नाकावन्दीमा कतारले गरेको प्रगति जो नेपालका लागि पनि सिक्न लायक छ

 

– सुनिल न्यौपाने
कुरा नेपालले खेपेको एउटा चर्को नाकावन्दी र त्यस अगाडीको त्रासदीपूर्ण घटनाबाट सुरु गरौं । २०७२ बैशाखमा नेपालमा विनाशकारी भूकम्प आयो । भूकम्पका कारण हजारौं व्यक्तिको ज्यान गयो, लाखौं घरहरु भत्किए । त्यो विनाशकारी विपत्तिबाट उम्किएर सन्तोषजनक आर्थिक वृद्दि तर्फ लम्केको नेपाल कोरोनाका कारण पुनः समस्यामा रुमल्लिएको छ ।

भूकम्प र कोरोना कहरका बीचमा नेपालले छिमेकीद्दारा सिर्जित एउटा ठूलो संकट व्यहोर्यो । २०७२ असोज ३ गते नेपालले नयाँ संविधान जारी गर्यो । संविधानसभाबाट पारित गर्दै नेपाली जनताले चुनेका प्रतिनिधिहरुले तयार पारेको सो संविधानमा तराई मधेसका कतिपय नेताहरुको असहमति थियो । र, त्यो भन्दा चर्को असहमति रह्यो छिमेकी मुलुक भारतको । हुन त नेपालको संविधान कस्तो बनाउने भन्ने विषय नितान्त नेपालको आन्तरिक मामिला थियो, तर त्यसमा असहमति जनाउँदै रुपमा तराईका केहि नेतालाई अगाडी सारेर सारमा भारतले निक्कै चर्को अघोषित नाकावन्दी लगायो नेपालमा । सो नाकावन्दीको कठोरतापूर्वक सामना गरे नेपाली जनताले । अन्ततः भारत बाध्य भएर सो नाकावन्दीबाट पछि हट्यो, जनजीवन सामान्य भयो, पुनः भारत वा भारतकै बाटो भएर आयातित सामग्रीले नेपालीको भान्सादेखि कार्यालयसम्म सञ्चालन हुनथाल्यो ।

सो नाकावन्दी पश्चात पनि नेपालमा आन्तरिक उत्पादन वृद्दिको आधार तयार भएन जसका कारण आत्मनिर्भरताको एउटा अवसर नेपालले गुमायो । हामी पुनः परनिर्भर नै रह्यौं । विसं २०२७ साल र विसं २०४५ सालपछि भारतले लगाएको तेश्रो नाकावन्दी खेपेर पनि नेपालले आत्मनिर्भरतको कुनै बाटो लिएन । तर त्यस्तै कठोर नाकावन्दीबाट गुज्रिएको अर्को एउटा मुलुकले भनें आत्मनिर्भरताको बाटो पक्रिएको छ जसका कारण नाकावन्दी एउटा अवशर बनेको छ ।

गत जनवरीमा कतारको भ्रमण गर्दा साथिहरुले त्यहाँको एउटा गाई फार्म हेरेर जान आग्रह गर्नुभयो । केहि साथिहरु सहित कतारको राजधानी दोहाबाट उत्तरमा रहेको बलदना (अरवि भाषामा यसको अर्थ मेरो देश भन्ने हुन्छ) नामको सो फार्म हेर्न जाने अवसर जुट्यो । सो फार्मलाई खाडी क्षेत्रकै ठूलो गाई फार्म रहेको सो संस्थाले दावी गर्दछ । ठूलो क्षेत्रफलमा फैलिएको सो गाई फार्म अत्याधुनिक रुपमा निर्माण गरिएको छ । चर्को गर्मी हुने कतारमा सो फार्म वातानुकुलित रुपमा निर्माण गरिएको छ जहाँ २४ हजार गाई राख्ने क्षमता रहेको फार्म सञ्चालक संस्थाले आफ्नो वेभसाइटमा जानकारी राखेको छ ।

सो फार्मबाट दुध, दही, चिज लगायत दैनिक आवश्यकिय दुग्धजन्य सामग्रीहरु उत्पादन हुन्छ । फार्मसँगै जोडिएको विक्रि केन्द्रबाट समेत ति वस्तु खरिद गर्न सकिन्छ । यो फार्म कतारमा एउटा चर्को संकटका बीच सुरु भएको हो ।

९ जुन, २०१७ देखि कतारको छिमेकी मुलुक साउदी अरवको नेतृत्वमा युएई लगायतका मुलुकहरुले चर्को नाकावन्दी गर्दै कतारलाई एक्ल्याए । नाकावन्दी हुनु भन्दा अगाडीसम्म साउदी अरवको अलमराई कम्पनीका उत्पादनले ८० प्रतिशत भरिने कतारका ग्रोसरीहरु तथा सुपरमार्केटहरुमा सुरुवाती एकहप्ता सामानहरुको हाहाकार नै भयो । यो अवस्थामा टर्की, ईरान लगायतका मुलुकबाट कतारले दुग्धजन्य सामग्री ल्याएर संकट टार्ने प्रयास त गर्यो तर त्यो समस्या समाधानको दिगो बाटो थिएन । डेन्डी, अल गदिर लगायतका स्थानीय कम्पनीको दुध, दुग्धजन्य उत्पादन, जुस जस्ता उत्पादनले कतारमा मागको सानो हिस्सा मात्र पुरा गर्दथ्यो । त्यसैले यहि संकटको बीचमा उदायो बलदना जहाँ नाकावन्दीको पाँच हप्ता पछि अर्थात जुलाई, २०१७ देखि जर्मनीबाट एयर कार्गो मार्फत गाईहरु भित्रिन थाले । सुरुमा चार हजार गाईबाट सुरु गर्ने घोषणा सहित सञ्चालनमा ल्याइएको सोही फार्मले अहिले आफूलाई खाडी क्षेत्रकै ठूलो गाई फार्म भएको दावी गर्दछ ।

नाकावन्दीका तीन बर्षबीचमा कतारमा दुध र दुग्धजन्य पदार्थको उत्पादनमा नाटकिय परिवर्तन भएको छ । बलदना, डेन्डी, अल रौआ, अल माहा, अल वजबा लगायतका फार्मबाट उत्पादित दुध र दुग्धजन्य सामग्रीले आन्तरिक माग मात्र पुरा गरेको छैन, ओमान, यमन, अफगानिस्तानसम्म निर्यात समेत सुरु गरेको छ । सन् २०१९ अप्रिलमा सार्वजनिक गरिएको आधिकारिक जानकारी अनुसार सो समयमा बलदनाबाट दैनिक ३ सय २० टन दुध उत्पादन भइरहेको थियो । आयातमा निर्भर मुलुकलाई नाकावन्दीले सिकाएको पाठबाट दुग्धजन्य पदार्थमा आत्मनिर्भरता मात्र नभई निर्यात गर्ने अवस्थासम्म पुग्नु नेपालका लागि पनि एउटा सिक्न लायक उदाहरण हो ।

नाकावन्दी पश्चात कतारले गरेको अर्को प्रगति हरियो तरकारी उत्पादनमा पनि हो । नाकाबन्दी भएको एक बर्षभित्रै सात सयवटा अर्गानिक फार्म सञ्चालनमा ल्याएको कतारले हालसम्ममा त्यसलाई वृद्दि गरेर १५ सय पुर्याएको जनाइएको छ । कतारमा तरकारी उत्पादनमा भएको वृद्दि यसलाई प्रत्यक्ष रुपमा देख्नेहरुले पनि अनुभूत गरेका छन् । कतारमा लामो समय देखि कार्यरत नेपाल पत्रकार महासंघ, कतार शाखाका अध्यक्ष करिम बक्स मियाँ पहिले देखि नै सञ्चालनमा रहेका कृषि फार्महरु विस्तार गरिएका र थुप्रै नयाँ थपिएको आफूले देखिरहेको बताउँछन् ।

गतसाता कतार ट्रिव्यूनमा एउटा लेख छापियो जसमा पछिल्लो दुई वर्षमा कतारमा हरियो तरकारी उत्पादनमा भएको ठूलो वृद्दिका बारेमा चर्चा गरिएको छ । वेबेनायरमा आधारित सो लेखमा केहि बर्षभित्रै कतारको आन्तरिक मागको ७० प्रतिशत तरकारी तथा फलफूल कतारमै उत्पादन गर्ने लक्ष्य राखिएको उल्लेख छ जसको कारण सन् २०१७ मा छिमेकी मुलुकहरुले सुरु गरेको नाकावन्दीलाई नै मानिएको छ ।

केहि दिन अगाडी कतारको कुरानिक बायोटिक गार्डेन नामको संस्थाले आयोजना गरेको वेबेनायरमा बोल्दै एग्रिको एग्रिकल्चर डेभलपमेण्ट कम्पनीका महानिर्देशक नासर अल खलिफाले आफ्नो संस्थाले कतारको मौषममा पनि हुने खालको खेती प्रणालीको विकास गरिसकेको बताएका थिए । उच्च तापक्रम, पानीको सिमितताका बीच पनि गर्न सकिने खेतीको विकास गरिएको उनको भनाई थियो ।

हालसम्म कतारमा मागको कति प्रतिशत हरियो तरकारी उत्पादन भइरहेको छ भन्ने यकिन नभएपनि जाडो मौषममा मागको ५० प्रतिशतको हाराहारी र गर्मीमा ३० प्रतिशत जति उत्पादन हुने गरेको अनुमान छ । नाकावन्दी अगाडी पनि मजराहरुमा तरकारी उत्पादन हुने गरेपनि त्यसमा सरकारी चासो वा मद्दत खास थिएन । तर नाकावन्दी पश्चात त्यस्ता मजराहरुमा सरकारी अनुदान बढ्यो । कतारी उत्पादनलाई नै प्रोत्साहित गर्ने नीति अख्तियार त्यहाँको सरकारले गर्यो जसबाट नेपालले पनि सिक्न सक्दछ ।

सरकारी प्रोत्साहनको नतिजा बजारमा स्पष्ट देखिएको छ । पहिले कतारमा उत्पादित सागसव्जी बजारमा थोरै मात्रामा देखिने गरेकोमा हाल ठूला मार्केटहरुमा देखिनेगरी प्राथमिकताका साथ विक्रि वितरण हुने गरेको छ । आन्तरिक उत्पादनलाई प्रोत्साहित गर्ने सरकारी अभियानलाई स्थानीय नागरिकको ठूलो साथ रहेको कतारमै कार्यरत प्रो. मोहम्मद रमजान अलि मियाँ बताउँछन् । समय–समयमा आन्तरिक उत्पादनका प्रदर्शनीहरु आयोजना गरेर तथा प्रोत्साहनका अन्य कार्यक्रमहरु आयोजना गरेर आन्तरिक उत्पादन वृद्दिको प्रयास कतारमा भइरहेको मियाँ बताउँछन् ।

नाकावन्दी पछि दुध, दुग्धजन्य पदार्थ, तरकारी लगायतको अभावले आन्तरिक उत्पादन प्रोत्साहनको नीति लिएर कतारमा हाल डिटर्जेण्ट देखि ईट्टा उत्पादनसम्ममा आत्मनिर्भरताको बाटोमा देखिएकोे छ । नेपालले पनि छिमेकी मुलुक भारतको नाकावन्दी तीनपटक भोगिसक्यो । तर नाकावन्दीको समयमा उर्लिने राष्ट्रवाद नाकावन्दी सकिएसँगै शिथिल हुँदै जान्छ । न सरकारले कुनै वस्तुमा आत्मनिर्भर हुनेगरी नीति बनाएर अगाडी बढ्यो न नागरिकस्तरबाट स्वदेशी उत्पादन प्रोत्साहित गर्ने काम नै भइरहेको छ । नाकावन्दी पछि कतारले चलाएको आत्मनिर्भरताको अभियान हाम्रा लागि पनि जरुरी छ ।

नाकावन्दीका कारण कतारमा स्वदेशी उत्पादन वृद्दिमा लागेको लागतका विषयमा खासै कुनै जानकारी सार्वजनिक गरिएको छैन । परिश्रम र लागत दुवै दृष्टिकोणबाट मरभूमिको देशमा गरिएको कृषि र पशुपालन त्यति सहज पक्कै छैन । यसका लागि कतारले लागत अनुरुपको प्रतिफल पाए नपाएको विषय भन्दा पनि यो कतारका लागि प्रतिष्ठाको विषय बनेको छ । तर नेपाल जस्तो अनुकुल हावापानी र भौगोलिक बनोट भएको मुलुकमा कृषि उत्पादन वृद्दिका लागि राज्यले होष्टेमा हैंसे गर्ने हो भनें बर्षेनी हुने कृषि तथा माछामासु आयातमा हुने अरवौं खर्च मुलुकभित्रै रहन सक्दछ ।

योे पनि पढ्नुहोस् मलेशियामा हराएका चन्द्रमानलाई कहिं देख्नु भएको छ ?

१९ असार २०७७, शुक्रबार