विदेशबाट फर्किनेहरुका लागि रोजगारीको योजना बनाउँदै नगरपालिका

विश्वव्यापी रुपमा फैलिएको कोरोना भार्ईरस (कोभिड १९) का कारण रोजगारी गुमाएर फर्किन सक्नेहरुलाई उद्यम र रोजगारीसँग जोड्न पाल्पाको तानसेन नगरपालिकाले तयारी सुरु गरेको छ । नगरपालिकाले यसका लागि युवा लक्षित कार्यक्रम निर्माण गर्दै विदेशबाट सम्भावित रुपमा फर्किने आफ्नो क्षेत्रका युवालाई आर्थिक कृयाकलापमा जोड्ने तयारी गरेको हो ।

तानसेन नगरपालिका तथा देशपरदेश डटकमद्दारा आयोजित भर्चुअल छलफलमा बोल्दै तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले कोभिड १९ का कारण रोजगारी गुमाएर स्वदेश फर्किन सक्ने आफ्नो क्षेत्रका युवाहरुलाई लक्षित गर्दै तयारी तिव्र बनाइएको बताए । “फर्किनेहरुलाई के–के कुरामा हामी सहयोग गर्न सक्छौं भनेर तयारी गर्दैछौं” नगरप्रमुख शाहीले भने– यसका लागि कृषि, पर्यटन लगायतका क्षेत्रको पहिचान गरिएको छ ।

नगरप्रमुख शाहीले कृषि क्षेत्रलाई आफ्नो नगरपालिकामा सवैभन्दा सम्भावना भएको क्षेत्रका रुपमा हेरिएको भन्दै नर्वाहमुखि कृषिलाई पहिलो चरणमा आत्मनिर्भर बनाउने र त्यसपछि निर्यातमुखि बनाउन सकिने धारणा राखे । उनले तानसेन नगरपालिका क्षेत्रमा पुष्प व्यवसायको सम्भावना धेरै रहेको भन्दै चिसोमा हुने माछा तथा बाख्रापालन, अमिलो जातका फलफूल खेतीको सम्भावना पनि उत्तिकै रहेको बताए । उनले नगरपालिकाले गतबर्ष सुरु गरेको ओखर खेती सफल हुने देखिएको भन्दै वैदेशिक रोजगारबाट फर्किने जनशक्तिको परिचालन तथा सदुपयोगको नीति नगरपालिकाको रहेको बताए ।

पर्यटनलाई नगरपालिकाले अर्को सम्भावना भएको क्षेत्रका रुपमा लिएको भन्दै तानसेनको वस्तुस्थीतिले ठूला उद्योग, कलकारखाना खोल्न नसकिने भएका कारण युवालाई पर्यटन क्षेत्रमा संलग्न गराउने तयारी रहेको उनले जानकारी दिए । “हामीले लगानीका लागि कोष बनाएका छौं” नगरप्रमुख शाहीले भने “धितो नहुनेलाई नगरपालिका जमानी बसेरसमेत ऋण उपलव्ध गराइदिने गरेको छ ।” उनले नगरक्षेत्रमा विदेशबाट फर्केका चारजनाले गरेको गाईपालन, बंगुरपालन लगायतमा राम्रो उपलव्धी देखिएको भन्दै विदेशबाट फर्केकाहरुको कम प्रतिको लगावप्रति विश्वस्त रहेको बताए ।

उद्यमशीलताको लागि हालसम्म नगरपालिकाले ३० वटा समूहमा तालिम सञ्चालन गरिसकेको भन्दै नगरप्रमुख शाहीले उत्पादनलाई बजारसँग जोड्ने काममा नगरपालिकाले सहयोग गर्ने बताए । कुनै किसानले अन्नबाली विक्रि गर्न नसकेमा नगरपालिकाले खरिद गर्ने निर्णय यसअगाडी नै गरिसकेको उनले जानकारी दिए । सीप र जाँगर भएका व्यक्तिलाई नगरपालिकाले आन्तरिक रोजगारीसँग जोड्न खोजेको उनको भनाई थियो ।

छलफलमा सहभागि काठमाडौं स्थित सामाजिक संस्था सिएमआईआरका निर्देशक युवराज नेपालले स्थानीय सरकारले यसखालको तयारी गर्नु प्रशंशनीय कार्य भएको बताए । उनले कोभिड १९ का कारण अव विदेश जानेहरुको संख्यामा गिरावट आउने र फर्किनेहरु पनि ठूलै संख्यामा हुने भन्दै यसलाई अवशरको रुपमा लिइनु पर्ने धारणा राखे । स्थानीय सरकारले मानविय जनशक्तिको परिचालनका लागि राम्रोसँग योजना बनाउनु पर्ने उनको भनाई थियो ।

वैदेशिक रोजगारबाट फर्किनेहरुको सीपको पहिचान हुनुपर्ने भन्दै नेपालले उनीहरुको सीप अनुसारको काममा परिचालन गर्नु आवश्यक रहेको बताए । यसैगरी उद्यमशीलताको विकास गर्नु आवश्यक रहेको र बजारको अध्ययन तथा माग अनुरुपको बस्तु उत्पादनमा जनशक्ति परिचालनकोे खाँचो उनले औंल्याए । कृषिमा व्यवसायीकरणको खाँचो रहेको भन्दै नेपालले स्वदेश तथा विदेशको बजारमा समेत कृषि उपज विक्रि गर्न सकिने भएकाले नगरपालिकाले पनि त्यसको खोजि गर्नुपर्ने धारणा राखे ।

पाल्पामा पर्यटन अर्को सम्भावना भएको क्षेत्र रहेको भन्दै नेपालले केहि समयका लागि कोभिड १९ का कारण पर्यटनको सम्भावना कम भएपनि भैरहवामा बन्दै गरेको अन्तराष्ट्रिय विमानस्थलका कारण तथा भारतीय पर्यटक लक्षित गर्दै पर्यटनको सम्भाव्यता विस्तार गर्नु आवश्यक रहेको बताए ।

छलफलमा सहभागि हुँदै पाल्पाली समाज, युएईका सल्लाहकार बरुण खनालले कोभिड १९ का कारण रोजगारी गुमाएर फर्किने अदक्ष कामदारको रुपमा कार्यरतहरुलाई नेपालमा पनि रोजगारीसँग नै जोड्नु आवश्यक रहेको विचार प्रकट गरे । अर्धदक्ष तथा दक्षलाई भनें उद्योगधन्दाहरु सञ्चालनको वातावरण तयार पार्ने तथा सहुलियत व्याजदरको ऋण उपलव्ध गराउन नगरपालिकाले सहयोग गर्नुपर्ने उनको भनाई थियो । अर्धदक्ष तथा दक्ष व्यक्तिहरु विदेशबाट कुनै न कुनै सीप लिएर नै आउने भएका कारण उनीहरुको सीपको पहिचान गर्न र सोही अनुरुपको योजना बनाउन आवश्यक रहेको खनालको भनाई थियो । उच्च दक्षहरु भनें आफैं सक्षम हुने भएका कारण उनीहरुका लागि भनें नगरपालिकाले त्यतिधेरै प्रयत्न गरिरहनु नपर्ने उनले बताए ।

विदेशबाट फर्किनेहरुका लागि कृषिमा स–सानो क्षेत्रफलमा एक्लाएक्लै खेती गर्ने वा दुईचारवटा बाख्रा पाल्ने खालको काममा नभई व्यवसायीक रुपमा कृषिमा संलग्न हुने वातावरण नगरपालिकाले तयार पर्नुपर्ने खनालको भनाई थियो । यसैगरी उव्जनी भएका सामग्रीहरु विक्रि हुने व्यवस्था नगरपालिकाले गरोस् भन्दै खनालले उद्योग खोल्न चाहनेलाई केहि छुटको व्यवस्था नगरपालिकाले गर्नु आवश्यक रहेको धारणा राखे ।

पाल्पाली समाज, कतारका वरिष्ठ सल्लाहकार ईश्वर काफ्लेले विदेशबाट फर्किनेहरुको योग्यता पहिचान गर्नु र उनीहरुको दक्षता अनुसारको स्वरोजगारको तयारी गर्नु आवश्यक रहेको धारणा राखे । उनले कतारमा कार्यरत पाल्पालीहरु धेरैजसो अदक्ष श्रमिकको रुपमा कार्यरत रहेको भन्दै कतारमा ठूलो संख्यामा श्रमिक कटौतीको हल्ला चलेको जानकारी दिए । उनले विदेशमा सिकेको कामको आधारमा स्वदेश फर्किनेहरुलाई वर्गिकरण गरेर कुन क्षेत्रको रोजगारीमा संलग्न गर्ने भन्ने तयारी गर्नु आवश्यक रहेको बताए । उनले दुग्ध व्यवसाय, होटल रिसोर्ट सञ्चालन लगायतमा पनि समुहिक रुपमा लगानी गर्न सकिने भन्दै यसका लागि आफूहरुले पनि सरसल्लाह, समन्वय तथा परामर्श गरिरहेको जानकारी दिए ।

छलफलमा सहभागि नेपाल पत्रकार महासंघ, पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराईले युवाहरुलाई लक्षित गरेर नगरपालिकाल युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिरहेको बताए । कृषि, पशुपालनसँग सम्वन्धित व्यवसायलाई तानसेन नगरपालिकाले प्रोत्साहित पनि गरिरहेको उनको भनाई थियो ।

कतारबाट नै छलफलमा सहभागि विश्वनाथ भट्टराईले कतारमा हाल क्वारेण्टाइनमा बसेकाहरुलाई कुनै असजिलो नभएको बताए । उनीहरुका लागि सरकारले नै खानेबस्ने व्यवस्था गरेको भन्दै सानो लगानीका कम्पनीहरु भनें बन्द भइसकेको जानकारी दिए । सरकारले न्यूनतम तलव दिनुपर्ने भनिएपनि त्यो निश्चित नभएको भन्दै तर कतारको अवस्था भयावह भनें नभएको बताए ।
पाल्पाको तानसेन नगरपालिकाबाट हालसम्म ५ हजार ५ सय ३८ जना वैदेशिक रोजगारमा गएको तथ्याँक छ ।

यो पनि पढ्नुहोस् महामारी र मौकाः तयारी थालिहालौं

छलफलको भिडियो हेर्नुहोस्

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय