
आज पनि हजारौ अरनिकोहरु
खाडीका तातो बालुवामा
आफ्नो पसिना मिसाउदै
उठाई रहेछन गगन चुम्बी भवनहरु ।
आफ्नी प्यारी मुनालाई
सुनै सुनले सजाउने सपना बोक्दै
आज पनि ठुलो जहाज चढि रहेछन हजारौ मदनहरु ।
खै कहिले रोकिएला
काठमाडौंको खाल्डोमा बसेर
अरनिकोका गौरव गाथा र
मदनका हृदय विदारक कथाहरु
लेखि रहने यो अविरल चक्र ।
परिवर्तन हुन्छ भन्थे
हो ठुलै परिवर्तन भएको छ ।
हिजो अरनिको र मदनका आमाहरु
बिदाईमै भक्कानो छुटाएर रुन्थे
मन हलुंगो बनाउथे ।
आज हाँसि हाँसी बिदाई गर्छन्
मुस्कुराई रहन्छन् भिड भाडमा
तर एकान्त खोज्दै तडपि रहेछन् निर्धक्क रुनलाई ।
दशैको टिका निधारमा टाँस्दै
भाग्यमानी भएस् छोरा भनेर
शिरमा हात नराखेको बर्षौ भएछ ।
आफैले बनाएको दाल भात
स्वराप स्वराप पार्दै छोराले खाएको त्यो आवाज
सपना हो की झै लाग्दो रहेछ ।
त्यही आवाज सम्झदै आनन्दले निदाउने आमालाई
अचेल खासै निद्रा पर्दैन ।
खान लाउन केही दुःख छैन ।
सबै छोराले पुर्याएकै छ ।
तर पनि बारीको डिलमा बसेर
टोलाई रहन्छीन गोधुली साँझमा ।
कहिले डुब्दै गरेको घाम हेर्दै
आफ्नो उमेर सम्झीन्छीन
कहिले दोबाटो हेर्दै छोरा सम्झीन्छीन । ।
सिन्धुपाल्चोकका अरनिको दाजुले
साउदीमा आएको तीनै बर्षमा
साहुका लागि हेर्दा टोपि खस्ने घर बनाउनु भो ।
भुकम्पले ढालेको एक तले आफ्ने घर अझै उठेको छैन ।
बर्षौ देखि सुनको गाडीमा चढ्ने
शेखलाई सुरक्षा दिदै आएका चितवनका मदनदाई
आफ्नै घर छेउमा आठ बर्षकी छोरी बलात्कृत भएको समाचार पढेर अचेत हुनु हुन्छ ।
कहिले काही एक्लै भएको बेला
बाथरुममा छिर्छु
एक तमासले एैनामा आफनै प्रतिविम्ब हेर्छु
सोध्छु आफैसँग
ए मदन कहिलेसम्म भौतारिन्छ सपना खोज्दै यो दलदलमा ?
ए अरनिको कहिलेसम्म पसिना चुहाउछस यो बालुवामा
आफ्नी आमालाई घरमा राखेर तलतलमा ।
– मोहन बस्याल, हाल युएई