बैदेशिक रोजगारीमा मानव बेचबिखन तथा मानव तस्करी

कृष्णशोभा सुवाल

नेपालमा व्याप्त बेरोजगारी र राजनीतिक अस्थिरताका कारण सिर्जित आर्थिक अस्थिरताका कारण दैनिक रुपमा १५ सय भन्दा बढी व्यक्तिहरु वैदेशिक रोजगारीका लागि विभिन्न गन्तव्य मुलुकमा गइरहेका छन्। जहाँ वैदेशिक रोजगारीमा जाने यी व्यक्तिहरु आफ्ना सुनौला भविष्य पूर्ण हुने अभिलाषामा रहेका हुन्छन्, त्यहीँ अनगिन्ति समस्याहरुले यी व्यक्तिहरुलाई घेरिरहेका हुन्छन्। यसका बाबजुद पनि कोही कानूनी उपचारको बारेमा अज्ञान रहेर समस्याको उचित समाधान गर्न पाउँदैनन् भने केहि भने सामाजिक मान, सम्मान र प्रतिष्ठाका कारण यी समस्याहरु जाहेर गर्न सक्दैनन्।

यस्तै अनगिन्ति समस्याहरु मध्येको एक हो मानव बेचबिखन तथा मानव तस्करी। तर वैदेशिक रोजगारीमा जाने वा गएका धेरै कम व्यक्तिहरुले मात्र आफू बेचबिखनको शिकार भएको जानकारी पाउँछन् र कानूनी उपचारको लागि अदालतको ढोका ढक्ढक्याउँछन् । मानव बेचबिखन तथा दासत्वको अन्तर्राष्ट्रिय सन्धी अनुसार मानव बेचबिखन हुनको लागि कुनैपनि व्यक्तिलाई छली, झुक्यानमा पारी, गैरकानूनी प्रभावमा पारी गैरकानूनी तरिकाले रोजगारीको अवसर प्रदान गरी शोषण तथा आफ्नो नियन्त्रणमा लिई गैरकानूनी तरिकाले ओसारपसार गरेको वा सरुवा गरेको हुनुपर्छ भन्ने देखिन्छ।

नेपालबाट वैदेशिक रोजगारीको सन्दर्भमा हुने कार्यविधिगत प्रकृयाहरुलाई केलाएर हेर्ने हो भने रोजगारदाता कम्पनी तथा एजेन्टले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई गैरकानूनी प्रभावमा पारी सोचेभन्दा धेरै तलब तथा सुविधाको आश्वासन देखाएर वैंदेशिक रोजगारीमा पठाएका हुन्छन्। कतै यी व्यक्तिहरुका पासपोर्ट आफ्नो नियन्त्रणमा लिने र वैदेशिक रोजगारीमा नजाने भनी भनेका कामदारहरुको पासपोर्ट जफत गर्ने धम्की दिएका कारणबाट समेत यस्ता व्यक्तिहरु मानव बेचबिखनको शिकार भइरहेका छन्। महिलाको परिवेशमा हेर्ने हो भने सुसारे भनी वैदेशिक रोजगारीमा जाने यस्ता धेरै महिलाहरु मानसिक शोषणको मात्र शिकार नभई शारिरीक हिंसा र यौन हिंंसाको पनि शिकार बन्ने गरेका छन्। वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको समर्थन भएको र स्वेच्छाले नै वैदेशिक रोजगारीमा गएको जस्तो परिवेश देखिएतापनि वैदेशिक रोजगारमा जानका लागि कुनै प्रकारको गैरकानूनी प्रभाव पारेको देखिन्छ भने उक्त कार्यको परिणाम हेर्दा पनि मानव विरुद्ध अमानवीय तवरको शोषण भएको छ। स्वरुपमा मात्र भिन्नता देखिन्छ कतै वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई बलपूर्वक काम गर्न लगाइएको देखिन्छ, कतै मानसिक शोषण भएको देखिन्छ भने कतै यौन शोषण भएको देखिन्छ।

नेपालको सन्दर्भमा वैदेशिक रोजगारीमा हुने मानव बेचबिखन तथा मानव तस्करीलाई अपराधको रुपमा स्विकारिएको भएतापनि निश्चित कानूनको अभावले मुद्दा कुन कानून अन्तर्गत दायर गर्ने भने क्रममा दुविधा रहेको छ। स्वरुप हेर्दा ठगी जस्तो देखिने भएका कारण वैदेशिक रोजगार ऐन, २०६४ अन्तर्गत मुद्दा दायर गरी कार्यविधि अघि बढाउनुपर्ने जस्तो देखिन्छ भने मानव बेचबिखनको कार्य भए अनुसार मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६३ अन्तर्गत कानूनी उपचारको कार्यविधि अघि बढाउनुपर्ने देखिन्छ। यस्तो कानूनी अन्यौलताका कारण केही पीडितहरु बिना कानूनी उपचार बस्न बाध्य बनेका छन् र आफु माथि भएको अन्याय सहन बाध्य बनेका छन्।

यस्तो परिस्थितिमा वैदेशिक रोजगारीमा हुने मानव बेचबिखनको न्यूनिकरणको लागि आधारभूत जनचेतनाका साथ साथै कानूनी एकरुपता हुन पनि आवश्यक छ। मानव बेचबिखन जस्तो गम्भीर अपराधको समस्या समाधानको लागि एउटा निश्चित कानून बनाई लागू गर्नू अहिले अति आवश्यक छ। 

यो पनि पढ्नुहोस म चरा भएपनि भुरुर्र उडेर साउदी जान्थें छोरी खोज्न

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: