‘स्कुस, फर्सी, खोर्सानी त रोपौं’

काठमाडौं मैतिदेवीका बलराम खत्रीको घरको छत धेरै ठूलो छैन । तर त्यसले के भयो र ? खत्रीको परिवार पनि त ठूलो छैन । परिवारमा चार सदस्य छन् । भनिन्छ खाने मुखलाई जुँगाले छेक्दैन । हो, अहिले उनको घरको छतमा लसुन, प्याज, धनियाँ, तोरीको साग छ । बोडी, सिमी, खोर्सानीका विरुवा उम्रिएका छन् ।

खत्रीले शौखले रुफटप खेती सुरु गरेको दुई बर्ष भयो । सिजन अनुसारका तरकारी उनी घरको छतमा नै लगाउँछन् र परिवारलाई आवश्यक पर्ने तरकारी मध्ये ५० प्रतिशत त्यसैबाट उत्पादन हुन्छ । यसले एकातिर बजारमा विषादी देखि रसायनिक मलको प्रयोग भएको तरकारी आधा कम खानुु परेको छ भनें अर्कातर्फ खाली समयको पनि सदुपयोग भएको छ ।

तरकारी मात्र होइन उनले विभिन्न फलफूल पनि त्यहि सानो छतमैै लगाएका छन् । मुन्तला, सुन्तला, अम्वा लगाएको छु खत्रीले भने अम्वा त धेरै राम्रो, फल्छएउटै आधा किलोसम्मको फल्न थालेको छ । सुन्तलता पनि एउटा बोटमा ५०/६० दानासम्म फल्छ र एउटा बोटबाट चारबर्षसम्म उत्पादन लिन सकिन्छ । मुन्तला चाहिं ६/७ बर्ष फल्ने गरेको अनुभव छ खत्रीको ।

मल पनि उनी घरमै तयार पार्दछन् । घरमा खाइने फलफूल र तरकारीको बोक्राबाट उनी झोल मल बनाउँछन् र अरु पातपतिंगरहरुबाट कम्पोष्ट मल बन्छ । यसले तरकारी, फलफूलमा हाल्ने मल उत्पादन हुन्छ ।

खत्रीले जस्तै अहिले थुप्रै शहरका बासिन्दाले तरकारी लगाउने गरेका छन् । यसले परिवारको आवश्यकताको ठूलो हिस्सा ओगटेको छ । पाल्पाकी शान्ता बस्याल हाल काठमाडौंमा बस्छिन् । उनी भन्छिन्ः आ–आफ्नो सानो प्रयासबाट थोरै भएपनि उत्पादन गर्नुपर्छ भन्ने सबैले सोच्नु पर्यो । गमलामा खुर्सानी मात्रै फलाउदा नि केही राहत हुन्छ । हामीले हाम्रा पुर्खाबाट सिकेका ज्ञान प्रयोग गर्नुपर्ने बेला आएको छ । हामीले थोरै ठाउँमा हुन सक्ने स्कुस ४ बोट, फर्सी १५/२० बोट, काँक्रो, बोडि, लौका, सिमि,मकै, आलु, कुरिलो, मेवा, पुदिना, धनियाँ, भान्टा, लसुन, प्याज, उखु, अङ्गुर, स्टेबेरी, अम्बा, नाराबेथे, भुईंस्याउ, हलेदो, पिडालु आदि लगाएर निर्वाहमुखी खेतीको निरन्तरता दिने कोसिस गरेका छौ ।

ढुँगेनी पौवा, नुवाकोट, ककनीका रमेश भण्डारीको खेती भनें अलिक ठूलै छ । उनले १६ माना फर्सिको बीउ रोपेका छन् भनें १८ सय झाङ स्कुस रोपेका छन् ।

कृषि अभियन्ता जीवनप्रसाद राई विश्वब्यापी फैलिएको कोरोना भाईरसले नेपालमा खाद्य संकट गहिरिने सम्भावना धेरै देख्छन् । त्यसैले छिटोभन्दा छिटो र सहज रुपमा उत्पादन गर्न सकिने खालका बालीहरु उत्पादन गर्नका लागि सबै स्थानीय तहहरुले तदारुकताका साथ काम अगाडि बढाउनु पर्ने उनको भनाई छ ।

कृषि अभियन्ता राई यसरी छिटो उत्पादन हुन सक्ने बालीहरु काँचो, उसिनेर, पोलेर, भुटेर, तरकारी पकाएर, सलादको रुपमा खाना सकिने विभिन्न प्रकारका हुने बताउँछन् । “खाद्य बस्तु चामल वा पिठोको अभाव भएको अवस्था र जोगाएर खानुपर्ने अवस्था आएमा यस्ता कृषि बस्तुहरु खाएर पनि दिन कटाउन सकिन्छ” उनले भने “फेरि यस्ता कृषि बस्तुहरु खानाले हाम्रो स्वास्थ्यमा समेत फाईदा गर्दछ ।”

राईका अनुसार छिट्टै र सहज रुपमा उत्पादन गर्न सकिने खाद्यान्नहरुमा मकै एउटा मुख्य बाली हो । हाल मध्य पहाड तथा बेसी क्षेत्रमा भर्खरै मकै छर्ने बेला हो । मकै अन्नबाली हो जसलाई एकसय दिनमा फलाउन सकिन्छ । यसलाई उसिनेर, पोलेर, भुटेर, पिठो बनाई ढिंडो, च्याख्ला बनाई भात खान सकिने भएका कारण यसको खेतीमा जोड गर्नुपर्ने उनको भनाई छ ।

यसैगरी स्कुस मध्य पहाडी क्षेत्रमा राम्रोसँग खेती गर्न सकिन्छ । खाद्यान्नको संकट आउनसक्ने सम्भावना भएका कारण स्कुसका बचेखुचेको बीउहरुलाई पनि सबैले रोप्न जरुरी रहेको राईले बताए । उनका अनुसार यसपटक स्कुसले राम्रो बजार पाउनेछ । यसलाई पशुहरुलाई खुवाउने काम नगरिदिन आग्रह गर्दै उनले स्कुसलाई उसिनेर भातकै सट्टामा खाना वा तरकारीमा प्रयोग गरेमा खाद्य संकटको समयमा धेरै सहजता ल्याउने बताए ।

यसैगरी फर्सी पनि निकै छिटो उत्पादन गर्न सकिने र उसिनेर, तरकारी बनाएर, हलुवा बनाएर खाना सकिने भएका कारण यसले चामलको उपभोगलाई कम गर्न मद्दत गर्दछ । यसैगरी उसिनेर, तरकारी बनाएर वा अन्य विभिन्न परिकार बनाएर खान सकिने आलुको उत्पादन बढाउन लाग्नु आवश्यक रहेको जानकारहरु बताउँछन् । काँक्रो, गाजर, मुला, काउली, बन्दा जस्ता तरकारी छिटो समयमा उत्पादन गर्न सकिने र यसबाट सलाद तथा तरकारी खाना सकिने भएका कारण यसको उत्पादनमा पनि जुट्नु आवश्यक रहेको छ ।

कोदो, च्याउ, जरिङ्गो, काभ्रा, निगुरो, चिण्डे, सिप्लिगान, कटहर, बडहर, अम्बा, सरिफा, आरुवखडा, आरु, चिउरी, जामुन, लट्टे, बेथे, सजिवन, सिमसाग जस्ता बस्तुहरुको संरक्षण गर्न किसानलाई प्रोत्साहनको जरुरी छ । सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा किसानलाई उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको भन्दै कृषि अभियन्ता राई अहिले अनुदान भन्दा पनि बीउ, प्रविधि र आत्मबल, आत्मबिश्वास जगाउने बेला भएको बताउँछन् । अहिले राष्ट्रिय संकट आएको तर नाकाबन्दी, आम हड्ताल, आन्दोलन केहि नभएका कारण खाद्यान्न संकटबाट बच्नका लागि आफुले सकेको काम गर्नुपर्ने बताउँछन् ।

यो पनि पढ्नुहोस् महामारी र मौकाः तयारी थालिहालौं

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय