जो मलेसियाबाट मृत्यु जितेर फर्किए

 

– सुनिल न्यौपाने
कुरा गत फेब्रुअरी ५ तारिखको हो । बेलुकाको ६ः३० हुनै लागेको थियो । वैजनाथ चौधरी सधैं जस्तै १२ घण्टे ड्यूटी सक्ने मेलोमा थिए । विहान ७ बजेदेखि स्थानीय एक सपिङ मलमा सेक्यूरिटी गार्डको ड्यूटीमा खटिएका उनी त्यहाँ दुई बर्षदेखि कार्यरत थिए ।

अचानक उनलाई के भयो के ? रिंगटा लागेजस्तो भयो, चिट्चिट् पसिना आयो । ठम्याउनै सकेनन् उनले । ड्यूटी ईञ्चार्ज थिए सन्तोष कार्की । आफूलाई ‘गाह्रो भयो’ भन्नसम्म भ्याए बैजनाथले । ड्यूटी ईञ्चार्ज कार्कीले बोकेर गाडीमा हालेकोसम्म थाहा छ उनलाई । दुई महिनापछि थाहा पाउँदा उनी क्वालालम्पुरकै एक अस्पतालमा मुढो लडे झैं लडिरहेका थिए ।

यसबीचमा परिवारले यता नेपालमा खेप्नु हण्डर खेपिसकेको थियो । कहिले उनीहरु वैदेशिक रोजगार बोर्ड त कहिले परराष्ट्र मन्त्रालय अनी कहिले श्रम मन्त्रालय दौडिरहेका थिए, सहयोगको आशमा ।

सन् २०१३ मा मलेसिया गएका वैजनाथ सुरुमा एउटा खाद्यान्न कम्पनीमा काम गर्दथे । चार बर्ष त्यहाँ काम गरेपछि सो कम्पनी छोडेर अन्यत्रै काम गर्दथे उनी । लामो समय भइसकेका कारण उनको मलेसिया बसाई कानूनतः अवैधानिक भइसकेको थियो । त्यसैले सरकारी निकायबाट खासै सहयोग नपाइने थाहा पाएपछि परिवारका सदस्यहरु फर्किए नवलपरासी नै ।

नवलपरासीको सरावल गाउँपालिका पटनीका बैजनाथ झण्डै साढे चार महिना मलेसियाको एक अस्पतालको बसाई पछि यहि हप्ता नेपाल उत्रिएका छन् धेरैको धेरैथरीका ऋण र गुन बोकेर । उनलाई यसबीचमा मलेसियामा नै कार्यरत नवलपरासीकै रमेश कुमार थारु, मलेसियन नागरिक एड्रिन परेरा, शंकर बहादुर पौडेल देखि आफन्तहरुले गुन लगाएका छन् जसलाई गाह्रोसँग बोल्न थालेका बैजनाथले कुराकानीको पहिलो वाक्यमै सम्झिए । “मलाई नेपाल हेर्न पाउँछु, परिवार भेट्न पाउँछु भन्ने कुनै आशै थिएन” देशपरदेशसँग उनले भने, “मलाई बचाई दिने सवैलाई धन्यवाद ।”

दमनसराको सपिङ मलबाट अस्पतालको लामो बसाई हुँदै बैजनाथ अहिले परिवारसँग आईपुगेका छन् । ‘नवलपरासीकै एकजना अस्पतालमा छ रे’ भन्ने खवर पाएर घटनाको तीन दिनपछि उनलाई हेर्न अस्पताल पुगेका रमेश कुमार चौधरी नै मलेसियामा बैजनाथलाई बचाउने एक अभियन्ता बने । “म अस्पतालमा जाँदा उसलाई स्ट्रोक (मष्तिष्कघात) भएको र निमोनिया समेत रहेको भन्दै डाक्टरहरुले निक्कै चिन्ताजनक अवस्था रहेको बताएका थिए” चौधरीले देशपरदेशसँग भने, “लामो उपचार पछि बल्ल तीन महिनापछि मात्र उनी बोल्न थालेका हुन् ।” अहिले पनि उनको दाहिने भाग भनें चल्दैन । दाहिने पट्टीको दाँतमा समस्या छ, दाहिने आँखाले मधुरो देख्छ र शरिर ह्वील चेयरको भर परेको छ ।

उनको उपचारमा ठूलै खर्च भयो । अस्पतालले सुरुमा २० हजार रिंगिट हाराहारीको बील देखायो । झण्डै साढे चार महिनाको अस्पताल बसाईका क्रममा खाना, औषधि लगायतमा पनि ठूलै खर्च भईसकेको थियो । नेपालबाट परिवारले पठाएको झण्डै १५ हजार रिंगिट तथा उनै रमेश कुमार चौधरीकै प्रयासमा चन्दा तथा केहि ऋण उठाएर १८ हजार तयार पारेपछि अस्पतालले विदेशी नागरिक भएका कारण झण्डै दोव्वर अर्थात ३५ हजार रिंगिट (करिव ९ लाख) तिर्नुपर्ने अड्डी कस्यो अस्पतालले ।

एउटा बेवारिसे अवस्थामा पुगिसकेको आप्रवासी कामदारका लागि त्यति धेरै रकम तिर्नसक्ने अवस्था थिएन । यो अवस्थामा मद्दत गर्न अगाडी सरे मलेसियाको नर्थ साउथ ईनिसिएटीभका कार्यकारी निर्देशक एड्रिन परेरा । उनले अस्पताल प्रशासनसँग कुराकानी गरेर बाँकी रकम पछि तिरेपनि हुने गरी चौधरीलाई नेपाल फर्काउने चाँजोपाँजो मिलाए । अस्पताललाई तिर्न बाँकी रकमका लागि सहयोग गर्न चाहनेहरुले मलेसियामा रमेश कुमार चौधरीलाई सम्पर्क गर्न सक्दछन् ।

अवैधानिक रुपमा बसेका कारण उनलाई नेपाल फर्काउन पनि सहज थिएन । परेराले नै चौधरीलाई अध्यागमनबाट आवश्यक कागजात बनाउने तथा विमानस्थलसम्म ल्याएर नेपाल फर्काउन मद्दत गरे ।

कमाउन सग्लो ज्यान मलेसिया उत्रिएका बैजनाथ स्ट्रोकका कारण शरिरको एक भाग नचल्ने भएर फर्किएका छन् । तर परिवारका लागि आफन्त जीवितै फर्किनु नै ठूलो कुरा हो । मलेसियामा नै मर्छु होला भनिरहने दाजुलाई त्रिभुवन विमानस्थलबाट एम्बुलेन्समा हालेर घर फर्काएका राम प्रसाद चौधरी दाजुले सवैलाई चिनेकोमा खुशी छन् । उनले पहिले दाजु काम गर्ने कम्पनीका साथिहरुसँग पनि फोनमा कुरा गराइदिए जसमा उनले सवैलाई चिनेर कुराकानी गरेको देख्दा उनलाई सन्तोष भएको छ । तीन छोरा र श्रीमति सहितको परिवारभएका बैजनाथ परिवारमा माइलो भाई हुन् ।

बैजनाथका जेठा छोरा गाउँघरतिरै ज्यामीको काम गर्दछन् । बाँकी दुई छोरा पढ्दैछन् । कमाउने उमेरमै बैजनाथ थला परेपछि समस्या त भएको छ । र, त्यो भन्दा ठूलो समस्या चौधरी परिवारलाई अर्को एकभाई ह्वील चेयरमा फर्किनु हो । बैजनाथको कान्छो भाई झण्डै ८–१० बर्षदेखि ह्वील चेयरमा नै छन् जो ट्याक्टर चलाउँदै गर्दा भएको दुर्घटनामा परेर ह्वील चेयरबाट उठ्न नसक्ने भएका हुन् ।

यो पनि पढ्नुहोस्: मलेसियाबाट नेपाल फर्किदै हुनुहुन्छ ? थाहा पाउनै पर्ने कुराहरु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय