कारण विश्व बजारमा ग्लोवको मागमा भएको अत्याधिक वृद्धिका कारण पनि सो कम्पनीको कारोवार उच्च भएको समाचारमा जनाइएको छ ।

आप्रवासी श्रमिकको अधिकारका क्षेत्रमा कार्यरत एण्डी हलले हार्टालेगा, टप ग्लोव लगायतका कम्पनीहरुले आप्रवासी श्रमिकहरुलाई उनीहरुले भर्ना शुल्क वापत तिरेको रकम फिर्ता गर्नु सह्रायिन काम भएपनि रकम फिर्ता गर्ने समयावधि भनें धेरै लामो भएका बताएका छन् । रकम भुक्तानीको समयालाई छोट्याउनु पर्ने उनले बताए ।

मलेसियाका ति कम्पनीहरुमा ठूलो संख्यामा काम गर्नेमा नेपाली र बंगलादेशीहरु रहेका छन् । मलेसियाका केहि ग्लोव कम्पनीहरुले भर्ना शुल्क वापत आप्रवासी श्रमिकहरुले तिरेको रकम फिर्ता दिन सुरु गरेको वा फिर्ता दिने योजना सार्वजनिक गरेपनि सुपरम्याक्स ग्रुप, सेमप्रिट ग्रुप, कम्फर्ट ग्लोव्स, वाईटीवाई ग्रुप लगायतले भनें रकम फिर्ता गर्ने योजना सार्वजनिक गरेका छैनन् । ति कम्पनीहरुले पनि या त अविलम्व रकम फिर्ता दिन सुरु गर्नुपर्ने वा अन्तराष्ट्रिय जगतबाट बन्देज खेप्नुपर्ने समय आउने अधिकारकर्मी हलले बताएका छन् ।

मलेसियन रबर ग्लोव म्यानुफ्याक्चर्स एसोसिएसनले कोभिड १९ का कारण विश्वबजारमा ग्लोव्सको माग ११ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्वमा खपत हुने ग्लोव्स मध्ये तीनभागको दुई भाग मलेसियामा नै उत्पादन हुने गर्दछ ।

यो पनि पढ्नुहोस् मलेसिया जाँदा श्रमिकले तिरेको रकम धमाधम फिर्ता गर्दै मलेसियन कम्पनीहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय