मलेशियाको रोजगारीको हुटहुटी किन ?

 

अर्जुन काफ्ले-

केहि दिन यता बैदेशिक रोजगार व्यवसायीको आन्दोलन चलिरहेको छ । ६ बुँदे माग मध्ये एउटा बुँदा मलेशियाको रोजगारी तत्काल खोल्ने रहेको छ । आफ्नो मागको सुनुवाई नगरिएको भन्दै बैदेशिक रोजगारमा जानेहरुको हवाई टिकट काट्न एक हप्ता रोक्ने  अभियान अन्तर्गत हाल व्यवसायीहरु विमानस्थलमा नै पुगेर समेत आन्दोलन गरिरहेका छन् ।  

नेपालीको राम्रो रोजगारीको गन्तव्य रहेको मलेसियामा नेपाली श्रमीक काम गर्न जान छोडेको एक वर्ष वित्यो । श्रम समझदारी भइसकेपछि पनि नेपाल र मलेसियाबीच कामदार आदानप्रदानको विषय प्रष्ट हुन नसक्दा एक वर्षयता नेपालीका लागि मलेशियाको रोजगारीको ढोका बन्द नै छ । मलेशियामा कार्यरतहरु छुट्टीमा आउने जाने गरिरहेपनि नयाँ करार सम्झौता गरेर नेपाली श्रमिक मलेसिया जान पाएका छैनन ।

नेपाल र मलेशियाबीच श्रम समझदारी भएपछि मलेशियाको रोजगारीको पर्खाइमा रहेकाहरु अव तत्कालै र सुरक्षित ढंगमा मलेशिया जान पाइने आशमा थिए । तर स्वास्थ्य परिक्षण गर्ने संस्थाहरुको सिण्डिकेट हटाउने विषयमा नेपालले राखेको अडान र सो अनुरुपको काममा मलेशियाले तदारुकता नदिंदा समस्या ज्यूँका त्यूँ छ । यहि माथापच्चीले नयाँ नेपाली कामदार मलेसिया जान सकेनन् ।

मलेशिया २०१७ सम्म नेपाली श्रमिकका लागि पहिलो श्रम गन्तव्य मुलुक थियो । नेपाली श्रमिकको भरपर्दाे श्रम गन्तव्य मात्र नभई नेपाली श्रमिक पनि मलेशियाका लागि भरपर्दा थिए । नेपाली श्रमिक वेगर मलेसियाको स्ुरक्षा क्षेत्र अपुरो नै थियो । सेक्युरेटीमा त स्थानिय मलेसियन वाहेक नेपालीले मात्र काम गर्न पाउँछन् । यो नेपाली प्रति मलेशियाले गरेको विश्वास पनि हो ।

सन् २०१८ पछि एकाएक मलेसियाको रोजगारी रोकियो । कलिङ्ग भिषा भएकाहरु पनि मलेसिया जान पाएनन् । भिएलएन तथा वायोमेट्रिकमा नेपाली श्रमिकबाट अनाधिकृत रकम संकलन गरिएकाले सो कार्य रोक्न पनि केहि समयका लागि भन्दै मलेशिया जान नयाँ स्वीकृत नेपाल सरकारले दिएन । सरकारको यो कदमले केहि वैदेशिक रोजगार व्यावसायीलाई अप्ठ्यारो प¥यो । वैदेशिक रोजगार व्यवसायीले नेपाली मन्त्रीको अकर्मण्यताका कारण मलेसियामा नेपाली श्रमका लागि जान नपाएको आरोप लगाए । केहि व्यवसायीले त अव यहि रुपमा मन्त्री प्रस्तुत हुने हो भने कहिल्यै पनि नेपाली श्रमिक मलेशियाले लिन नचाहेको हाउगुजी समेत देखाए । कतिसम्म भन्न भ्याए भने मलेशियाले अन्य देशका श्रमिकलाई लिने र नेपाली श्रमिकको श्रम बजार कटौती हुँदैछ । यो अफवाहका बीच श्रम मन्त्री गोकर्ण विष्ट भनें टसमस गरेनन् ।

नेपालले श्रम सम्झौता गरेपछि पनि पुरानै प्रकृयाबाट श्रमिक लैजाने कुरालाई अस्वीकार गरेको छ । मुख्यगरी अन्य खर्चहरु मलेशियाका रोजगारदाताहरुले नै व्यहोर्ने प्रतिवद्धता जनाइसकेपनि स्वास्थ्य परिक्षणमा यसअघि लगाइएको सिण्डिकेट अन्त्य गर्ने विषयले यसलाई पेचिलो बनाएको हो । यसबीचमा अव मलेशिया पठाउनु पर्दछ भन्दै विभिन्न प्रयत्नहरु गरिए । अन्य मन्त्री, प्रधानमन्त्री र पार्टी अध्यक्षसम्म गुहार्ने काम भयो । म्यानपावर व्यावासायीहरु अझै पनि विभिन्न तिकडाम लगाएर मलेसियामा नेपाली श्रमिक पठाउन उद्यत छन् । तर मलेशियामा नै रोजगारी गरेर त्यहाँको अनुभवका गरेर फर्केको आधारमा यस स्तम्भकारलाई लाग्छ यस्तै अवस्थामा मलेशियामा नेपाली श्रमिक पठाउने हो भनें रोजगारीका लागि जाने नेपालीले दुःख पाउने निश्चित नै छ ।

मलेसियामा नेपाली श्रमिकका समस्या के छन भन्ने विषयमा पटक पटक लेखिसकिएको छ । रोजगारीका लागि रहँदा र वाहिरफेर रहँदाका विभिन्न समस्याको भुक्तभोगी भएकाले पनि मलेशियावारे थप लेख्ने चेष्टा गरेको हुँ । मलेशियामा श्रमका समस्या धेरै छन् । नेपालबाट गरिए वमोजिम जस्तो सवै श्रमिकले काम र दाम पाउँदैनन् । यसको हल सुरुमा गरिनु पर्दछ । श्रम सम्झौतामा नै भए जस्तो काम र दाम नभए त्यसको क्षतिपुर्ती नेपाली श्रमिकले पाउने ग्यारेण्टी हुनुपर्दछ । यदि सम्झौता अनुुसारको काम भएन भने तत्काल नेपाली श्रमिकले नेपाल फर्किने र त्यसवापतको क्षतिपुर्ती पाउने व्यावस्था कडाइका साथ लागु गरिए धेरै नेपाली श्रमिकले राहत पाउने छन् । राम्रो काम र राम्रो दामको आशमा नै वैदेशिक रोजगारीका लागि जाने गरिन्छ । तर भने जस्तो काम र दाम नभएपछि धेरैले अवौधानिक हुने वाटो रोज्छन् । यसरी अवौधानिक बनेकाहरु जेलसम्म पुग्छन् । जेल पुगेका नेपालीलाई घर फर्काउन मात्रै लाखौ रुपैंया खर्च भइरहेको छ । यसतर्फ ध्यान दिने हो भने पनि केहि नेपालीले भोग्दै आएको समस्या समाधान हुन्छ । त्यसैले सरकारले कडाइका साथ मलेशिया पठाउने म्यानपावरलाई यदि भने जस्तो काम र दाम नभए नेपाली श्रमिक देश फर्काउने र त्यस वापत क्षतिपुर्ती भराउने काम गर्न सकेमात्र केहि हदसम्म त्यहाँका नेपालीको श्रम समस्या समाधान हुन्छ ।

अर्को सीप सिकेकालाई मात्र रोजगारीका लागि पठाउने व्यवस्था गर्नु पर्दछ । अदक्ष कामदार आपुर्ती गर्दै आएको नेपालले अव विदेशमा अर्धदक्ष अथवा दक्ष श्रमिक पठाउन सके भोली नेपालकै लागि राम्रो हुन्छ । पहिलो त उनीहरु आफैं राम्रो काम पाउँछन भने भोली नेपालमा आवश्यक परे उपयोग पनि हुन्छन् । त्यसैले दक्ष वा अर्धदक्ष श्रमिकलाई मलेसिया पठाउन सके राम्रो हुन्छ ।

मलेशियाको अर्काे समस्या भनेको असुुरक्षा हो । यसका लागि मलेशियाका सुरक्षा निकायसँग नेपाली श्रमिकको सुरक्षाका लागि आवश्यक आवाज उठाउनु जरुरी छ । किनकी बस्ने वासस्थान देखी वाटोमा हिंडदा पनि आप्रवासी श्रमिकले चैनको स्वास फेर्न पाउँदैनन् । त्यसैले नेपाली श्रमिकका लागि कुनै समस्या भए त्यहाँको सुरक्षा निकायले तत्काल कारवाहि हुने गरि काम गर्ने वातावरण मिलाए नेपाली श्रमिकलाई मलेशियाको रोजगारी सहज वन्न सक्छ ।

मलेशियामा काम गर्ने आप्रवासी श्रमिक र स्थानीय श्रमिकवीच आकास पातालको फरक छ । स्थानीय श्रमिकले पाउने सुविधा नेपाली श्रमिकले पनि प्राप्त गर्ने वातावरण मिलाउन जरुरी छ । चाहे विमाका कुरा हुन वा मृत्यु पछि उसको परिवारले प्राप्त गर्ने सुविधाका कुरा । यी यस्ता कुरामा ध्यान दिएर मात्र मलेशियाको रोजगारी खोल्न सके नेपाली श्रमिकका लागि राम्रो हुन्छ । अन्यथा अहिलेकै अवस्थामा रोजगारी खोले हात्ति आयो हात्ति आयो फुस्सा मात्र हुन्छ ।

(हाल नेपालमा रहेका काफ्ले मलेसियामा कार्यरत रहँदा पत्रकारितामा समेत संलग्न थिए । यो सामग्री २०७६ जेठ २२ गते प्रकाशित भएको हो ।)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: