कतारका नयाँ राजदूतलाई अवसरः कस्तो बन्ने, कसको बन्ने ?

दिपक पुडासैनी-

नेपालको तर्फबाट राजदुत नियूक्त भएर कार्यभार सम्हाल्न भर्खरैमात्र कतार आईपुगेका राजदुत डा. नारदनाथ भारद्वाजलाई यसै पत्र मार्फत स्वागत गर्दै कार्यकाल अविश्मरणीय एवं उच्च प्रशंसनिय रहोस भन्ने शुभकामना ब्यक्त गर्न चाहन्छु ।

राजदुत नियुक्त भएर भर्खरै आइपुगे पनि समय सुचना र प्रविधिको छ । त्यसैले तपाई कतार र कतारमा श्रमरत नेपालीबारे त्यतिधेरै अनभिज्ञ हुनुहुन्छ जस्तो मलाई लाग्दैन । राजदुतको लागि सिफारिस भएर नियुक्ति हुंदै कतार अवतरण गर्दासम्मको लामो अवधिमा पक्कै पनि तपाईले यहाँको बारेमा धेरै जानकारी लिई सक्नु भएको छ । यसैले पनि म यहाँको बारेमा धेरै भन्न चाहन्न ।

कतारमा दुतावास स्थापना भएयता तपाई पाचौं राजदुत हुनुहुन्छ । पहिलो श्यामानन्द सुमन, दोश्रो प्रा.डा.सूर्यनाथ मिश्र, तेस्रो माया कुमारी शर्मा र चौथो डा.रमेश कोइराला । उहाँहरुलाई कुन दलले सिफारिस गरे भनेर म राजदुतको मर्यादा माथी प्रश्न उठाउन चाहन्न । संवैधानिक ब्यवस्था अनुसार मन्त्री परिषको सिफरीसमा राष्ट्रप्रमुखले नै तपाईलाई जस्तै नियुक्त गर्नु भएको थियो 

कतारमा श्रमरत नेपाली श्रमिकको हितमा राजदुतबाट भएको कार्यसंम्पादनलाई एउटा साधारण नागरिकको आँखाबाट हेर्दा भने सुर्यनाथ मिश्र बाहेक अन्य राजदुतले जागिर खाने, यहाँका मानव व्यापारी तथा देशबाट आशिर्वाद दिने मुखियालाई खुशी पार्ने बाहेक खासै उल्लेखनिय काम भएको देखिएन ।

अर्को शिराबाट पनि प्रष्ट्याउन चाहें । श्यामानन्द सुमन आफ्नो कार्यकाल सकेर फर्किसकेपछि मात्रै म कतार आएको हुँदा उहाँको बारेमा धेरै टिका टिप्पणी गर्न चाहिन । तर तत्कालिन समयका पिडीत श्रमिकका गुनासालाई आधार मान्ने हो भने आफ्ना गुनासा र समस्या सुनाउन राजदुत भेट्नु पर्यो भने पिडक मानव ब्यापारीलेनै सिफारिस गरिदिनु पथ्र्यो रे, अन्यथा भेट असम्भव ।

सूर्यनाथ मिश्रको पालामा सम्पुर्ण नेपाली श्रमिकको लागि राजदुतको कार्यकक्ष र मोबाईल चौविसै घण्टा खुल्ला थियो । कुनै श्रमिक कतै अलपत्र परे भनेर आधा रातमा फेन गरेपनि झर्को नमानी फोन उठाएर तत्काल आफ्नै गाडी र ड्राईभर पठाएर उद्घार गरेको घटनाको साक्षी म नै हुँ । दूतावासमा तीनजना कर्मचारी, श्रमिकका विकराल समस्या, अनि हरेक दिन दुतावासको आश्रय स्थलमा शरण लिने १५ देखी ५० ५५ जना पिडीत नेपालीको गुनासो ब्यबस्थापन कम चुनैतिपुर्ण थिएन । त्यसमाथी नेपालबाट सरकारको सहमति नहुँदा नहुँदै जागिर धरापमा राखेर गरेको नेपाली  श्रमिकको न्यूनतम तलवमा बृद्घि । समाजसेवीका मुखुण्डो लगाएका मानव ब्यापारीहरु जो हरेक शुक्रबार श्रमिक हितमा भाषण ठोक्थे र आफैले काममा लगाएका श्रमिलाई ६, ८ महिनासम्म तलब दिंदैन थिए वा दिए पनि अत्यन्तै न्यून, जुन पैसा खान र आफ्नो घरमा फोन गर्न पनि पर्याप्त थिएन, त्यस्तालाई सहिमार्गमा ल्याउन सहज पक्कै थिएन ।

सूर्यनाथ मिश्र जुन दलको सिफारिसमा राजदुत नियुक्त भएर आएका थिए त्यहि दलको भातृसंगठनका नेताहरु नै मिश्रको कारवाहीको पहिलो पंक्तिमा परेका थिए । उहाँको भनाई थियो मलाई राजनीतिक दलले सिफरिस गरेको भएपनि यहाँ आइसकेपछि म दलको हैन देशको प्रतिनिधि हुँ र हरेक नेपालीको हकहितको संरक्षण गर्नु मेरो पहिलो कर्तब्य हो ।

त्यसैले होला उहाँलाई ६ दर्जन भन्दा बढि नेपाली संघसंस्थाले मात्रै अभिनन्दन गरेनन् मिश्र कतारका अमिरबाट समेत सम्मान थापेर बिदा हुनुभयो ।

अर्का राजदुत माया कुमारी शर्माको बारेमा धेरै कुरा नगरेकै राम्रो । श्रमिक प्रतिको उहाँको गलत दृष्टिकोण, कतारका कम्पनीहरु, व्यापारीहरुसँगको अनुचित साँठगाँठका बारेमा धेरै चर्चा गरिरहन जरुरी छैन । पछि पदिय मर्यादाको ख्याल नगरी बोलेपछि कतार सरकारले नेपाल सरकारलाई अनुरोध गरेर उहाँलाई फिर्ता गरेको कुरा जगजाहेरै छ ।

रमेश कोइरालाले जागिर र तलव खानु भयो तर अपेक्षाकृत काम भने श्रमिक हितमा गर्न सक्नु भएन किनकी उहाँ एउटा घेराबाट बाहिर निस्कनै चाहनु भएन । निस्कन दिएनन् भन्दा अरुमाथी आक्षेप लगाएर आफु उम्कने कुरा मात्रै हुन्छ । गर्न चाहने र स्वविवेकीलाई कसैले रोकेर रोकिन्न । उहाँको विदाईमा केहि ब्यापारी र नेता मात्रैले चासो देखाउनुले पनि उहाँले कसका लागि समय खर्चनु भएको थियो भन्ने प्रष्ट हुन्छ ।

कतार सरकारले श्रमिक हितमा धेरै नियम कानुन र ब्यवहारमा सुधार गरेपछि पछिल्लो समय श्रमिक समस्या न्यून हुँदै गएको छ । नेपाल सरकारले पनि कतार दुतावासलाई सक्षम बनाउंदै जनशक्ति दर्जन हाराहारीमा पुर्याएको छ । यो अवस्थामा भर्खरै आउनु भएका राजदूतलाई श्रमिक हितका लागि उचित नीति बनाउंदै अगाडी बढ्को लागि राजमार्ग निर्माण भएको छ । तर त्यसका लागि ईच्छाशक्ति बढाउंदै घेराबन्दी तोड्नु पर्नेछ ।

नयाँ राजदूतलाई यी सुझावहरु राख्दै गर्दा यहाँका केहि तत्वहरु फेरी पनि मलाई मलुक फर्काउने कसरतमा लाग्ने छन्, जसरी पहिले लागेका थिए । यहि कारणले फर्काइनु परे पनि गुनासो रहने छैन किनकी दुईबर्षको लागि भनेर आएको कतारमै दर्जन बर्ष नाघि सक्यो ।

हो महामहिम ज्यू, यी मेरा दलका कार्यकर्ता, यी मेरा दलका ब्यापारी, यीनिहरुको देशका नेता, मन्त्री, प्रधानमन्त्रीसम्म पहुँच छ, यीनले भनेअनुसार नगरे मेरो पद खुस्किन्छ, जागीर जान्छ, मौका पाएर कमाउन आएको हुँ यीनैलाई हात लिएर कमाउनु पर्छ भन्ने सोचाई र योजनामा हुनुहुन्छ भने मेरा यि गन्थनको कुनै मूल्य र अर्थ रहने छैन । होइन नेपालको प्रतिष्ठा, नेपाली श्रमिकको श्रमको उच्च कदर, नेपालको समृद्घिका लागि कतारबाट नेपालमा विभिन्न क्षेत्रमा लगानी, सीप, विश्वासिलो वातावरण भित्रियाउने सवालमा सोच्नु भएको छ भने र पैसा भन्दा प्रतिष्ठा प्यारो छ भने आफ्नै विवेक प्रयोग गर्दै केहि ब्यापारीको निहित स्वार्थ, दलका भातृसंगठनका रुपमा गठन भएका तर श्रमिकमाराहरुको समुह र तिनको स्वार्थी अनि साँघुरो घेराबाट तपाई बाहिर निस्कनै पर्ने हुन्छ । 

म तपाईलाई माया कुमारी शर्मा जस्तो होइन सूर्यनाथ मिश्र भन्दा पनि सम्मानित भएर बिदा भएको हेर्न, सुन्न र तपाईको नाम र काम प्रति गौरव गर्न चाहन्छु । वाँकी तपाईको आफ्नै मर्जी ।

(लेखक पुडासैनी दोहा, कतारमा कार्यरत छन्)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय