प्रवासमा नेपाली राजनीति र त्यसले निम्त्याएका समस्या

सन्तोष न्यौपाने-

नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति, बेल्जियम हाल दुई चिरामा विभाजित छ । सीता सापकोटाको अध्यक्षतामा रहेको कार्यसमितिको कार्यकाल ६ महिना बाँकी हुँदै महामन्त्री सुभाष गुरुङले समिति फुटाएर अर्को समिति गठन गरे । अहिले यि दुई बीचको राजनीतिक खिचातानीले बेल्जियममा नेपाली काँग्रेस निकटको राजनीति तताएको छ ।

एकवर्ष अघि एनआरएन, बेल्जियमको निर्वाचनमा लोक दाहालले चुनाव जिते । उनको प्यानलमा तत्कालिन माओवादी केन्द्र, नेकपा माओवादी(विप्लव), राप्रपा र जनजाति संगठनका बेल्जियममा रहेका भातृ संगठनहरुका तर्फबाट प्रतिनिधित्व मिलाइएको थियो । उनको एक बर्षे कार्यकाल पुरा भएको छ । यतिबेला आएर उनी एनआरएन, बेल्जियममा राजनीति हावी नभएको भन्दै बचाउ गरिरहेका छन् ।

अर्को उदाहरण, केही समय अघि माओवादी केन्द्र निकटको जनप्रगतिशील मञ्च आवद्धहरुको आपसी द्वन्द चरम थियो । बेल्जियमको ओगोको तातो नेपाल समेत पुगेर प्रचण्डसम्म पुगेपनि त्यो समस्या अझै सुल्झिएको छैन । लेनदेनको सो झगडा नेपाल र त्यो पनि मुख्य नेतासम्म पुग्नुले यहाँको राजनीतिक पहुँचलाई प्रष्ट्याउँछ । नेपालमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकरण हुनु अघि बेल्जियममा ति दुई दल आवद्ध प्रवासका संगठनबीचको तित्तता र प्रतिस्पर्धा पनि स्मरणयोग्य छ ।

यी उदाहरणले बेल्जियममा हुनेगरेको नेपाली राजनीति र त्यसले निम्त्याउने तित्ततालाई केही हदसम्म देखाउँछ । एनआरएन देखि अन्य सामाजिक संघसंस्थामा नयाँ कार्यसमिति छानिदा केही अपवाद बाहेक अधिकाँसमा राजनीतिक भागवण्डा वा दलिय प्रतिस्पर्धा हुने गरेको छ । नेपालबाट नेता वा सेलिब्रेटी निम्तामा समेत राजनीतिक रुपमा हानाथाप हुने गरेको छ । यहाँ आउने नेताको स्वागतार्थ जानेहरुले विमानस्थलमै दलको झण्डा फहराउने गरेका छन् ।

युरोपियन देश बेल्जियम मात्रै होइन नेपाली बसोबास गर्ने अधिकाँस देशहरूमा नेपाली राजनीतिक पार्टीका भातृ संगठनहरु खोलिएका छन् जसलाई अन्यथा ठान्नु आवश्यक छैन । तर यसको प्राविधिक कठिनाई पनि सँगसँगै छ । बेल्जियममा यी सबै संस्था सामाजिक संस्थाको रुपमा दर्ता भएका छन् । दर्ता हुँदा सामाजिक कार्य गर्ने भनेर दर्ता गरिएको हुन्छ तर सामाजिक कार्य गर्ने न्यून र नेपालको दूषित राजनीति गर्ने बढी देखिएको छ । यहाँको राजनीतिक प्रणाली सिक्ने विकासको थालनी कुनै पनि भातृ संगठनले गरेको देखिन्न । केही बाहेक धेरैको यहाँका कुनै राजनैतिक दलसँग नै सरोकार छैन । न त अन्तरकृया नै हुने गर्दछ ।

बेल्जियममा लगभग ७ देखि ८ हजार नेपाली बसोबास गर्दछन् । एउटै व्यक्ति दुई तीन संस्थामा पदिय जिम्मेवारी बहन गर्दछन् । तर यसले यहाँको नेपाली समाजलाई भनें खासै उपलव्धी देखिएको छैन । यो राजनीति केवल नेपालबाट विदेश घुम्न आउने नेताहरु, पार्टीलाई तिर्ने लेवी,चुनावको बेला आर्थिक सहयोग बाहेक अरू केही छैन । भविष्यमा प्रवासमा बस्ने नेपालीहरुले मत हाल्ने अधिकारको ब्यबस्था नेपाल सरकारले गर्यो भने विदेशी भूमिमा नेपाली राजनीतिको सार्थकता देखिन्छ ।

विदेशमा बस्ने नेपालीहरुले गर्ने नेपाली राजनीतिलाई सकारात्मक तरिकाले उपयोग गर्न सके नेपाल समृद्ध बनाउन सहयोग पुग्ने देखिन्छ । यी भातृ संगठनहरुले आफ्ना नेताहरुलाई आफू बसेको देशका प्रमुख सहरको विकास देखाइदिने र सोही अनुरूप स्वदेशमा विकासको लागि जोड दिनु पर्दछ । आफूले यहाँ काम गर्दा लागू गरिएको सिस्टम नेपाल लगाउन जोड दिनुपर्दछ ताकि घुम्यो फोटो खिचेर सामाजिक सञ्जाल रंग्याउने काम गर्ने कम होस् ।

धेरै नेपाली देश बनेन भन्छौ । तर नेताहरु आउँदा उनकै पछि लागेर हिंड्छौं । विमानस्थलमा खादा लगाएर स्वागत गनै तँछाडमँछाड गर्दछौं । तर त्यही विमानस्थल जस्तो स्वदेशको विमानस्थल बनाउन आफ्ना नेतालाई सुझाव दिन सक्दैनौं । युरोपका हाइवेमा सरर महंगा कारमा ति नेतालाई घुमाउँछौं मक्ख पर्छौं तर त्यस्तै बाटो स्वदेशमा छिटो निर्माण गर्न कसैले पनि दबाब दिन सक्दैनौं किनकि नेपालमा गरिने राजनीति भन्दा कम छैन युरोपमा गरिने नेपाली राजनीति, जुन निकै लज्जास्पद देखिन्छ ।

नेपाल सरकारले खडा गरेको कुटनीतिक नियोगका कर्मचारी यिनै भातृ संगठनका कार्यकर्तासँग डराउँछन् । अलिकति तलमाथि हुँदा बित्तिकै लचिलो बनिहाल्छन् किनकि त्यही राजनीतिक भिटो प्रयोग गरेर नेपालमा मन्त्री बनेका आफ्ना दलका नेता समक्ष हामी दबाब दिन्छौं । यही कारणले पनि  कुटनीतिक नियोगका कर्मचारीहरु भातृ संगठन प्रति चाहिने भन्दा बढी लचिलो छन् ।

विदेशमा गरिने नेपाली राजनीतिलाई फाइदामुलक कार्यमा प्रयोग गर्न सक्नुपर्दछ । नेपालका नेताहरुको इशारामा प्रवासका नेपालीहरु चल्नु हुँदैन । विदेशमा जसले पनि संघर्ष गरेर नै सफलता प्राप्त गरेको हुन्छ । त्यसमा नेपाली नेता, राजनीतिको कुनै हात हुँदैन । परिश्रम नगरी फल मिल्दैन । सबै नेपाली आफ्नो परिश्रममा बाँच्ने हो, रमाउने हो । सबैले यो बुझेकै हुन्छन् । तर यही दूषित राजनीतिको कारण समाजमा भाँडभैलो भइराखेको छ । व्यक्ति व्यक्ति बीचको टकराव जारी छ । आखिर किन ? के नेपालका नेताहरु आएर तपाईहरुको आन्तरिक टकराव सुल्झ्याउछन् ? पक्का पनि गर्दैनन् ।

तसर्थ प्रवासमा गरिने नेपाली राजनीतिलाई सही रूपमा प्रयोग गरेर नेपाल देश र प्रवासमा बस्ने नेपालीको हितको लागि प्रयोग गरौं जसले गर्दा सबै प्रति सबैको सम्मान बढ्दछ ।

(बेल्जियममा बसोवास गर्ने न्यौपाने पत्रकारितामा सक्रिय छन्)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: