विदेशमा कमाएको रकम कसरी जोगाउने, कहाँ लगानी गर्ने ? 

 

 

बैदेशिक रोजगारबाट कमाएर पठाइने रकम नेपाली अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको छ । पछिल्लो दुई दशकमा मुलुकका आर्थिक कृयाकलापलाई चलायमान बनाउन बैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स(विप्रेषण)को नै मुख्य भूमिका रहि आएको छ । 

तर त्यसरी आउने रकम उत्पादनमूलक क्षेत्रमा अझै पनि खासै प्रयोग हुन नसक्नु चिन्ताको विषय हो । उपभोगमा ठूलो हिस्सा खर्च हुने रेमिट्यान्सलाई कसरी बैदेशिक रोजगारमा गएको व्यक्तिको परिवारको भोलीको आम्दानीको बाटो बनाउने भन्ने बारेमा अझै पनि धेरै प्रयत्न भएको छैन ।

 विनोद अधिकारी वित्तिय साक्षरताका विज्ञ हुन् । वित्तिय साक्षरता सम्वन्धि थुप्रै पुस्तकका लेखक तथा वित्तिय साक्षरताका प्रशिक्षक अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश । 

…………………….. 

प्रश्नः विदेशबाट आउने रेमिट्यान्स अर्थात विप्रेषण किन उत्पादनमुलक क्षेत्रमा लगानी हुन सकेन भन्ने तपाईको ठम्याई छ ?    

अधिकारीः एउटा कुरा त धेरैजसोले कसरी आफ्नो कमाईलाई योजनावद्ध तरिकाले अर्थात आफ्नो परिवारको आवश्यकता, भविष्यमा आउन सक्ने आवश्यकताहरुलाई विचार गरेर त्यो पैसालाई कसरी व्यवस्थापन गर्ने, कसरी त्यसको सही प्रयोग गर्ने, कसरी पैसाको योजना बनाएर काम गर्ने भन्ने ज्ञान सीप हासिल गर्न सकेका छ्रैनन् । त्यसले पनि बैदेशिक रोजगारबाट आएको पैसाको सदुपयोग नभएको देखिएको छ । अर्को पक्ष कतिपयलाई कमाई सकेपछि त मन ढुक्क बनाएर खर्च गर्नुपर्छ नी त भन्ने सोचाईले पनि विदेशबाट आएको रकमलाई उत्पादनशील काममा नलगाएको अथवा उत्पादनशील काममा लगाउन बाधा परेको जस्तो देखिन्छ । 

प्रश्नः जुन परिवारले बैदेशिक रोजगारबाट रेमिट्यान्स प्राप्त गरिरहेको छ, त्यो परिवारले कस्तो खर्च कटौति गर्न सक्यो भनें त्यो पैसा बचत भएर भोलीका लागि लगानी हुने वातावरण बन्दछ ? 

अधिकारीः त्यसरी आएको पैसा अहिले विशेष गरी उपभोगमा नै खर्च भएको छ । बैदेशिक रोजगारमा गएका व्यक्तिका परिवारका सदस्यहरुले पहिले गर्दै आएको खेतीपाती पनि छोड्ने, महँगा-महँगा कपडा लगाउने,  महँगा-महँगा सामानहरु प्रयोग गर्ने, छोराछोरीको पठन पाठनको निहुँ बनाएर गाउँ छोडेर बाहिर हिंड्ने, भोजभतेरहरु गर्ने, उपहारहरु बाँड्ने जस्ता काम धेरै गरेको देखिन्छ । अलिकति विलाशिताको ढंगबाट पैसा खर्च भएको देखिएको छ । त्यसैले सकेसम्म घरमै बसेर सकेसम्म बैदेशिक रोजगारबाट आएको त्यो पैसालाई कुनै व्यवसायमा लगाएर व्यवसायबाट आम्दानी बढाउनु त्यस्ता परिवारको लागि सवैभन्दा महत्वपुर्ण कुरा हुन सक्छ । यसमा परिवार एकदम चनाखो हुनुपर्दछ किनकी बैदेशिक रोजगारी सधैंको स्थायी आम्दानीको श्रोत होइन । त्यसैले अहिले गरेको दुःखले भविष्यसम्मलाई फाइदा होस्, छोराछोरीको पठनपाठनलाई सजिलो होस्, केहि सम्पत्ति जोड्न सकियोस्, व्यवसाय सञ्चालन गर्न सकियोस् भन्ने कुरामा जोड दिन सकियो भनें यसले परिवारको आर्थिक उन्नतीमा ठूलो मद्धत पुर्याउन सक्दछ भन्ने लाग्छ । 

प्रश्नः हामीले केही बर्षयता उत्पादनमुलक क्षेत्रमा रेमिट्यान्सको सदुपयोग हुन सकेन भनेर सुन्दै आएका छौं । के कारणले अनुत्पादक क्षेत्रको लगानी घट्न सकेन ? 

अधिकारीः यसमा धेरै कुरा जोडिएका छन् । एक त यो व्यक्तिको स्वभाव र मनोवृत्तिसँग जोडिएको कुरा हो । पैसा नहुँदा पो दुःख व्यहोर्ने हो, पैसा भएपछि त खाने, लाउने, रमाईलो गर्ने मोज गर्ने हो र अरुको जस्तै जीवन बाँच्ने भन्ने गलत प्रतिस्पर्धा कतिपयमा देखिन्छ । यहि गलत सोचाईले बैदेशिक रोजगारबाट कमाएर पठाएको रकमलाई सदुपयोग गर्नबाट रोकेको छ । त्यस्ता मान्छेहरुलाई यो उपयुक्त तरिका होइन, राम्रोसँग परिचालन गर्यो भनें पछिलाई आम्दानी हुने काममा लगानी हुन्छ भन्ने ज्ञान दिन नसकेर पनि सायद विलाशिताका कुरामा बैदेशिक रोजगारबाट आएको पैसा धेरै खर्च भइरहेको हुनसक्छ । एक त ति परिवारसँग पैसालाई परिचालन गर्ने, नयाँ काममा लगाउने, व्यवसायमा लगाउने ज्ञानको अभाव, चुनौति लिनसक्ने खुवी पनि देखिएको छैन, अर्कोतिर भएपछि खर्च गर्नुपर्छ भन्ने गलत मानशिकता बनिसकेको छ । त्यसैले त्यो मनोभावनालाई परिवर्तन गर्नु मुख्य कुरा हो ।  आजको पैसा भविष्यका लागि पनि हो, अहिले दुईचार दिनको खुशीको लागि मात्र त्यसलाई खर्च गर्नुहुन्न भन्ने भावनाको विकास गराउन जरुरी छ । 

प्रश्नः कुनै परिवार जहाँ बैदेशिक रोजगारबाट पैसा आइरहेको छ, त्यो परिवारलाई तपाईको सुझाव के छ ? 

अधिकारीः बैदेशिक रोजगारबाट आउने पैसालाई के काममा खर्च गर्दा बढी नाफा लिन सकिन्छ भन्ने विषयमा परिवारका सवै सदस्यहरु बसेर छलफल गर्नु सवैभन्दा उत्तम कुरा हो भन्ने मलाई लाग्छ । किनकी अहिले पनि बैदेशिक रोजगारबाट कति पैसा आइरहेको छ, त्यो के काममा खर्च भइरहेको छ भन्ने जानकारी परिवारका सवै सदस्यलाई नभएको अवस्था छ । त्यसैले परिवारभित्र यति पैसा विदेशबाट आउँछ, त्यो पैसालाई हामी सवैले मिलेर यो व्यवसाय, यो काम गर्यौं भनें पैसा बढाउन सकिन्छ भन्ने छलफल गर्ने र सोही अनुरुप काम गर्ने हो भनें यसले धेरै राम्रो नतिजा दिनसक्छ । दोश्रो कुरा आफ्नो छरछिमेक, वरिपरी कसरी अरुले आम्दानी बृद्धि हुने काम गरिरहेका छन् त्यसलाई हेरेर पनि आफूले के काम गर्दा विदेशबाट आएको पैसालाई बढाउन सक्छु भनेर ज्ञान हासिल गर्न सकिन्छ । जस्तै कुनै ठाउँमा बाख्रा पाल्न सकिएला, कुनै ठाउँमा माछा हुन सक्छ वा यस्तै अरु केहि । परिपरी अरुले गरिरहेका व्यवसायलाई नै आधार मानेर कुनै न कुनै व्यवसाय सुरु गर्नु आवश्यक छ । तपाईले कुनै न कुनै व्यवसाय, उद्यम गरेर पैसा कमाउने उपाय तयार पार्नु आवश्यक छ भन्ने मेरो सुझाव छ । 

यसका साथै तपाईको नजिकै कुनै सहकारी हुनसक्छ वा बैंक हुन सक्छ । विदेशबाट आएको पैसालाई बचत गर्ने बानीको पनि विकास हुन जरुरी छ । नत्र त्यसरी आएको पैसा सकिन्छ । आफूले कुनै काम गर्ने भएमा त्यस्ता सहकारी वा वित्तिय संस्थाहरुबाट ऋण समेत पाइन्छ । यसले तपाईलाई भविष्यको आम्दानीको बाटो बनाउन, परिवारको आम्दानी बढाउन ठूलो मद्धत गर्दछ । यसले विदेशमा दुःख गरेर कमाई गरिरहेको मान्छेलाई पनि मेरो परिवारले पनि कति धेरै मेहनत गर्दैछ, ठिक ठाउँमा लगानी गरिरहेको छ भन्ने आत्मसन्तुष्टि पैदा हुन्छ ।

प्रश्नः जो व्यक्ति विदेशमा कार्यरत छन्, बचत गर्ने हिसावले उनीहरुको भूमिका चैं कस्तो हुनुपर्दछ ? 

अधिकारीः कतिपय बैदेशिक रोजगारमा रहेका दाजुभाई दिदिबहिनीहरुले साथिभाइहरु बोलाएर रेष्टुराहरुमा गएर धेरै खर्च गर्ने गरेको पाइन्छ । कतिपयले चाहिं अझ धेरै पैसा आउँछ भनेर दुःख गरेर कमाएको पैसालाई चिठ्ठाहरुमा हालेको पनि देखिन्छ । कतिपयले घुमघाम, मोजमस्तीमा खर्च गरेका छन् । यदि तपाई त्यस्तो गर्दै हुनुहुन्छ भनें विचार गर्नुस् तपाईले अहिले गरिरहेको दुःख भविष्यको सुखका लागि हो । त्यसैले सधैं अहिलेजस्तै हुन्न । सधैं कमाउन पनि सकिन्न । अहिले दुःख गर्न सकिरहेकै समयमा भविष्यका बारेमा पनि सोच्न सकेमा भविष्य राम्रो हुन्छ । त्यसैले पैसा हातमा हुँदा जथाभावी खर्च गर्नु हुन्न भनेर सोच्न जरुरी छ । 

प्रश्नः मुलुक संघिय संरचनामा गएको छ । अव स्थानीय तहले बैदेशिक रोजगारबाट आएको रकमलाई सदुपयोग गर्न कस्तो नीति बनाउन जरुरी छ ? 

अधिकारीः नेपालका आधा भन्दा धेरै घरका मान्छेहरु बैदेशिक रोजगारमा गएको तथ्याँक छ । यो अवस्थामा हरेक गाउँपालिका, नगरपालिका, महानगरपालिकाहरुले आफ्नो क्षेत्रका कति मानिसहरु बैदेशिक रोजगारमा गएका छन्, उनीहरु के काम गर्छन भन्ने कुराको अभिलेख अद्यावधिक राख्नु जरुरी छ । दोश्रो कुरा यसरी तथ्याँक राखिसकेपछि को को के के काम गर्छन्, उनीहरुसँग के सीप छ भनेर जानकारी लिन जरुरी छ । यति भएपछि उनीहरुका लागि अभिमुखिकरण तालिमहरु दिएर उनीहरुलाई व्यवसायीक काममा संलग्न गराउन सकिन्छ । जसले व्यवसाय गर्न चाहन्छन् उनीहरुका लागि व्यवसाय गर्ने प्रकृया सजिलो बनाइदिने, पूर्वाधार विकासमा जोड दिने काम स्थानीय तहले गर्नु आवश्यक छ । यसो गर्ने हो भनें बैदेशिक रोजगारमा रहेका व्यक्तिहरु समेत आफ्नै ठाउँमा फर्केर राम्रो आयआर्जन हुने काममा संलग्न हुनसक्छन् भन्ने मलाई लाग्दछ । 

(वित्तिय साक्षरताका विज्ञ अधिकारीसँग सुनिल न्यौपानेले गरेको यो कुराकानी रेडियो कार्यक्रम सुनौलो मौकामा प्रशारण भएको हो । प्रकाशित मिति पुष १९, २०७५)