
रञ्जना लम्साल-
यो हप्ताको शनिवारको विदाको सदुपयोग गर्दै पहिलाको घर भएको ठाउँ तिर घुम्न जान मन लाग्यो । शनिवारको दिन भएर होला केटाकेटी घाम लागेको ठाउँमा झुरुप्प भएर खेल्दै थिए । त्यहि भिडमा एउटा बालकमा मेरो आँखा गयो । उमेर त्यस्तै ८/९ बर्षको जस्तो देखिन्छ । मैलो लुगा लगाएको, नजिक जाँदा यस्तो लाग्छ हप्तौ भयो उनले नुहाएको थिएन । उनलाई देख्दा कता कता उनी अरु भन्दा फरक पनि देखिन्थे ।
ती बालकलाई बोलाएर कुरा गर्न खोजें तर उनी नजिक आउन मानेनन् । मैले मेरो पुरानो घरको नजिकको दिदिसँग उनी को हुन, किन यति धेरै धुलोमैलो छ ? अनि किन फरक ब्यवाहार देखाएको भनेर कुरा गर्दा थाहा भयो, उनकी आमा बैदेशिक रोजगारका लागि कुवेत गएकी रहिछन् । उनको आमा बिदेश हिंडेको ११ महिना भएछ । उनी एउटी बहिनीसँगै बुवासँग बस्दा रहेछन् ।
उनको घरमा आमा गए देखि शान्ति छैन भन्दै थिईन ती दिदि । उनीहरुले तातो भात नखाएको र सफा लुगा नलगाएको पनि पनि एघारै महिना भएछ । बाबु मातेर आउँछन् रे । छोराछोरीलाई हप्काई दप्काई गर्छन रे । केटाकेटी कुनामा बस्छन् तर बाबुसँग केहि बोल्न सक्दैनन् । यी बाल बालिकाको भविष्य के होला ? यो बिचार मात्र मेरो मनमा आईरह्यो ।
त्यो बालकको नजिक फेरी जान मन लाग्यो मलाई । म एक्लै जाँदा उनी मसँग कुरा गर्न मान्दैनन् जस्तो लागेर संगै खेलेको उनको साथीसँगै राखेर उनीसँग कुरा गरे ।
बाबु तिम्रो नाम के हो ?
-प्रशान्त
आमाले तिमिलाई फोन गर्नु हुन्छ ?
उनले मुन्टो हल्लाएर गर्नुहुन्नको भावमा जवाफ दिए ।
बाबा के गर्नु हुन्छ ?
-खै
बाबु पढ्न जान्छौ ?
-जान्छु
खाना खाएर आएको हो खेल्न ?
-हो
त्यति भनेर उनी खुरुर्रर्रर दौडिए अनि म त्यहाँबाट फर्किए ।
गाउँले दिदिले बताए अनुसार उनीहरु अर्काको घरमा भाडा गरेर बसेका हुन । छोराछोरी पाल्ने मेसो गाउँघरमा नदेखेर उनी बिदेश हान्निएकी रहिछन् । श्रीमान बिदेश जान स्वाथ्यले साथ नदिएर उनी भारतको बाटो हुँदै कुवेत गईन । जुन सन्तानलाई शिक्षा दिक्षा र सफल जीवन दिन उनी बिदेश भासिईन उनी नेपाल फर्किदासम्म ती सन्तान कस्ता हुन्छन् वा कहाँ पुग्छन् त्यो केहि थाहा छैन ।
दिदिले मसँग कुरा गर्दै गर्दा आफ्ना बारेमा बताउन थाल्नु भयो । दिदिका श्रीमान पनि १३ बर्षसम्म बिदेश जानु भएको रे । २ जना छोरा श्रीमान बिदेश रहँदै गर्दा हुर्काउनु भएछ । श्रीमान बिदेशमा, म अर्काकोमा काम गर्न जान्थे, बिहान बिस्तारामा छोराहरु छोडेर गयो ८ बजे चिया खान २० मिनेट छुटृी हुन्थ्यो, त्यहि समयमा खाना पकाएर काँचो कचिलो छोराहरुलाई दिन्थे । उनीहरु खाना खाएर स्कुल जान्थे मेरो काम २ बजेसम्म । घर आएपछि घरको काम बाख्रा, खेती सबै । बेलुकी १० बजेसम्म भोली के खुवाउने, तरकारी के पकाउने, सबै तयार पारेर सुत्थे । मैले जति दुख गरे छोराहरुले राम्रो पढे, अहिले छोराहरुले कमाउन थालेर म ढुक्क छु ।
एउटै परिवेश, एउटै परिस्थीती पात्र मात्र फरक । तर एउटाको घर उज्यालो छ, अर्काको अध्यारो । हुन त पुरुष सदस्यले घर सम्हाल्न सक्दैनन् भन्न खोजेको पटक्कै होईन, तर पनि महिलाले छोडेको घर र छोराछोरी अलपत्र जस्तै भएको धेरै देखिन्छ । छोराछोरी श्रीमानको जिम्मा लगाएर गएका श्रीमतीहरु घर फर्किदा छोराछोरी कुलतमा फसेको अलि धेरै सुनिन्छ, देखिन्छ ।
सन्तानलाई बाबाआमा दुवैले हुर्काउन सके, दुबैको माया उनीहरुले पाएभने पक्कै पनि उनीहरुको शारीरिक र मानसिक अबस्था राम्रो हुन्छ । छोराछोरीको उज्वल भविष्य खोज्न खाडीमा दौडने अभिवाकले आफुले घरमा छोराछोरीको जिम्मा कसरी र कसलाई लगाउने भन्ने बारेमा पनि एक पटक सोच्न पर्ने देखिन्छ । कतै हामीले खोजेको भविष्य, वर्तमान भन्दापनि अन्धकारपूर्ण नहोस यस बारेमा पनि एक पटक बिचार गर्ने हो की ?
यो पनि पढ्नुहोस् मर्यादित आप्रवासनः महिला श्रमिकको भूमिका