
रञ्जना लम्साल-
बैदेशिक रोजगार, नेपालमा पछिल्ला केहि बर्षयताको रोजगारीको एउटा मुख्य क्षेत्र हो । संस्थागत र व्यक्तिगत दुवै जोेड्ने हो भनें झण्डै १३ सय युवा श्रम स्वीकृति लिएर दैनिक रुपमा रोजगारीका लागि खाडी मुलुकहरु। मलेसिया र अन्य मुलुकमा जाने गरेका छन् । यद्यपी विगत केहि महिनायता मलेसिया जान बन्देज जस्तै छ ।
खाडी मुलुक र मलेसियामा रोजगारीका लागि जानेमा पुरुषको संख्या ठूलो छ । तर महिलाको संख्या पनि छ । बेरोजगारी, पारिवारिक समस्या, आत्मनिर्भरताको खोजी र नेपालमा रोजगारीको अवसर नहुनाले पनि बैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेको हो ।
न्यून शैक्षिक अवस्थाका महिला घरेलु कामदारका रुपमा विभिन्न देशमा काम गरिरहेका छन् । उनीहरुले गन्तब्य देशमा बिभिन्न किसिमका समस्याहरु पनि व्यहोरिरहेका छन् । अझ भारतीय बाटो हुँदै बैदेशिक रोजगारीमा जाने महिला बढी मात्रामा समस्यामा पर्ने गरेको देखिन्छ । यसरी गएकाहरुको तथ्याँक कतै नहुने गरेका कारण तथा गन्तव्य मुलुकमा पीडितको उद्धार संयन्त्रसम्म पहुँच नहुनाले उनीहरुको समस्या पर्दाभित्रै छ ।
बैदेशिक रोजगार कुनै नेपाली परिवारको गुजाराको माध्यम मात्र होइन, मुलुकको आर्थिक गतिशिलताको कडी पनि हो । मुलुक भित्रिने विप्रेषण(रेमिट्यान्स)को हिस्सामा नेपाली महिलाको पनि योगदान उत्तिकैै छ । बैदेशिक रोजगारीमा स्वयं गएर कमाएर रकम पठाउने महिला हुन् वा श्रीमान बैदेशिक रोजगारमा गएपछि घरपरिवार सञ्चालनमा एकल जिम्मेवारी लिएर होस नेपाली महिलाले उल्लेख्य योगदान गरेका छन् । त्यसैले नेपालको अर्थतन्त्रलाई गतिशिल बनाउन महिला कामदारले खेलेको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन ।
बैदेशिक रोजगारका लागि परिवारको पुरुष सदस्य बाहिरिएपछि घर परिवारको कामको सम्पुर्ण वोझ महिला एक्लैको काँधमा आउँछ । श्रीमान बिदेश हिंडेपछि श्रीमतीमा लाग्ने लान्छना पनि चर्को छ । त्यसका बाबजुत श्रीमान बिदेश हिंडेपछि घर ब्यवहार, परिवारको जिम्मेवारी, बालबच्चाको लालनपालन, शिक्षा स्वास्थ्य लगायतमा सम्पुर्ण जिम्मेवारी महिलाले कुशलतापूर्वक निभाएकै कारण पुरुष सदस्यहरु बाहिर रहेर आर्थिक उपार्जन गर्न सक्षम छन् ।
अर्कोतर्फ बैदेशिक रोजगारीमा गएर कमाएर पठाउने महिलाको योगदान पनि उत्तिकै छ । तर ति महिलाप्रति हेर्ने दृष्टिकोण भनें अझै पनि सकारात्मक बन्न सकिरहेको छैन । उनीहरुले गरिरहेको काम, उनीहरुले घरमा मात्र होईन परिवारमा पुर्याएको योगदानलाई गौण रुपमा हेर्ने गरिएको छ ।
आफ्ना ईच्छा चाहना मारेर परिवार पाल्न जीवनस्तर राम्रो बनाउन श्रीमानलाई बिदेश पठाएका महिलाको होस् वा पुरुष वरावर खाडीका मुलुक र मलेसियामा पसिना बगाउने महिलाको जीवन रक्षा र सुरक्षाको अवस्था होस (सरकारले महिलाको सुरक्षाको लागि भन्दै घरेलु कामका लागि श्रम स्वीकृती बन्द गरिएको अवस्था बाहेक ) यसमा आवश्यक गाम्भीर्यता कतैबाट पनि अझै देखिएको छैन ।
महिलाको सुरक्षाको लागि र उनीहरुको जीवनस्तर उकास्न बिभिन्न तवरका कानून बनिरहेका छन् । तर त्यसको कार्यान्वयनको अवस्था प्रायः शुन्य छ । वैदेशिक रोजगारीका नाममा बेचविखनमा परेका मुद्धा होस वा रोजगारीमा गएर शारिरीक, मानशिक तथा यौन हिंसामा परेका महिलालाई दिने न्याय र पुनस्र्थापनाका कुरामा सरकारको ध्यान जान सकिरहेको छैन जसका कारण बैदेशिक रोजगारीमा गएर शारीरिक तथा मानसिक हिंसामा परेर फर्किएका महिलाहरुले जीवन जीउने आधार क्षिर्ण वन्दै गएको अवस्था छ ।
आज अन्तराष्ट्रिय आप्रवाशन दिवस । माइग्रेसन विथ डिग्नीटी(आत्मसम्मान सहितको बैदेशिक रोजगार) नाराका साथ यो दिवस मनाईरहँदा बैदेशिक रोजगारले महिलामा पारेको प्रभावका बारेमा तथा उनीहरुको हक अधिकारका बारेमा पर्याप्त छलफल हुन जरुरी छ । बैदेशिक रोजगारीकै कारणले महिलाहरुले भोग्नु पर्ने समस्या र महिलाको सहयोगले नेपालमा भित्रिरहेको रेमिटान्सका बिषयमा हामी पनि अब छलफलमा जुट्ने की ?