कोरिया र जापानको रोजगारी सपनाः लगानी र प्रतिफल तुलना महत्वपूर्ण 

सुनिल न्यौपाने-

गएको शुक्रवार र शनिवार दुई दिनसम्म काठमाडौं र पोखरामा कोरियाली भाषा परीक्षा भयो । यो नेपालमा भएको १० औं कोरियाली भाषा परीक्षा हो । सो परीक्षामा यसबर्ष ८४ हजार २ सय १५ जना सहभागि भए । अव व्यग्रतापूर्वक उनीहरुले नतिजा पर्खिने छन् । त्यहि नतिजाले उनीहरुको दक्षिण कोरियाको रोजगारीको पहिलो खुड्कीलो तय हुन्छ वा हुन्न भन्ने यकिन हुनेछ ।

दक्षिण कोरियाले नेपाललाई सन् २०१९ को परीक्षाका लागि उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० तथा कृषि क्षेत्रमा तीन हजार गरी १० हजार ५० श्रमिकको कोटा तोकिसकेको छ । अर्थात यस बर्षको परीक्षा मार्फत सो संख्यामा कामदार कोरिया जानेछन् । यो संख्या गत बर्षको भन्दा झण्डै २५ सय धेरै हो । तर परीक्षामा सहभागिहरुको संख्या पनि अघिल्लो बर्षभन्दा यस बर्ष १० हजारले धेरै छ । अघिल्लो बर्ष ७४ हजार ८ सय ६२ परीक्षार्थीले कोरियाली भाषा परीक्षा दिएका थिए ।  

तथ्याँकलाई हेर्दा यसबर्ष कोरियाको रोजगारी सपना देख्नेहरु मध्ये १० हजारको सपना पुरा हुनेछ । तर ७४ हजार भनें त्यसबाट बिमुख हुनेछन् । यस सन्दर्भमा विचार गर्नुपर्ने कुरा भनेको ति ७४ हजारको सपनाको मृत्यु मात्र होइन, तिनले गर्ने समय, पैसा, परिश्रमको लगानी पनि खेर जानेछ ।

भाषा परीक्षा दिनेहरुले कम्तीमा एक बर्ष वा अधिकाँशले त्यो भन्दा लामो समय लगाएर ईन्स्टिच्यूटमा पढ्छन् । हुन त कुनै पनि भाषाको ज्ञान हुनु राम्रो कुरा हो । तर त्यसको प्रयोजनलाई ख्याल गरिनु पर्दछ । ईपिएसमा सहभागि हुन भाषा पढ्नेहरुको एकमात्र लक्ष्य भाषा परीक्षा उत्तिर्ण गरेर दक्षिण कोरिया जाने, त्यहाँ रोजगारी गरेर गतिलो आम्दानी गर्ने नै हो । त्यहि आशमा विगत एक दशक अगाडी देखि नै नेपालमा बर्षेनी हजारौं नेपाली युवाले कोरियाली भाषा पढे र पढ्दै आएका छन् । यसको अर्थ कोरियाली भाषा सिक्ने नेपालीको संख्या केहि लाख भएको छ । तर कोरिया जानेहरुको संख्या भनें केहि हजार छ ।

यहि परिप्रेक्ष्यमा अहिले जापानको रोजगारीको हल्लाले बजार तताएको छ । काठमाडौं मात्र होइन देशका मुख्य शहरहरुमा जापान जाने ढोका खुलिहाले झैं गर्दै कन्सल्टेन्सीहरु तथा भाषा पढाउने संस्थाहरुले हल्ला मच्चाएका छन् । हो, बसाईको सहजता, उचित पारिश्रमिक सहित रोजगारीको ग्यारेण्टी र मर्यादित काम प्राप्तिको हिसावले जापानको रोजगारी नेपालीका लागि अवसर हो । तर साँच्चै जापानको रोजगारीमा ५ बर्ष भित्रमा कति नेपाली जालान् ? केहि हजार ? अवस्थाले यहि भन्छ किनकी जापानले ५ बर्षभित्रमा ९ वटा मुलुकबाट गरी ३ लाख ४५ हजार श्रमिक लैजाने हो । त्यसमा नेपालीको दक्षता र भाषाको ज्ञानका आधारमा अत्यन्त थोरै क्षेत्र मात्र नेपालीका लागि उपलव्ध हुन सक्दछ । यद्यपी अहिलेसम्म कुन क्षेत्रको रोजगारीमा नेपालीले प्राथमिकता पाउँछन् यकिन छैन, तर पनि नर्सिङ केयर, सफाई तथा होटल रेष्टुराँ तथा कृषिको काममा अलिक बढी सम्भावना रहेको सरकारी अधिकारीहरु बताउँछन् ।

तर त्यसका लागि एउटा व्यक्तिले गर्ने लगानी हेर्ने हो भनें त्यो कम छैन । झण्डै २० देखि ४० हजार खर्च गरेर जापानी भाषा पढ्नेहरुले आफूसँग सीप भए नभएको भुलेका छन् । सीप र भाषा दुवै उत्तिकै अनिवार्य शर्त हन् जापानको रोजगारीका लागि । त्यसैले केहि हजार श्रमिकको कोटामा भिड्न तम्तयार भएर भाषा पढ्न जुटेकाहरुले सीप विकासमा पनि उत्तिकै ध्यान दिन जरुरी छ ।

राज्यका जिम्मेवार निकायले पनि भाषामा गरिने लगानी र त्यसबापत प्राप्त हुनसक्ने उपलव्धीका बारेमा राम्रोसँग जानकारी गराउन सकिरहेका छैनन् । यसको लाभ हल्लाको खेती गरिरहेकाहरुले उठाउँदै छन् । यसमा शिक्षा मन्त्रालय मौन जस्तै बसेको छ । यो उचित होइन ।

भाषा पढ्ने योजना बनाइरहेका वा पढ्दै गरेकाहरु आफैं उत्तिकै सजग हुन जरुरी छ । कुनै समय थियो कोरियाली भाषा परीक्षा उत्तिर्ण गरेपछि छँदाखाँदाको रोजगारी छोडेर महिनौं बस्ने अनी अन्तिममा कोरिया जान नपाएपछि अलपत्र पर्ने । जापानको सन्दर्भमा पनि त्यहि हुन सक्दछ । त्यसैले हल्लाको पछि नलागौं । भाषा पढ्ने भए आफूसँग कुन सीप छ र सो सीपमा भोली कोटा पाउने सम्भावना कति छ त्यो बुझेर मात्र लगानी गरौं । यति गर्नुभयो भनें तपाईले लगानी गर्ने समय, परिश्रम र रकमको सदुपयोग हुन्छ । (यो सामग्री २०७६ जेठ २८ गते प्रकाशित भएको हो)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय