होलान् त मलेसियाका यी समस्या समाधान ?

अर्जुन काफ्ले-

मलेसिया नेपाली श्रमिकको रोजगारीका लागि एउटा मुख्य गन्तव्य मुलुक हो यद्यपी विगत १० महिनायता सो मुलुकमा नेपाली रोजगारीका लागि जान पाएका छैनन । आन्तरीक रोजगारी बलियो भइनसकेको र खाडीका मुलुकमा रोजगारीको अवसर खुम्चिंदै गएको अवस्थामा मलेसियाको रोजगारी लामो समयसम्म रोकिनु स्वयं सरकारका लागि पनि सुखद कुरा होइन । उद्यपी यो आलेखमा उठाउन खोजिएको विषय भनें यो होइन ।    

मलेसियामा रहेका नेपालीले धेरै गुनासो गर्ने विषय त्यहाँ रहेको नेपाली दुतावासले नेपालीका पक्षमा काम गर्न सकेन भन्ने हुने गरेको छ । पंक्तिकार स्वयं मलेसियामा बसेर फर्केको हुँदा यसमा व्यक्त विचारमा त्यो भोगाई पनि उत्तिकै मिसिएको छ । यो आलेख तयार पारिरहँदा मलेसियामा रहेका नेपालीका समस्या, त्यसका लागि नेपाली राजदुतले खेल्न सक्ने भूमिका र नेपालीका लागि नेपाली दुतावासले के गर्न सक्छ भन्नेमा केन्द्रीत छ । सरकारले मलेसियाका लागि नयाँ नेपाली राजदुत नियुक्त गरेको सन्दर्भमा यो विषय उपयुक्त छ भन्ने पंक्तिकारको ठम्याई हो ।

यसअघि साउदी अरवमा नेपाली राजदूत भएर काम गरिसकेका उदयराज पाण्डेलाई सरकारले मलेसियाका लागि नयाँ राजदूत छान्यो । साउदी अरवमा कार्यरत रहँदा नेपाली समुदाय आधारीत संघसंस्थासँग उति बलियो सम्वन्ध बनाउन नरुचाएको भनेर सो समुदायबाट आलोचित पाण्डे अनय विवादास्पद विषयमा नफसेका व्यक्ति हुन् । नेपाल फर्केपछि पनि श्रमिकका पक्षमा चर्को आवाजमा आफ्ना भनाई राख्ने उनले मलेसियामा नेपाली श्रमिकका पक्षमा कसरी काम गर्छन् त्यो समयक्रमसँगै देखिने नै छ ।

मलेसियामा काम गर्ने नेपाली श्रमिक विभिन्न तवरवाट पीडामा पर्दै आएका छन् । काम लगाउने कम्पनीले गर्ने श्रम शोषण, दुर्घटनामा पर्दा समेत विमा र राहत नपाइने समस्या, भने जस्तो बस्ने ठाउँ (होस्टल)को सुविधा नहुने समस्या, श्रमिक लुटिने समस्या भोग्दै आएका नेपाली श्रमिक पछिल्लो समय नेपालीबाट नै ठगिदै आएका समाचार पनि आउने गरेका छन् । विगतमा मलेसियामा काम गर्न जानु अघि नेपाली म्यानपावर कम्पनीले धेरै तलवको आशा देखाउने गरेका थिए जुन पुनः मलेसियाको रोजगारी खुल्नेवित्तिकै फेरी सुरु हुने नै छ । दुईवटा सम्झौता गरेर पठाउने देखि निःशुल्क भिषा भनिए पनि १ लाखसम्म असुल्ने प्रचलन नदेखिएको होईन । अवका दिनमा यसको निराकरणका लागि पक्कै पनि श्रममन्त्री गोकर्ण विष्टको ध्यानाकर्षण भएकै हुनुपर्दछ । जवसम्म मुहान सफा गर्न सकिन्न मलेसियामा मात्र विकृति खोजेर हुन्न । त्यसैले सुरुमा हाम्रा नेपाली श्रमिक ठगिने, लुटिने क्रम नेपालमा नै बन्द गर्न सक्नु पर्दछ ।

मलेसिया पुगेपछि नेपाली श्रमिकले भोग्दै आएको मुख्य समस्या त्यहाँ भनिएजस्तो सुुविधा नपाउनु हो । होस्टलका नाममा वाख्रा बाँध्ने खोर जस्तो ठाउँ अथवा कन्टेनरमा बस्न वाध्य नेपालीको लागि नयाँ राजदुतले आफ्ना लागि केहि नयाँ काम गर्नेछन् भन्ने आश धेरै नेपाली श्रमिकको हुनेछ ।

अर्को कुरा नेपाल र मलेसियावीच नेपाली श्रमिकको जीवन केहि सहज हुने ढंगले श्रम समझदारी त भयो तर महिनौं वित्दा समेत त्यसको कार्यान्वयन सुरु भएको छैन । हुन त मलेसियाको मानव संशाधन मन्त्रालयले नेपाली श्रमिक लैजाने विषयमा प्राथमिकताका साथ प्रयत्न गरे झैं देखिन्छ तर स्वयं मलेसिया भित्रै आप्रवासी कामदारको विषय हेर्ने गृहमन्त्रालयको कानमा यसको बतास उतिसाह्रो लागे जस्तो देखिन्न । ताप्के नतात्ने, विंड मात्रै तात्ने हुँदा रोटी पाक्न सकेन भन्ने कुरा विस्तारै छर्लङ्ग हुँदै गएको छ । नयाँ राजदूतले कति छिटो श्रम समझदारीलाई व्यवहारिक कार्यान्वयनमा लैजाने वातावरण निर्माण गर्न सक्छन् ? यसले पनि उनको कुटनीतिक क्षमता देखिनेछ ।

मलेसियामा नेपाली श्रमिकको अर्को समस्या चोरी र लुटपाट हो । पहिले त्यहाँ रहेका भारतीय मुलका मलेसियन(जो तामिल भनेर चिनिन्छन्) यस कार्यमा संलग्न रहँदै आएका थिए । पछि यस कार्यम इन्डोनेशियन हुँदै नेपाली पनि यो कार्यमा संलग्न रहेको घटना बाहिर आउनुले पनि यो थप जटिल समस्या हो । नेपाली श्रमिकको सुरक्षाका लागि विषेश पहल के गर्न सकिन्छ, त्यो पनि नयाँ राजदुतको लागि चुनौतीको विषय हो । स्वयं मलेसियन प्रहरीबाट नै लुटिएका भुक्तभोगी भेटिन्छन् मलेसियामा । मलेसियामा जलनकार्ड अर्थात त्यहाँको अध्यागमन विभागले आप्रवासीलाई दिएको हिंड्डुल गर्ने कार्ड वोकेर वाहिर निस्कदा पनि कतिपय अवस्थामा मलेसियन प्रहरीले पैसा माग्ने गरेका छन् । त्यसैले यो कार्य अत्यन्तै ससहज छ तर पनि आफ्ना अभिभावकसँग मलेसियामा कार्यरत नेपालीले यो विषयमा पनि मद्धत खोज्ने नै छन् ।

मलेसियाका कम्पनीमा काम गर्दा गर्दै मृत्यु भएका वा अंगभंग भएका नेपाली श्रमिकले क्षतिपूर्ती वा विमा अत्यन्तै कम पाउने वा पाउदै नपाउने समस्या छ । यसवारेमा दुतावास अनभिज्ञ छैन तर पनि यस वारेमा रोजगारदातासँग नेपाली दूतावासले बलियोसँग कुरा गर्न नसकेको विगतले देखाउँछ । यसमा विगतका राजदूतले उल्लेखनिय काम नगर्नुको अर्थ सो काम गरेर श्रमिक पक्षिय छवि बनाउने अवसर नयाँ राजदूत पाण्डे सामु छ । यस काममा पाण्डे सफल भए धेरै नेपालीको सम्झनामा उनी पर्नेछन् जसरी कतारमा श्रमिकका पक्षमा गरिएका निर्णयका कारण आजसम्म पूर्व राजदूत सूर्यनाथ मिश्रलाई सम्झिईन्छ ।

यसबाहेक धेरै नेपाली श्रमिक दुतावासको ढोकामा आफु पीडामा परेको र भने जस्तो काम नपाएको, काम अनुसारको दाम नपाएको, कम्पनीको म्यानेजर देखि सुपरभाइजरसम्मका मान्छेले पीडित वनाएको भन्दै गुनासोका चाङ लिएर दैनिक आउने गर्दछन् । उनीहरुको एउटै गुनासो हुन्छ मलेसियाको दुतावासले नेपालका लागि कुनै काम गर्दैन । उनीहरुका कुरा सुन्नु, एउटा अभिभावकको भूमिका निर्वाह गर्नु नयाँ राजदूतका अवका कार्यभार हुन् । र, नयाँ राजदूत आइपुग्ने वित्तिकै उनीसँग नजिक हुन आइपुग्ने ‘नेपाली अगुवा’ हुँ भन्नेहरुको घेरा बाहिर रहन र स्वयं दूतावासकै तल्लो तल्लामा दलाली गर्ने अड्डा चलाउन रोक्न सकेमा राजदूत उदयराज पाण्डे मलेसियामा सफल हुनेछन् ।

हुन त मलेसियामा पछिल्लो समयमा नेपाली श्रमिक त पुगेका छैनन् तर निकट भविष्यमा नेपाली श्रमिक त्यहाँ पुग्ने नै छन् । त्यो वेला नेपाली दुतावास सम्झिएर नेपाली दुतावासबाट राम्रो काम गरेको सुन्ने धेरै नेपालीको आशा छ । त्यसमा नयाँ राजदुत पाण्डे सफल रहनु् यो नै शुभकामना ।

(मलेसियामा कार्यरत रहँदा पत्रकारितामा समेत सकृय काफ्ले हाल नेपालमा छन्)

यो पनि पढ्नुहोस् विदेशबाट फर्केकाहरुलाई सहुलियत व्याजदरमा ऋण दिन यी बैंक तयार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: