वैदेशिक रोजगारका कस्तो कसुर प्रहरीले हेर्ने, कस्तो वैदेशिक रोजगार विभागले ?

वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीबीच वैदेशिक रोजगारका वा वैदेशिक रोजगारको नाममा अनधिकृत व्यक्तिले गर्ने ठगि नियन्त्रणका लागि एकापसलाई सघाउने गरी सहमति भएसँगै कसको क्षेत्राधिकार के हुने भन्ने विषयमा पनि दुई निकायले प्रस्ष्ट पारेका छन् । दुई सरकारी निकायबीच सोमवार भएको बैठकले यसका बारेमा स्पष्ट गरेको हो ।

विभागका महानिर्देशक डा. भिष्म कुमार भुषालका अनुसार दुई निकायबीचको छलफलमा वैदेशिक रोजगारीको नाममा अनधिकृत व्यक्तिबाट ठगिदैछु भन्ने लागेको अवस्थामा वा ठगिइसकेको लागेमा स्थानीय प्रहरीको मुद्दा हेर्ने इकाईमा उजुरी दिन सक्ने व्यवस्था भएको छ ।

यसरी इकाईले प्राप्त गरेको उजुरीको साथमा उजुरीकर्ताले पेश गरेका वैदेशिक रोजगार खुल्ने कागज¸प्रमाण¸लिखत¸बैंक भौचर¸मनि ट्रान्सफरको भौचर वा अन्य परिस्थितजन्य प्रमाण (साक्षीसँग सोधपुछ गर्ने लगायत) को आधारमा आरोपितले वैदेशिक रोजगार कसुर गरेको खुल्ने देखिएको अवस्थामा वैदेशिक रोजगार ऐन¸२०६४ अनुसार प्रमुख जिल्ला अधिकारीमार्फत कारवाई चलाउनको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा प्रहरीले लेखी पठाउने व्यवस्था भएको छ ।

आरोपित व्यक्ति इजाजतपत्रवाला संस्था(मेनपावर कम्पनी) को सञ्चालक वा कर्मचारी भएमा त्यस्तो उजुरी सोझै वैदेशिक रोजगार विभाग¸काठमाडौंमा प्रहरीले पठाउने सहमति भएको छ । स्पष्ट रुपले वैदेशिक रोजगार खुल्ने नदेखिएमा प्रहरीले प्रचलित कानून बमोजिमको आफ्नो क्षेत्राधिकार प्रयोग गरी आवश्यक कारवाही प्रकृया अगाडि बढाउन सक्ने दुई निकायबीच सहमति भएको छ।

नेपाल प्रहरीबाट अनुसन्धान भई मुद्दा चलेको अवस्थामा सोही व्यक्तिउपर वैदेशिक रोजगार कसूरको मुद्दा समेत चल्न सक्ने देखिएमा सो तर्फ कानूनी कारवाही अगाडि बढाउने प्रयोजनको लागि अनुसन्धान गर्ने सम्बन्धित प्रहरी ईकाईले वैदेशिक रोजगार विभागमा लेखी पठाउने सहमति दुई निकायबीच भएको छ । त्यसैगरी वैदेशिक रोजगार विभागमा दर्ता हुन आएका वैदेशिक रोजगार कसूरको उजुरीको अनुसन्धानको शिलशिलामा मुलुकी फौजदारी कार्यविधि संहीता¸२०७४ को अनसूची १ भित्रको कसूर अन्तर्गतको अन्य कसूरमा समेत आरोपितको संलग्नता खुल्न आएमा सोही व्यहोरा उल्लेख गरी नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग समक्ष विभागले लेखी पठाउने सहमति भएको छ।

वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत प्राप्त नगरी वैदेशिक रोजगारीमा पठाउँछु भनी कुनै पनि व्यक्ति वा संस्था ९ट्राभल एजेन्सी¸कन्सल्टेन्सी, सहकारी लगायत० ले रकम संकलन गर्ने¸ राहदानी संकलन गर्ने¸ प्रलोभन दिने जस्ता कृयाकलाप गरेको सूचना प्रहरीको ईकाईमा प्राप्त भएमा त्यस्ता व्यक्ति वा ट्राभल एजेन्सी¸कन्सल्टेन्सी लगायतका संस्थाका संचालकलाई वैदेशिक रोजगार ऐनको दफा ६२ (१) बमोजिम प्रहरी कर्मचारीलाई प्राप्त अधिकार प्रयोग गरी पक्राउ गर्नेछ। त्यसरी पक्राउ परेको व्यक्तिलाई मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्ने प्रयोजनको लागि विभाग समक्ष पठाउनु पर्नेछ।

वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत पत्र लिएका बाहेक अन्य व्यक्ति वा संस्थाले गैरकानूनी रुपमा वैदेशिक रोजगार व्यवसाय संचालन गरेको वा सो सम्बन्धी कृयाकलापमा संलग्न भएको भन्ने सूचना विभागमा प्राप्त भएमा उक्त सूचनाको गाम्भिर्यता¸ कसूर भएको वा हुन लागेको स्थान समेतलाई दृष्टिगत गरी विभागले आवश्यकतानुसार नेपाल प्रहरीको अपराध अनुसन्धान विभागसँग परामर्श गरी त्यस्तो गैरकानूनी कृयाकलाप भएको वा हुन गईरहेको स्थानमा छापा मार्न भनी स्थानीय प्रहरीको मुद्दा चल्ने ईकाईलाई उपयुक्त माध्यमबाट अनुरोध गर्नेछ। त्यसरी छापा मार्ने क्रममा विभागमा प्राप्त सूचना बमोजिमको गैरकानूनी कार्य भएको देखिएमा बरामदी मुचुल्का खडा गरी कसूरदार पक्राउ परेको अवस्थामा बरामदी मुचुल्का र कसूरदार समेत तथा कसूरदार पक्राउ नपरेको अवस्थामा सोही व्यहोरा उल्लेख गरी बरामदी मुचुल्का र सो बमोजिमका सामाग्रीहरु समेत थप कानूनी कारवाहीको लागि वैदेशिक रोजगार विभागमा पठाउनु पर्नेछ।

आवश्यक परेको अवस्थामा प्रहरी र वैदेशिक रोजगार विभागको संयुक्त अनुसन्धान टोली परिचालन हुनेगरी विभाग र नेपाल प्रहरीबीचको संयुक्त बैठकले निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस् ‘विदेशबाट फर्केको युवा सडकमा, उद्योगपति मिडियामा’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय