विदेश जाने नाममा कतै तपाई पनि यसरी नै आफ्नै खुट्टामा बन्चरो त हान्दै हुनुहुन्न ?

  

सीता पन्थ भण्डारी-

विकासका ठूला काम राजनितिक अस्थिरताले कागजमा सीमित हुँदा व्याप्त बेरोजगारीको समस्याले हरेक दिन झण्डै १६ सय  युवा वैदेशिक रोजगारमा गइरहेका छन् । यो त सरकारी तथ्याङ्क हो । अवैधानिक रुपमा अन्य मुलुकको बाटो प्रयोग गरेर जानेहरुको तथ्याङ्क उपलव्ध हुन्न । तर यो संख्या पनि उल्लेख्य छ ।

मुख्यगरी भारतको बाटो प्रयोग गरेर वैदेशिक रोजगारमा जाने नेपालीहरुमा प्रायः महिला हुने गरेका छन् जसले गन्तव्य मुलुकमा पुगेपछि घरेलु काम पाउँछन् जसले प्राप्त गर्ने पारिश्रमिक निक्कै थोरै हुन्छ । भारतको बाटो प्रयोग गरि जाने महिला कामदारहरु विदेश जाने शिलशिलामा र गएपछि विभिन्न सम्मस्यामा पर्ने र उद्धार गर्ने कार्य धेरै चुनौतिपूर्ण हुन्छ ।

सरकारले बन्देज लगाएको हुँदा हाल वैदेशिक रोजगार व्यवसायीहरुले संस्थागत रुपमा विदेश नपठाएता पनि दलालहरुले विभिन्न प्रलोभन देखाएर भारतको बाटो हुँदै नेपाली महिलालाई विदेश पठाइरहेका छन् । यसरी विदेशिएका महिला कामदारहरुलाई अन्य मुलुकको बाटो प्रयोग गरि जान सहयोग गर्ने व्यक्ति वा एजेन्ट आफ्नै नजिकको मान्छे हूने भएकोले कानुनी उपचार वा मुद्धा मामिला गर्दा समाजमा पुनः स्थापना हुन नसक्ने, बस्न सक्ने अवस्था नहुने, केहि सहयोग नपाइने तथा अन्य लाञ्छना लगाउने गरिएको छ । यहि डरले पनि तथा कानुनी उपचारको लागि  पर्याप्त प्रमाण नहुँदा र सजाय हुन्छ भन्ने जानकारी नहुँदा पिडितले कानुनी रुपमा न्याय खोज्ने गरेका छैनन् । यसले दलालहरुको मनोवल बढाइरहेको छ ।

भारतको बाटो जानु हुन्न भन्ने जानकारी हुँदा पनि धेरैजसो भनें बेरोजगारीका कारण जस्तोसुकै जोखिम मोलेर पनि बैदेशिक रोजगारमा अन्य बाटो प्रयोग गरेर जाने गरेका छन् । यसरी पठाइने महिलाहरु मुख्य गरी युएई, ओमन, कुवेत लगायतका मुलुकमा पुर्याइने गरिन्छन् । ति देशमा पुगेपछि केही दिन त्यहाँको कार्यालयमा राखेर सप्लाई कम्पनी वा रिक्रुटमेन्ट कम्पनी मार्फत घरेलु कामदारको रुपमा विभिन्न रोजगारदातहरुलार्ई हस्तान्तरण गर्ने गरिन्छ ।  यो क्रममा ठूलो रकमको लेनदेन हुन भएका कारण रोजगारदाताले  त्यस्ता महिला आफूले किनेको व्यक्ति ठान्दछन् र व्यवहार पनि सोही अनुरुपको हुने गर्दछ । घरेलु कामदारको रुपमा काम गनुपर्ने र निरन्तर बिना आराम काम गर्नुपर्ने हँुदा यसरी काम गर्न नसक्दा  घरमालिक वा रोजगारदातलाई काम र काम गर्ने शैली चित्त नबुझेमा रोजगारदाताबाट यातना पाउनुको साथै पुन सप्लाई कम्पनीमा फिर्ता पठाउने गरिन्छ । यसरी फित्र्ता आएका महिलाहरु शारिरिक यातना र मानसिक यातनाका शिकार हुने गरेको देखिएको छ ।

बिरामी परेर वा काम गाह्रो भएर नेपाल फिर्ता जाने कुरा गरेमा किनेर ल्याएको शुल्क चुक्ता गर्नुपर्ने वा रिप्लेसमेन्ट (सट्टा) मा कामदार उपलब्ध गराउने सर्तहरु राख्ने गरिएको देखिएको छ । विदेश पठाउने दलालहरु पहिले पठाउन जति सक्रियता देखाउँछन पछि समस्या आएपछि उद्दार गर्ने बेला सम्पर्कविहिन हुने मात्र नभई असहयोग नै गर्दछन् । यसले समस्यामा परेको व्यक्तिको उद्धारमा अझ धेरै कठिनाई उत्पन्न हुने गर्दछ ।

कामदारलाई आफु बसेको स्थानको जानकारी तथा दूतावासको टेलिफोन सम्पर्क नम्वर, इमेल तथा ठेगानको जानकारी समेत नहुँदा यातना, गाह्रो काम, स्वास्थ्य अवस्था ठिक नभएता पनि काम गर्न बाध्य हुन्छन वा सप्लाई कम्पनीमा पुनः पठाई यातना भोग्न नेपाली महिला घरेलु कामदारहरु वाध्य छन् । जसोतसो जोखिम मोलेर दूताबासमा पुगेता पनि घर मालिकले चोरि वा अन्य आरोप लगाउँदा सहज रुपमा नेपाल फिर्ता हुन गाह्रो छ ।  त्यसरी कठिन प्रकृया मार्फत  नेपाल फर्काइएकाहरु क्तिपय अवस्थामा पुनः सोहि दलाल मार्फत अन्य मुलुक जान तम्तयार हुँदा यसले न्याय दिलाउन गाह्रो हुने र दलालको मनोवल बढ्ने गरेको छ ।

एकातिर यो समस्या छँदैछ, अर्कातिर मानव तस्कर विरुद्ध न्यायिक लडाईमा उत्रनेहरुले अझ धेरै हण्डर खेप्नुपरिरहेको यथार्थ हो । आफ्नो सम्वन्धित जिल्लामा कानूनी सहयोग पाउने पीडितको संख्या निक्कै कम छन् । जिल्लामा मुद्धा हाल्न जाँदा वैदेशिक रोजगारको मुद्धा भनि फिर्ता पठाईनु र वैदेशिक रोजगार विभागमा मुद्धाको लागि पर्याप्त प्रमाण नभएकोले मुद्धा दायर गर्न नै समस्या हुनु हाल देखिएको ज्वलन्त समस्या हो ।

त्यसैले कानूनी व्यवस्था बलियो बनाउनु र पीडितलाई न्याय दिलाउन आआफ्नो क्षेत्रबाट बलियो पहल गर्नु त छँदैछ, वैदेशिक रोजगारमा जानु पुर्व आफ्नो सुरक्षाका सवालमा आफैं सजग हुनु पहिलो आवश्यकता हो । यति हुन सकेमा आफ्नो वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन सकिन्छ । हो, स्वदेशमा रोजगारीका अवशर पर्याप्त छैनन् होला वा हामीले रोजगारीका अवशर चिन्न सकेका छैनौं होला तर बैदेशिक रोजगारमा आँखा चिम्लेर दलालको भरमा परेर दौडिनु भनेको आफ्नो खुटटामा आफैंले बन्चरो हान्नु जस्तै हो । सजग रहौं ।

यो पनि पढ्नुहोस् ३ बर्षदेखि बेपत्ता भएको गणेशको खोजिका लागि आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: