कोरोनालाई जित्दै जव  काममा फर्किईन् उनी

लक्ष्मण सापकोटा/युएई

रिता काममा नगएको एक महिना भइसकेको थियो । यति लामो समयको अन्तरालपछि फेरी काममा फर्किदै गरेकी रिताको मनमा एक किसिमको खुशीको साथै डर पनि थियो । परदेशमा कामकै लागि आएकोले काममा जानुको विकल्प उनीसँग थिएन । काममा जाने तयारी सकेर उनी गाडीको प्रतिक्षामा वाहिर बसिन् । उनी बस्ने आवासबाट कम्पनी पुग्न गाडीमा करिव १५ मिनेट लाग्छ । केहि समयको प्रतिक्षा पछि गाडी आइपुग्यो । जव गाडीमा प्रवेश गरिन, पहिलेको भन्दा फरक माहौल थियो । गाडीमा नेपालीसंगै अन्य मुलुकका सहकर्मी पनि थिए । मुखमा मास्क लगाएको भएपनि उनलाई सवैले ठम्याए र ‘वेलकम ब्याक रिता’ भन्दै वधाई दिए । रिताले पनि सवैलाई ‘थ्याङ्क्यु’ भन्दै सिटमा वसिन ।

कम्पनीमा पुगेपछि सवैजना गाडीबाट ओर्लिएर आफ्नो कार्य क्षेत्रतिर लागे । उनी पनि काम शुरु गर्ने तरखरमा लागिन् । तर अन्य दिनको भन्दा त्यो दिनको माहौल अर्कै थियो । सवैको ध्यान उनी तिर नै थियो । उनलाई हेर्दै कतिले स्वागत गरे कतिपय साथी अचम्मीत भएको महशुस रिताले गरिन । उनले भने सामान्य जस्तै गरि नियमित काम शुरु गर्ने प्रयास गर्दै काममा ध्यान केन्द्रीत गरिन् ।

कोरोना संक्रमण भएर एक महिनासम्म आइसोलेसनमा बसेकी रिता कटुवाल नेपालको ओखलढुङ्गाकी वासिन्दा हुन । रिता श्रम गर्नको लागि युएई आएको पनि एक वर्ष भयो । युएईको राजधानी आवुधाविमा उनी क्यासीएरको पदमा काम गर्छिन । काम सवै ठिकठाक चल्दै थियो । यहि विचमा विश्वभर कोरोनाको महामारी फैलियो । विश्वभर फैलिएको यो महामारीबाट युएई पनि प्रभावित भयो । सवैजनाले यसवाट बच्न हरेक सावधानीको उपाय अपनाएर काम गर्न शुरु गरे । रिताको नगद विभागमा काम भएकोले उनी ग्राकहसंग आमनेसामने हुनै पर्ने थियो । त्यसैले उनी आफुले सकेसम्मको सावधानी अपनाउने प्रयास गर्थिन ।

यो महामारीको विचमा काम चलिरहेकैै थियो । एक दिन अचानक उनले आफु अस्वस्थ भएको महशुश गरिन । कोठामा सुतिराखेकी उनलाई उच्च ज्वरो आएको र टाउको दुखेपछि रुन थालिन् । सँगै कोठामा बस्ने साथिहरुले थाहा पाएर उनीहरुले नै नजिकैको अस्पताल पुर्याए । अस्पतालमा उनको मेडिकल कार्ड नचलेकोले त्यो दिन आफुसंग भएको ज्वरोको औषधी पारासिटामोल खाएर भोलीपल्ट अर्को अस्पताल जाने निर्णय गरिन । आफुलाई देखिएको समस्या उनले कम्पनीमा जानकारी गराईसकेकी थिईन र कम्पनीले पनि उनलाई सहयोगी भुमिका खेलेको र आफ्नो स्वास्थ्य जाच गराउन भनेको उनले बताईन ।

भोलीपल्ट अस्पताल गएर स्वास्थ जाँच गराउँदा अन्य रिपोर्ट सामान्य आएकोले अस्पतालले उनलाई कोरोना परिक्षण गराउन सुझायो । कोरोना परिक्षण त्यहाँ नहुने भएकोले परिक्षण हुने अस्पतालमा गएर उनले कोरोना परिक्षण गराईन् । कोरोना परिक्षण गराएकोले अस्पतालले उनलाई नतिजा नआउन्जेल क्यारेन्टाइनमा वस्न भन्यो । युएईमा सामान्यतया कोरोना जाँच गरेको दुई तीन दिनमा नजिता आउने गर्छ । तर उनले परिक्षण गराएको एक हप्ता हुन लाग्दा पनि नतिजा नआएपछि उनले साथीलाई हस्पिटल वुझ्न पठाईन । अस्पताल पुगेकी रिताको साथीलाई अस्पतालले नजिता पोजेटिभ आएको भन्दै आइसोलेसनमा बस्न र स्वाथ्यमा धेरै समस्या भए अस्पताल आउन भन्यो ।

साथीले रितालाई नतिजा सुनाउने आँट गर्न सकिनन र सुनाउँदा आत्तिने डरले कम्पनीमा फोन गरेर रिताको नजिता पोजेटिभ आएको कम्पनीमा जानकारी दिइन । रितालाई भनें नजिता के आयो भनेर छटपटि भइराखेको थियो । साथीले फोन नगरेपछि उनले कम्पनीमै फोन गरेर कुराकानी गरिन र नतिजा पोजेटिभ आएको कम्पनी मार्फत थाहा पाईन । सुरुमा त उनलाई विश्वास गर्न निकै गाह्रो भयो । केही समय त उनी निक्कै आत्तिईन् । फेरि एक मनले सम्झीइन पोजेटिभ आएपनि म आत्मवल बलियो बनाउँछु । कोरोना लागेको लाखौ मानिसहरु सञ्चो भएको समाचार उनले सम्झिईन् । कोरोनासँग लड्नुको विकल्प पनि थिएन उनीसँग ।

उनकी बहिनी पनि आवुधाविमै कार्यरत रहेकोले बहिनी मार्फत घरमा पनि आफु कोरोना संक्रमित भएको जानकारी गराउन लगाईन उनले । घरमा थाहा भएपछि रितालाई आमा वुवाले दैनिक फोन गरेर एक्लो महसुस हुन दिएनन् । केही हँुदैन तिमीलाई छिट्टै सञ्चो हुन्छ भन्दै आश्वासन दिन थालेपछि रिताको मनोवल दिन प्रतिदिन बढ्दै गयो । आफुसंग संगै काम गर्ने साथीहरुले पनि दैनिक फोन गरेर उर्जा दिने काम गरेकोले उनले आफुलाई एक्लो महशुश गर्नुपरेन । दैनिक तातो पानी पिउने, तातोपानीको वाफ लिने, अुदुवा लसुन वेसार हालेको तातो पानी पिउने र पोषिलो खाना खाने गरेकी रिताले जीवनलाई सामान्य बनाउदै लगिन ।

बन्द कोठाको बसाईको क्रममा कहिले सकारात्मक त कहिले नकारात्मक कुरा रिताको मनमा आइरहन्थ्यो । नकारात्मक कुरा दिमागमा आएको वेला कोरोनाकै कारण मरिन्छ की भन्ने रितालाई नलागेको होइन । यस्तो अवस्थामा परिवारको अभाव महशुश गरेकी रिताको बन्द कोठाको वसाई चलिरहेकै थियो । सवै साथीहरुको फोन कल आइरहेकोले रिताको दिमागमा साथीहरुले सकारात्मक उर्जा दिएकोले उनलाई दिन प्रतिदिन एक्लो कोठाको बसाई सहज हुँदै गयो । रिताको पहिलो परिक्षणको नतिजा आएको पनि १४ दिन जति भइसकेको थियो र अर्को परिक्षणको लागि अस्पतालबाट कुनै जानकारी नआएपछि रिताले कम्पनीमा आफै फोन गरीन र जिज्ञासा राखीन । कम्पनीले पनि केही दिनमा अस्पतालले परिक्षणको लागि बोलाउने भन्दै आफ्नो स्वास्थ्यको ख्याल गर्न भन्यो ।

कम्पनीले भनेको जस्तै केही दिनमा नै रिताको दोस्रो परिक्षण गर्न अस्पतालले वोलायो र उनले दोस्रो परिक्षण पनि गराईन । दोस्रो परिक्षण गरेको तीन दिनपछि फेरी अस्पतालले तेस्रो परिक्षण गर्न वोलायो र उनले तेस्रो परिक्षण पनि गराईन । दोस्रो नतिजा थाहा नपाएकी उनले तेस्रो परिक्षणको नतिजा भने परिक्षण गरेको दुई दिनमा नै मोवाइल एसएमएस मार्फत थाहा पाईन । म्यासेजमा नेगेटीभ नतिजा देखेकी उनले आफुले संसार जितेको महशुश गरिन । त्यो एक म्यासेजले रिताको खुसीको सिमा रहेन ।

रिताले यो खवर घरमा र आफुसंग नजिक रहेका सवै साथीलाई वाँडिन र सवैजनाले रितालाई वधाई दिए । कम्पनीमा पनि जानकारी गराएपछि पुरानै साथीहरुको कोठामा फर्किन कम्पनीले अनुमति दियो । एक महिनासम्म संगै बसेको साथीहरुलाई प्रत्यक्ष देख्न नपाएकी उनी साथीहरुलाई भेट्न आतुर थिइन । कम्पनीको अनुमति पाएपछि भोलीपल्टै विहान आफ्नो कोठामा पुगिन् । कोठामा प्रवेश गर्ने वित्तीकै साथीहरुले कोरानालाई जितेर आएकोमा वधाई भन्दै पुन कोठामा स्वागत गरे ।

त्यही दिन दिउसो २ वजेबाट काममा जानुपर्ने भएकोले उनले काममा जाने तयारी शुरु गरिन । अंग्रेजी महिनाको अप्रिल २० मा काम गरेर त्यसपछि रोकिएको काम मे २१ अर्थात कोठामै फर्किएको दिन दिउँसो २ वजेबाट पुनः पुरानै काममा फर्किएकी रिताले यो एक महिनालाई जीवनकै महत्वपुर्ण महिना र यो घटनालाई जीवनकै अविस्मरणीय घटनाको रुपमा जीवनभर लिइरहने बताइन ।

रिता विश्वभर रहेका नेपालीहरुलाई कोरोना लाग्दैमा नडराउन आग्रह गर्दै आत्मवल वढाउन र आफुले खानेकुरामा ध्यान राख्न सुझाव दिन्छिन् । विशेष गरि तातोपानीको वाफ लिने, अदुवा लसुन वेसार हालेको तातो पानी पिउने र पोषिलो खाना खाने, भिटामिन सी प्राप्त हुने खानेकुरामा धेरै जोड दिनुपर्ने उनको अनुभव छ । कोरोना लाग्दैमा मरिदैन भन्दै कोरोना संक्रमित सवै नेपालीलाई आत्मवल बलियो बनाउन उनले आग्रह गरिन ।

(सम्वन्धित व्यक्तिको अनुमतिमा नाम, ठेगाना प्रकाशित गरिएको हो । तस्वीर भनें उहाँको अनुरोधमा प्रकाशित गरिएको छैन)

यो पनि पढ्नुहोस् मैले यसरी जितें कोरोनालाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय