अरनिको र मदनहरु

 

आज पनि हजारौ अरनिकोहरु

खाडीका तातो बालुवामा

आफ्नो पसिना मिसाउदै

उठाई रहेछन गगन चुम्बी भवनहरु ।

आफ्नी प्यारी मुनालाई

सुनै सुनले सजाउने सपना बोक्दै

आज पनि ठुलो जहाज चढि रहेछन हजारौ मदनहरु ।

खै कहिले रोकिएला

काठमाडौंको खाल्डोमा बसेर

अरनिकोका गौरव गाथा र

मदनका हृदय विदारक कथाहरु

लेखि रहने यो अविरल चक्र ।

 

परिवर्तन हुन्छ भन्थे

हो ठुलै परिवर्तन भएको छ ।

हिजो अरनिको र मदनका आमाहरु

बिदाईमै भक्कानो छुटाएर रुन्थे

मन हलुंगो बनाउथे ।

आज हाँसि हाँसी बिदाई गर्छन् 

मुस्कुराई रहन्छन् भिड भाडमा 

तर एकान्त खोज्दै तडपि रहेछन् निर्धक्क रुनलाई ।

 

दशैको टिका निधारमा टाँस्दै

भाग्यमानी भएस् छोरा भनेर

शिरमा हात नराखेको बर्षौ भएछ ।

आफैले बनाएको दाल भात 

स्वराप स्वराप पार्दै छोराले खाएको त्यो आवाज

सपना हो की झै लाग्दो रहेछ ।

त्यही आवाज सम्झदै आनन्दले निदाउने आमालाई

अचेल खासै निद्रा पर्दैन ।

खान लाउन केही दुःख छैन ।

सबै छोराले पुर्याएकै छ ।

 

तर पनि बारीको डिलमा बसेर

टोलाई रहन्छीन गोधुली साँझमा ।

कहिले डुब्दै गरेको घाम हेर्दै

आफ्नो उमेर सम्झीन्छीन

कहिले दोबाटो हेर्दै छोरा सम्झीन्छीन । ।

 

सिन्धुपाल्चोकका अरनिको दाजुले

साउदीमा आएको तीनै बर्षमा 

साहुका लागि हेर्दा टोपि खस्ने घर बनाउनु भो ।

भुकम्पले ढालेको एक तले आफ्ने घर अझै उठेको छैन ।

 

बर्षौ देखि सुनको गाडीमा चढ्ने

शेखलाई सुरक्षा दिदै आएका चितवनका मदनदाई

आफ्नै घर छेउमा आठ बर्षकी छोरी बलात्कृत भएको समाचार पढेर अचेत हुनु हुन्छ । 

 

कहिले काही एक्लै भएको बेला

बाथरुममा छिर्छु

एक तमासले एैनामा आफनै प्रतिविम्ब हेर्छु

सोध्छु आफैसँग

ए मदन कहिलेसम्म भौतारिन्छ सपना खोज्दै यो दलदलमा ?

ए अरनिको कहिलेसम्म पसिना चुहाउछस यो बालुवामा

आफ्नी आमालाई घरमा राखेर तलतलमा ।

– मोहन बस्याल, हाल युएई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय