‘वैदेशिक रोजगारका ७५ प्रतिशत उजुरी मेलमिलापबाटै टुँगिन सक्छन्’

वैदेशिक रोजगारका उजुरीमा दुवै पक्षको सहमतिमा मेलमिलाप गराउने उद्देश्यले वैदेशिक रोजगार विभागमा सुचिकृत भएका ५२ जना मेलमिलापकर्ताले सोमवार शपथ लिएका छन् । उनीहरुलाई विभागका महानिर्देशक डा. भिष्म कुमार भुषालले शपथ गराए ।

सो अवसरमा प्रमुख अतिथिका रुपमा बोल्दै मेलमिलाप परिषदका अध्यक्ष समेत रहेका सर्वोच्च अदालतका न्यायाधिश ईश्वर प्रसाद खतिवडाले वैदेशिक रोजगारका उजुरी मध्ये ७५ प्रतिशत मेलमिलापबाट नै टुँगिन सक्ने बताए । उनले बाँकी २५ प्रतिशत उजुरी मात्र फैजदारी अभियोग अन्तर्गत कानूनी प्रकृयामा लैजानुपर्ने अवस्था रहेको भन्दै प्रतिशतमा केहि तलमाथि पर्न सक्ने भन्दै मेलमिलापकर्ताहरुको भूमिका महत्वपुर्ण हुने बताए ।

वैदेशिक रोजगारका व्यवसायीले मात्र ठग्ने नभई कतिपय अवस्थामा रोजगारीका लागि जाने व्यक्तिले समेत समस्या सिर्जना गरिरहेको भन्दै मेलमिलापकर्ताले यसमा ध्यान पुर्याउनु पर्ने न्यायाधिश खतिवडाको भनाई थियो । उनले जसरी पनि कामदार विदेश पठाउने देखि जुनसुकै मूल्यमा विदेश टेक्न पाए पुग्छ भने मानशिकता बोकेका कामदार दुवै समस्या भएको उनको ठम्याई थियो ।

न्यायाधिश खतिवडाले मेलमिलापले दिने न्याय पीडित र पीडक दुवैलाई न्याय हुने खालको हुनुपर्ने भन्दै वैदेशिक रोजगारको उजुरीको विषय अलिक फरक हुने बताए । उनले यो केवल प्राविधिक विषय मात्र नभएको भन्दै यसमा पीडितले पाएको दुःखको पनि ख्याल गर्नुपर्ने र त्यसको पनि हिसावकिताव पनि गर्न जरुरी रहेको धारणा राखे । उनले एकातर्फ आर्थिक रुपमा सम्पन्न र पहुँचयुक्त व्यक्ति हुने र अर्कोतर्फ कमजोर आर्थिक, सामाजिक हैसियतको व्यक्ति हुने तर्फ पनि ध्यान दिन आग्रह गर्दै कानूनले तोकेको पारिश्रमिकमा चित्त बुझाउनु मेलमिलापकर्ताका लागि उत्तिकै महत्वपूर्ण विषय रहेको सजग गराए ।

सो अवसरमा नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेले मुद्धा गरेर मात्र समस्याको समाधान नहुने भन्दै समाजमा झगडा गरेर बस्नुको साटो मेलमिलाप होस् र समस्या समाधान होस् भनेर नै सरकारले देवानी संहिता ल्याएको हुनुपर्ने धारणा राखे । उनले अदालती प्रकृया लामो हुने भएका कारण दुई पक्ष आफैं कुनै विषयमा मिलापत्र गरेर समस्या समाधान गर्न राजी भएमा सरकारलाई त्यसमा कुनै आपत्ति किन हुन्छ र भन्दै मेलमिलापको प्रकृयाका बारेमा जानकारी गराएका थिए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म कुमार भुषालले हाल विभागले दैनिक कम्तीमा ४ वटा संस्थागत(मेनपावर कम्पनी विरुद्धका) मुद्धा फस्र्यौट गरिरहेको भन्दै मेलमिलापकर्ता यसमा संलग्न भएपछि यसमा ढिलाई हुन नहुने धारणा राखे । उनले विभागमा थोरै जनशक्तिका वीच काम भइरहेको भन्दै अव मेलमिलापकर्ताहरु जोडिएपछि उजुरीको फरफारकमा तिव्रता आउने अपेक्षा प्रकट गरे ।
विभागले गत पुष १५ गते सुचना प्रकाशित गर्दै वैदेशिक रोजगारका उजुरीमा मेलमिलापकर्ताको रुपमा काम गर्न चाहने तालिम प्राप्त व्यक्तिहरुलाई सुचिकृत हुन सुचना निकालेको थियो । प्राप्त निवेदन मध्ये ५२ जना व्यक्ति मेलमिलापकर्ताको रुपमा काम गर्न विभागमा गत पुष २९ गते सुचिकृत भएका थिए ।

यो पनि पढ्नुहोस् विदेश जानेको बीमा अनलाइन मार्फत गर्ने सम्झौता, एकसाता भित्रै कार्यान्वयन हुने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय