यसो भएमा मात्र मलेसियासँगको श्रम समझदारी नेपाली श्रमिकलाई फाइदाजनक

अर्जुन काफ्ले-

मलेसियाको रोजगारी भन्ने वित्तिकै धेरैले झट्ट उद्योग, कलकारखानामा श्रमिक हुन वा सेक्यूरीटी गार्डको काम गर्न जाने नेपालीलाई सम्झिन सक्छन् । तर नेपाली श्रमिक भन्दा पनि पहिला सेनाका रुपमा नेपाली त्यहाँ पुगेको इतिहास छ । मलायामा पुगेका ति कतिपय नेपाली उतै घरवार बसाएर गुर्खाजका नामले चिनिएका छन् । पछि मलेसियाको निर्माण कार्यमा र अन्य क्षेत्रमा अवैधानिक रुपमा भएपनि नेपालीहरु पुगेका हुन् । थाइल्याण्ड र सिंगापुरको वाटो हुँदै त्यहाँ अवैधानिक रुपमा पुगेर नेपालीले काम गरेको इतिहास छ । 

पछि सन २००१ मा वैधानिक रुपमा नै मलेसियामा नेपाली श्रमिक पुगेको पाइन्छ । यतिका वर्ष देखि नेपाली त्यहाँ कार्यरत रहेपनि नेपाल र मलेसिया विच पहिलो पटक श्रम समझदारी भएको छ । यो श्रम समझदारी हुनु मलेसियामा कार्यरत रहेका र त्यहाँ काम गर्न चाहने नेपाली श्रमिकका लागि सुखद पक्ष हो ।

मलेसियामा श्रम गर्ने नेपालीलाई त्यहाँका रोजगारदाताले इमान्दार काम गर्ने श्रमिकका रुपमा लिने गरेका छन् । हालै मात्र मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्दले भनेका छन् मलेसियाका नागरीक सजिला काम मात्र गर्न रुचाउने भएकाले नै आप्रवासी श्रमिक मलेसियामा ल्याउनु परेको हो । सोही कारण पनि अवका दिनमा मलेसियामा आप्रवासी श्रमीकका लागि हुने व्यावहार पहिलाको जस्तो हुने छैन । मलेसियाले नेपालसँग श्रम समझदारी गर्नुमा एक कारण नेपाली पक्षधरको अडान हुन सक्छ भने अर्को कारण त्यहाँ भएका श्रमिकको अभाव पनि हो । किनकी प्रधानमन्त्री महाथिर पनि मलेसियामा रहेका स्थानिय श्रमिकको रोजाइ सजिलो काम भएकाले अवका दिनमा आप्रवासी कामदारको भरमा त्यहाँका उद्योग सञ्चालन गर्नु पर्ने त्रासमा छन ।

नेपालबाट मलेसियामा वैधानिक रुपमा रोजगारीका लागि नेपाली कामदार जान थालेको १७ वर्ष पछि मात्र दुई देशबीच श्रम समझदारी भएको छ । यसबीचमा मलेसिया नेपालीको रोजगारीका लागि मुख्य गन्तव्य मुलुक बन्यो । भौगोलिक वनावट, त्यहाँको हावापानी र कामको प्रकृती अनुसार पनि सो देशमा रोजगारीका लागि जाने नेपालीको संख्या धेरै छ । सन् २००१ अघि पनि नेपालीहरु मलेसियामा लुकिछिपी रुपमा रोजगारीका लागी जाने नेपालीको संख्या त थियो तर त्यो संख्या एकदमै कम थियो । यो संख्या कति थियो भन्ने तथ्याङ कसैसँग पनि छैन । पछि दुई देशबीच आपसी सहमती भएर रोजगारीका लागि नेपालीले मलेसियामा जान पाउने प्रावधान भएपछि लाखौको संख्यामा नेपालीहरु मलेसिया पुगेका हुन् ।

अन्य देशको भन्दा काममा सजिलो, हावापानी र रहनसहन नेपालकै जस्तो हुने, त्यो वेला खाडीको भन्दा मुद्रामा पनि उच्च विनियम दरका आधारमा मलेसिया जाने नेपालीको संख्या वढ्यो । नेपालीको आर्कषण त्यहाँको सुरक्षा गार्डमा पनि भयो जुन पछि मलेसिया सरकारले स्थानिय मलेसियाका नागरीक वाहेक नेपालीले मात्र त्यहाँको सेक्युरेटीमा काम गर्न पाउने नियम नै बसायो । यसले पनि नेपाली श्रमिक मलेसियामा लोकप्रिय छन् भन्ने प्रमाण वन्न पुग्यो । 

मलेसियामा रोजगारी गरिरहेका नेपालीले श्रम समझदारी नभएकै कारण समयमा तलव पाउन सकेका थिएनन् । त्यहाँ काम गर्ने नेपाली श्रमिक मध्ये धेरै कम श्रमिकले मात्र समयमै तलव पाउने गरेका थिए । नेपाली मात्र नभएर विभिन्न देशका श्रमिकको साझा समस्या वनेको मलेसियामा सुरक्षाको समस्याले धेरैलाई पिरोलेको छ । मलेसियामा पछिल्लो समय चोरीका घटना बढेका छन जसको मार आप्रवासी श्रमिकलाई नै प्रत्यक्ष परेको छ । त्यो वाहेक श्रमिकले विमा नपाउनु, भने जस्तो काम नपाउनु, विभिन्न प्रकारका शोषण व्यहोर्नुले पनि पछिल्लो समय मलेसिया प्रति नेपाली श्रमिकको वितृष्णा बढेको हो । त्यसमाथी नेपाल र मलेसियाका विचौलिया मिलेर नेपाली श्रमिक माथी आर्थिक भार थपिदिनु पनि थप कारक वनेको थियो । भिएलएन जस्ता श्रमिकका पैसा संकलन गर्ने कार्यक्रमले नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी सकारात्मक भन्दा नकारात्मक भावना धेरै भयो । फलस्वरुप फर्किने बढे तर जाने घटे । यसले विस्तारै मलेसियामा नेपाली श्रमिकको संख्या कम हुदै गयो । यहि बीचमा सरकारले विभिन्न वहानामा नेपाली श्रमिकमाथी थोपरिएको अनावश्यक आर्थिक भार हटाउने उद्धेश्यले सरकारी तवरबाट नै  नेपालले मलेसियामा नेपाली श्रमीक पठाउन वन्द गर्यो ।

यहि परिपे्रक्षमा मलेसियासँग श्रम समझदारी भए पछि सरकारसँग सवैभन्दा धेरै क्रोधित म्यानपावर व्यवसायी भएका छन् । उनीहरुले हाकहाकी रुपमा नै नेपालबाट नेपालीलाई मलेसिया पठाउन आफुहरु असमर्थ भएको भन्न थालेका छन् । त्यसको मतलव अवका दिनमा सरकारले तोकेको शुन्य लागतमा नेपालीलाई मलेसिया पठाउन सकिदैन भन्न खोजेका हुन उनीहरुले । त्यो कार्यमा सरकारले नियन्त्रण अथवा उचित नजर पु¥याउन नसकेमा फेरी पनि म्यानपावर व्यावसायीले नेपालीसँग चर्को रकम अशुल्न सक्नेछन् । शुन्य लागतमा नेपालीलाई मलेसिया पठाउन म्यानपावर व्यवसायीले नसके सरकार आफैले यसमा पहल थाल्नु पर्छ जसले गर्दा पहिला पाईला पिच्छे लुटिने क्रम रोकिनेछ ।

यो श्रम समझदारी कहिलेबाट लागु हुने हो यो अहिलेको सर्वाधिक चासोको विषय हो । यो श्रम समझदारीले हाल मलेसियामा रोजगारी गरिरहेका नेपालीलाई के सम्वोधन गर्छ अर्को चासोको कुरा यो हो । अनी यो समझदारी कार्यान्वयनमा भए पछि पनि कतिको अक्षरश पालना कति हन्छ, त्यो महत्वपूर्ण कुरा हो । यदि श्रम समझदारी विरुद्ध कुनै रोजगारदाताले नेपाली श्रमीकलाई काम लगाए वा आर्थिक शोषण गरे त्यसका लागि नेपाली दुतावासले कस्तो भुमीका खेल्छ त्यसमा पनि नेपाली श्रमीकको आशंका छ । यसअघि मलेसिया स्थीत नेपाली दूतावासले श्रमिकका पक्षमा खास भूमिका खेल्न नसकेको गुनासो छँदैछ ।

मलेसियासँग यतिको समझदारी गरिसके पछि अव नेपाल सरकारले कुटनितीक हिसावमा मलेसियाका जेलमा रहेका नेपालीलाई घर फर्काउने काम पनि गर्नु पर्छ भने अवैधानिक रुपमा रहेका नेपालीलाई घर फर्काउन पहल थाल्नै पर्छ । यसो गर्न सके सरकार नेपाली श्रमिकका पक्षमा थप जिम्मेवार वन्न पुगेको अनुभूति हुनेछ ।

मलेसियामा रहेका नेपालीहरु दोहोरो सुरक्षाको चिन्तामा रहेका छन । यस विषयमा नेपाल सरकारलाई जानकारी नै छैन भन्न चै मिल्दैन । किनकी नेपाली राजदुतले पनि एकपटक यो स्तभकारसन्ग मलेसियामा नेपाली श्रमीकको पहिलो समस्या भनेकै उनीहरुको सुरक्षा हो भनेका थिए । त्यसकारण पनि सुरक्षाका विषयमा नेपाल सरकार जिमेवार हुनै पर्दछ । नेपाली श्रमिक कुनै पनि ठाउँमा लुटिए भने ति श्रमिकका विषयमा त्यहाँको प्रहरी नै उदाशिन बन्छ । यस्तो अवस्थामा मलेसिया सरकारलाई दवाव दिएर भएर पनि श्रमिकको सुरक्षाका विषयमा सरकारले थप काम गर्नुपर्छ । अर्का तिर मलेसियाको प्रहरीले अनावाश्यक दुःख दिएर श्रमिकसँग पैसा अशुल्ने गरेका छन् । यो विषयमा पनि नेपालले मलेसिया माथी दवाव राखेर श्रमिकका पक्षमा काम गर्न पर्ने अवस्था छ ।

मलेसियाको एयरपोर्ट पुगेपछि नेपाली श्रमिकलाई लिन रोजगारदाता ६ घण्टा भित्रै पुग्ने भनिएको छ । तर त्यो ६ घण्टा भित्रै धेरै नेपाली मलेसियाको विमानस्थलमा दुव्र्यहारमा पर्ने गरेका छन् । यस विषयमा पनि चासो दिइनु आवश्यक छ ।

त्यो वाहेक नेपाली श्रमिक मलेसियामा अङ्गभङ्ग भएमा वा मृत्यु भएमा अनेक वखेडा झिकेर उनीहरुको विमा नदिइरहेको अवस्था छ । यस्तो अवस्थाका नेपालीलाई थप सहयोग गर्न नेपाली दुतावास र सरकारले पहल गर्नु पर्दछ । मलेसियाका कतिपय अस्पतालमा विरामी वा नेपालीको शव पनि अलपत्र अवस्थामा छ । विरामी भएका अवैधानिक रुपमा बसेका ति नेपालीलाई समयमै घर फर्काउन पहल थाल्नै पर्छ भने अलपत्र अवस्थामा रहेका नेपालीको शव पनि नेपाल फर्काउन सरकारले पहल थाल्नु पर्छ ।

मलेसियामा नेपालीले वैधानिक रुपमा श्रम गर्न थालेको १७ वर्ष पछि नेपाल सरकार र मलेसिया विच भएको श्रम समझदारीले नेपाली श्रमिकमा एउटा आशाको सञ्चार गराएको छ । तर यसबीच थुप्रै आशंका पनि उत्पन्न भएको छ । सवै किसिमका समस्या समाधान गराएर सुरक्षीत तथा मर्यादित श्रमका लागि नेपालले पहल थाले यो सरकारको सवैभन्दा राम्रो कार्य हुने छ । यसका लागी हामी सवैका तर्फबाट पहल गर्नु जरुरी छ ।

(मलेसियामा रोजगारीसँगै पत्रकारिता समेत गरेर फर्केका काफ्ले हाल नेपालमा छन)

यो पनि पढ्नुहोस् श्रम समझदारी: कति ऐतिहासिक, कति चुनौतिपूर्ण ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: