बैदेशिक रोजगारको एउटा क्रुर पाटोः जव मानवियता भन्दा पैसा ठूलो भइदिन्छ

सीता पन्थ भण्डारी-

नेपालबाट रोजगारीको खोजिमा विदेशिने युवाहरुको संख्या ठूलो छ । मुलुकमा व्याप्त बेरोजगारी तथा आफ्नो आर्थिक समस्या समाधान गर्न यसरी बिदेशिने युवाहरु आफ्नो र परिवारको सुन्दर भविष्यको सपना बोकेर वैदेशिक रोजगारीमा जाने गर्दछन् ।

तर वैदेशिक रोजगारीमा गएका सबैको सपना साकार हुन्छ भन्ने हुन्न । रोजगारीको शिलशिलामा गाह्रोसाह्रो भन्न नपाउने तथा असुरक्षित कडा शारिरिक परिश्रमले दैनिक विदेशमा ज्यान गुमाउन पुग्ने कामदारको संंख्या पनि ठूलो छ । त्रिभुवन विमानस्थलमा दैनिक आइपुग्ने सरदर ३ वटा लास तिनै सपनाहरु कफिनमा बन्द भएर आइपुग्ने हुन् । यसले निम्त्याएको सामाजिक मूल्य चर्को र पिडादायी छ ।

कमाउने उमेरको परिवारको सदस्य र कतिपय अवस्थामा त एकमात्र कमाईने उमेरको व्यक्तिको मृत्युको खवरले परिवारमा ठूलो बज्रपात पर्नजानुको साथै उसमा आश्रित परिवार गम्भिर आर्थिक संकटमा पदर्न जान्छ । यसले नेपालमा रहने परिवारका सदस्यमा आर्थिक समस्याको भार थपिन्छ र कतिपय अवस्थामा यो पारिवारिक विखण्डनको कारण पनि बन्ने गरेको छ । कुनै व्यक्तिको विदेशमा मृत्यु पश्चात परिवारले प्राप्त गर्ने क्षतिपुर्ति रकमको हकदार को हो भन्ने विषयलाई परिवारका सदस्यले सहज रुपमा स्वीकार नगर्दा मृतकको श्रीमति, आमा बुवा र अन्य सदस्य बिच मनमुटाव पैदा हुने गरेको पाइएको छ ।

नेपालको कानुनले कुनै व्यक्ति बैदेशिक रोजगारमा गएर मृत्यु भएको अवस्थामा मृतक बिवाहित भएको खण्डमा हकदार उसको श्रीमतिलाई तथा मृतक अविवाहित भएको खण्डमा उसको आमाबुवालाई हकदार मान्दछ । तर विवाहित कुनै व्यक्तिको मृत्यु भएमा परिवारले मृतकको श्रीमतिलाई अन्यत्र परिवारिक सम्बन्ध बढाउने भन्ने गलत आक्षेप लगाई क्षतिपूर्ति तथा बिमाको रकम लिन परिवारले नै समस्या पारेका कयौं घटनाहरु छन । विवाह पश्चात नागरिता नबनाउँदा तथा विवाह दर्ता नगर्दा पनि कयौं महिलाहरुले वैदेशिक रोजगारिमा गएको श्रीमानको मृत्यु भएपछि क्षतिपूर्ति रकम प्राप्त गर्ने अधिकार हुँदाहुँदै पनि त्यस्ता महिलालाई परिवारबाट अनाहकमा घरनिकाला, मानशिक यातना दिने, क्षतिपूर्ति रकम प्राप्त गर्न आवश्यक पर्ने कागजपत्रहरु जफत गर्ने, नागरिता नबनाईदिने गरिएको पाइन्छ । यसमा कतिपय अवस्थामा स्थानीय प्रशासनको व्यवहारले पनि घाउमा नुनचुक छर्किने गरेको छ । जुन तस्वीर हामी स्वयं पीडित व्यक्तिको ठाउँमा बसेर हेर्ने हो भनें छर्लङ्ग देखिन्छ ।

वैदेशिक रोजगारीमा गएको श्रीमानको अकालमा मृत्यु हुनु, सो पश्चात पारिवारिक जिम्मेवारी बढ्नु साथै सामाजिक तथा आर्थिक व्यवहारले कम उमेरमै एकल बन्न पुगेका कयौं महिलाहरुलाई वैदेशिक रोजगारको सपनाले कहिल्लै नमेटिने गहिरो घाउ छोडेको छ । केहि घटना हेरौं । धनुषाकी एक किशोरीको १४ वर्षको उमेरमा नै विवाह भयो । उनी १८ वर्ष पुग्दा नै उनका श्रीमानको विदेशमा मृत्यु भयो । उनी एकल भइन् । सासु, सुसुराको व्यवहारले घरमा बस्न सकिनन् र माईतिको शरणमा पगिन् । त्यहाँ उनी केही सुरक्षित त भइन् तर न त उनी श्रीमान्को दाहसंस्कारमा सरिक हुन पाइन् न त श्रीमानको मृत्यु पश्चात पाउने क्षतिपूर्ति रकम प्राप्त गर्न आवश्यक कागजपत्र नै परिवारले दिएको छ । यसले चर्को मानसिक तनावमा छिन् उनी । बाँकी भविष्यको आर्थिक समस्या त बाँकी नै छ उनीसामु । 

रुपन्देहीकी सरिता (नाम परिवर्तित) श्रीमान राम बहादुरको विदेशमा मृत्यु पश्चात परिवारले दिएको यातना सहन नसकेर घर छोड्न बाध्य बनाइएकी छिन् । उनलाई घर मात्र निकाला गरिएन, नाबालक छोरोलाई समेत परिवारले खोसेर राख्यो । उनले आफ्नो नागरिता बनाउन अनुरोध गर्दा अन्यत्रै जान्छे भन्दै नागरिता नबनाइदिने मात्र होइन विदेशबाट शवका साथमा आएको कागजपत्र समेत परिवारले जफत गरिदिएका कारण उनले श्रीमानको मृत्युपश्चात प्राप्त हुने क्षतिपूर्तिका लागि समेत भौंतारिनु परिरहेको छ ।

यी हाम्रो समाजका प्रतिनिधि उदाहरण हुन् जसले जीवनसाथि गुमाउँदाको अवस्थामा समेत विहे गरेर आएको घरमा कुनस्तरको हिंसामा महिला परिरहेका छन् भन्ने प्रष्ट पार्दछ । सभ्य समाजमा यो स्तरको व्यवहार सायद कल्पना पनि गरिन्न होला । तर श्रीमान गुमाएको अवस्थामा समेत निकृष्ट व्यवहारको शिकार भएर धेरै महिला बाँच्न विवश छन् । श्रीमानको मृत्युपछि परिवारले साथ दिनुपर्नेमा उल्टै रकमको लोभमा गरिने यस्ता व्यवहारको जतिसुकै आलोचना गरेपनि कम नै हुन्छ ।

बर्षमा झण्डै ५ लाख नेपाली श्रमका लागि बाहिरिने गरेको अवस्थामा बर्षमा झण्डै १ हजार व्यक्तिे यसरी नै विदेशमा ज्यान गुमाईरहेका छन् । हुन त धेरै परिवारमा क्षतिपूर्ति रकमका लागि यो स्तरको व्यवहार हुन्न । तर ति १ हजार परिवार मध्ये १० वटा परिवारमा नै किन नहोस्, यसरी बुहारीलाई गर्न खोजिने अन्यायको अन्त्य हुनु पर्दछ । यसमा देखिएको एउटा समस्या भनेको मृतकको श्रीमतिको नागरिकता र  विवाह दर्ता नहुने वा मृतकको साथमा आएको कागजपत्र परिवारले खोसेर राख्ने समस्या मुख्य चुनौति हो । आफ्नोे ठाउँमा यस्तो घटना हुन नदिन र भइहालेमा पीडितलाई थप पीडामा नपारी उनलाई न्याय दिलाउन स्थानीय तहका निर्वाचित प्रतिनिधि र स्थानीय हरेक सचेत नागरिकले प्रभावकारी भूमिका खेल्न जरुरी छ । 

यो पनि पढ्नुहोस विदेश पठाउने भनेर रकम उठाउँदै, काठमाडौं घुमाउँदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: