
काठमाडौँ, असार २३—
खार्मी–८, खोटाङका सुदीप तामाङलाई बिनालाइसेन्स १० चक्के ट्रेलर जबर्जस्ती चलाउन लगाइयो । गोरखा नेपाल म्यानपावरलाई एक लाख १० हजार रुपैयाँ शुल्क तिरेर २९ वैशाख २०७२ मा उनी साउद मुस अल हिदाइरस सिओ पाटनरसिप कम्पनीमा चालक काम गर्न गएका थिए । नेपालमा ट्रक चलाएका तामाङलाई १० चक्के ट्रेलर चलाउन लगाइयो ।
तर, उनलाई साउदीको लाइसेन्स दिइएको थिएन । ‘बिनालाइसेन्स गाडी चलाउदिनँ भनेर अडान लिएँ । साहुको अगाडि हामीजस्तो लेबरको केही चलेन,’ उनले भने, ‘केही परे कम्पनीले जिम्मा लिन्छु भन्ने सर्तमा गाडी चलाउन बाध्य पारियो ।’
११ महिना त जसोतसो चलिरहेको थियो । एक दिन ट्रेलर साइड लिन खोजिरहेका बेला पछाडिबाट हुइँकिएर आएको सानो कार ट्रेलरमुनि छिर्यो । दुई जना पाकिस्तानीको ज्यान गयो । एक जनाको अंगभंग भयो । २२ महिना केन्द्रीय कारागार बसेका तामाङलाई ४ लाख रियाल ९झन्डै एक करोड २० लाख रुपैयाँ० ब्लडमनि दिनुपर्ने फैसला सुनाइयो । अब उनी यो रकम तिरेपछि मात्रै साउदीबाट स्वदेश आउन पाउँछन् । ‘हामीजस्तो सामान्य कामदारलाई बिनालाइसेन्स गाडी कुदाउन बाध्य बनाउने साहु जिम्मेवारीबाट पन्छिदिए । कानुनी रूपमा आफू दोषी हुनुपर्यो,’ उनले भने ।
रियादस्थित नेपाली दूतावास र जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार बिनालाइसेन्स सवारी चलाउनुपर्ने बाध्यता निकै गम्भीर बन्दै गइरहेको छ । ‘धेरैजसो नेपाली ड्राइभरको लाइसेन्स नै भएन भन्ने गुनासो आउँछ,’ नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्मा भन्छन् ।
साउदीमा लाइसेन्स पाउने प्रक्रिया लामो र कठिन छ । डलाल ड्राइभिङ स्कुलका अनुसार कम्प्युटरबाट दिइने परीक्षामा उत्तीर्ण भएपछि मात्रै सडकमा परीक्षा सुरु हुन्छ । त्यसका लागि तीन पटकसम्म मौका दिइनेछ । सिक्ने शुल्कबाहेक मात्रै ५९० रियाल खर्च हुन्छ । जुन खर्चिलो पनि छ ।
‘रोजगारदातालाई कामदार आएको भोलिपल्टदेखि नै काममा लगाउन चाहन्छ । लाइसेन्स लिन कम्तीमा ३ महिना लाग्छ,’ गैरआवासीय नेपाली संघ साउदीका अध्यक्ष नारायण पासवान भन्छन्, ‘उनीहरू त्यति लामो समय पर्खन सक्तैनन् ।’ यो समाचार कान्तिपुरमा होम कार्कीले लेखेका हुन् ।