स्वदेश फर्काउन प्राथमिकता तय गर्दै सरकार

पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले विदेशमा रहेका र नेपाल फर्किन चाहने आफ्ना नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने योजना बनाइरहेको बताएका छन् । उनले यसका लागि स्वदेश फर्काउने देखि रोजगारीसँग जोड्नेसम्मको योजना बनाइएको जानकारी दिए ।

श्रम रोजगार पत्रकार समूहले आयोजना गरेको भर्चूअल छलफलमा बोल्दै मन्त्री ज्ञवालीले विदेशमा केहि नेपालीको शवहरु रहेको, केहि मुलुकमा नेपाली महिलाहरु गर्भवती भएको र बच्चा जन्माउने दिन नजिकै आइरहेको भन्ने जानकारी प्राप्त भएको भन्दै कतिपयको घरमा बाबुआमाको मृत्यु भएको वा आफन्तजन वितेका कारण काजकिरिया गर्नुपर्ने अवस्थामा रहेका भन्दै त्यस्ता व्यक्तिलाई प्राथमिकता दिएर स्वदेश फर्काउने कार्ययोजना सरकारले बनाइरहेको बताए ।

तर नेपाललाई सुरक्षित बनाउनु नेपाल सरकारको प्राथमिकता भएको मन्त्री ज्ञवालीले बताए । उनले नेपाललाई सुरक्षित बनाएपछि विदेशमा रहेका व्यक्तिका आफन्तहरु सुरक्षित हुने भन्दै त्यसपछि विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काइने बताए । तर विदेशमा रहेका नेपालीलाई कहिले देखि नेपाल फिर्ता ल्याइन्छ भन्ने विषयमा भनें उनले अहिले नै कुनै मिति नै तोक्न भनें नसकिने बताए ।

मन्त्री ज्ञवालीले ४० लाख आफ्ना नागरिक मुलुक बाहिर रहेको अवस्थामा ति सवै नागरिक एकैपटक नेपाल फर्किन चाहे भनें नेपाल जस्तो मुलुकले त्यसको व्यवस्थापन गर्न मुस्किल पर्ने भन्दै यसतर्फ ख्याल गर्न आग्रह गरे । पाकिस्तान, बंगलादेश, श्रीलंका लगायतका मुलुकहरुले पनि आफ्ना नागरिकलाई फर्काउन नसकिरहेको भन्दै उनले व्यवस्था मिलाएर प्राथमिकताको आधारमा मात्र नेपाल फर्काइने बताए । यसमा रोजगारी गुमाएकाहरु, आफन्त गुमाएकाहरु र यस्तै यस्तै समस्यामा परेकाहरुलाई प्राथमिकता दिइने मन्त्री ज्ञवालीको भनाई थियो । “उनीहरुलाई स्वदेश फर्काउने, निश्चित समय क्वारेण्टाइनमा राख्ने र त्यसपछि परिवारमा पठाउने र रोजगारीमा जोड्ने गरी हामीले काम गरिरहेका छौं” मन्त्री ज्ञवालीले भने ।

मन्त्री ज्ञवालीले कोभिड १९ को संक्रमण भएको अवस्थामा उपचारमा नेपाली नागरिकलाई कुनै मुलुकमा पनि भेदभाव नगरिएको भन्दै बुझाईमा केहि फरक परेको बताए । उनले सवै मुलुकले कोरोना भाईरस पोजेटिभ देखिंदैमा अस्पताल लैजाँदैनन् भन्दै त्यस्तो अवस्थामा कोठामा नै बसेर आराम गर्ने, तातोपानी खाने र समस्या गम्भीर भएमा मात्र अस्पताल लैजाने भएपनि कोठामा बस्नु पर्दा उपचार भएन भनेर कतिपय नेपाली आत्तिएको बताए । उनले सवै मुलुकमा नेपाली नागरिकलाई पनि समान ढंगमा उपचार गरिएको भन्दै त्यसकै कारण युएई, ओमन, बहराइन लगायतका मुलुकहरुमा कोरोनाको संक्रमणमा परेका नेपाली उपचार पछि फर्केको बताए ।

वैदेशिक रोजगारमा रहेका नेपालीहरु समस्यामा पर्न थालेको विषयमा सरकार जानकार रहेको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले कतिपय ठाउँमा श्रमिकलाई विदा दिइएको, कम्पनी बन्द भएको, तलव कटौति गरिएको वा कामदार कटौति गरिएको रिपोर्ट आउन थालेको बताए । उनले यो महामारी पछि ठूला ठूला कम्पनीहरु टाट पल्टिने सम्भावना रहेको भन्दै आजकै मितिमा भनें ठूलो संख्यामा कामदार कटौति भइनसकेको बताए ।

छलफलमा बोल्दै मन्त्री ज्ञवालीले कामदार कटौती भएपनि अन्तराष्ट्रिय उडान नभएसम्म खानबस्ने व्यवस्था गर्न सरकारले आग्रह गरेको भन्दै धेरैजसो कम्पनीले त्यस्तो व्यवस्था गरेपनि कतिपय ठाउँमा समस्या देखिएको र समस्या देखिएका ठाउँमा नेपाली दूतावासले सम्वन्धित मुलकुका सरोकारवाला मन्त्रालयहरुसँगको समन्वयमा त्यसको व्यवस्था मिलाएको बताए । यसमा गैर आवासिय नेपाली संघको पनि राम्रो साथ रहेको उनको भनाई छ ।

दूतावासको भूमिकाका बारेमा मन्त्री ज्ञवालीले कुनै पनि मुलुकको दूतावासले घर-घरमा गएर राहत बाँड्न मिल्दैन भन्दै विदेशी नागरिकलाई संकटको समयमा खानेबस्ने प्रवन्ध सोही मुलुकले नै गर्नुपर्ने धारणा राखे । “हामीले १२ सय भारतीयलाई क्वारेण्टाइनमा राखेका छौं र उनीहरुको खानपानको व्यववस्था हामीले गरेको छौं” मन्त्री ज्ञवालीले भने “त्यो हाम्रो दायित्व हो, भारत सरकारले गर्न नसकेर होइन ।” उनले केहि ठाउँमा खाद्यान्नको समस्या सुनिएको र त्यो अवस्थामा दूतावासलाई तत्काल व्यवस्थापन गर्न खवर गर्ने गरिएको बताए ।

कागजातविहिनलाई फर्काउने तयारी

रोजगारीका लागि गन्तव्य मुलुकमा रहेका र कागजातविहिन अवस्थामा रहेका नेपालीलार्ई फर्काउने विषयमा विभिन्न मुलुकहरुले नेपालसँग समन्वय गरिरहेको मन्त्री ज्ञवालीले जानकारी दिएका छन् । कुवेतले अवैधानिक रुपमा बसेकाहरुलाई स्वदेश फर्काउन खोजेको अवस्थामा सरकारले सो प्रकृयामा सहयोग गरिरहेको भन्दै यस्तै सुचना साउदी अरेविया तथा मलेसियाले पनि जारी गरेको बताए । यसमा नेपाल सरकारले समन्वय गरिरहेको मन्त्री ज्ञवालीको भनाई छ । यसरी फर्किने नेपालीको संख्या ३०-३५ हजार भन्दा बढी हुने सरकारको आँकलन छ । “वैधानिक बनाएर, केहि दिन क्याम्पमा राखेर आफ्नै जहाजमा फिर्ता ल्याईदिन्छौं भनिरहेको अवस्थामा हामीले सहयोग गर्नुपर्दछ” मन्त्री ज्ञवालीले भने ।

नेपाली श्रम बजारसँग जोड्ने योजना
सरकारले वैदेशिक रोजगारमा गएका र रोजगारी गुमाएर फर्किनेहरुलाई नेपालको श्रम बजारसँग कसरी जोड्न सकिन्छ भनेर तयारी सुरु गरेको छ । महामारीले ल्याउने आर्थिकमन्दी पछि ठूलो संख्यामा रोजगारी गुम्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले यस्तो तयारी गरेको हो । “रोजगारी गुमाएर नेपाल आउनेहरुलाई कसरी नेपालको श्रम बजारसँग, नेपालको उत्पादन क्षेत्रसँग जोड्न सकिन्छ भनेर हामी तयारी गर्दैछौं” परराष्ट्रमन्त्री ज्ञवालीले छलफलमा यसका लागि गैर आवासिय नेपाली संघ (एनआरएनए) सँग मिलेर कसले के सीप सिकेर आउँछन् त्यसको तथ्याँक राख्न खोज्दै गरिएको जानकारी दिए । उनले सरकारको यस बर्षको नीति तथा कार्यक्रममा ति कुरालाई समेत समट्ने गरेर तयारी हुँदै गरेको जानकारी दिए ।

गर्नुपर्ने कामको चाङ
सरकारले तत्कालै गर्नुपर्ने काम थुप्रै छन् । अलपत्र अवस्थामा रहेकाहरु तथा स्वदेश फर्किन चाहनेहरुलाई स्वदेश फर्काउनु राज्यको पहिलो दायित्व भएको यस क्षेत्रमा कार्यरतहरु बताउँछन् । ईक्वेडेम रिसर्चका दक्षिण एसिया निर्देशक रामेश्वर नेपालले कोभिड-१९ पछि सरकारसँग समस्यामा परेकाहरुको उद्दार तथा व्यवस्थापनका लागि योजना बनाउने लामो समय रहेको भएपनि त्यसमा सरकारले ध्यान नदिएको बताए । उनले यसका लागि अध्ययनको आवश्यकता रहेको बताए । कतार, युएई लगायतका मुलुकमा रहेका दूतावासहरुले गुगल फर्म सुरु गर्नु सह्रानिय रहेपनि त्यो पर्याप्त नभएको उनको भनाई छ । यसका लागि वृहत अध्ययनको खाँचो रहेको नेपालले बताए । घरेलु श्रमिक र कागजातविहिन अवस्थामा रहेकाहरुको समस्याका बारेमा अझ गम्भिर हुन जरुरी रहेको उनको भनाई थियो ।

संक्रमितहरु, जागिरबाट निकालिएका, बसोवासस्थलबाट निकालिएका, खल्तीमा पैसा रिक्तिएकासँग नै छलफल गर्न आवश्यक रहेको सरोकारवालाको भनाई छ । दूतावासहरुले विगतमा अन्य समस्या नै धान्न नसकिरहेको अवस्थामा यो संकटको समयमा नेपाली दूतावासहरुले यो भार थेग्न नसक्ने उनीहरुको भनाई छ । अनुसन्धानकर्ता नेपालले गन्तव्य मुलुक तथा नेपालबीच उच्चस्तरीय संयन्त्र तथा द्रुत उद्दार संयन्त्रको आवश्यकता औंल्याए । जहाँ-जहाँ समस्या पर्दछ, त्यहाँ त्यहाँ त्यो संयन्त्रले काम गर्नुपर्ने उनको भनाई छ ।

छलफलमा नेपाल पत्रकार महासंघ, कतारका अध्यक्ष करिम बक्स मियाँ, महासंघ, कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने, महासंघ, युएईका कार्यवाहक अध्यक्ष मेघराज सापकोटाले ति मुलुकमा कार्यरत नेपालीको अवस्थाको बारेमा जानकारी गराएका थिए ।

यो पनि पढ्नुहोस् ६ महिना होटलहरु बन्द गर्ने निर्णय, कर्मचारीलाई १२।५ प्रतिशत तलव, लिन नमान्नेलाई हटाउने चेतावनी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: