
सिर्जना बस्नेत-
११ वर्षिया सानीले ठूलो बाक्सा देख्नासाथ भनि ‘उ हेर त दिदीे फेरी अर्काे बाकस आयो’ । उसलाई आजभोलि ठूलो बाक्सा देख्नासाथ डर लाग्छ । अनि रुँदै मेरो नजिक आउँछे र भन्छे ‘बुबालाई फोन लगाई देउ न । बोल्छु ।’
‘बा’ परदेशिनु अघि
उसको घरमा पनि एउटा सानो टिनको बाक्सा छ । तर त्यो बाक्सामा राख्ने कुनै सामान नभेटे पछि उसका ‘बा’ बिदेसिएका हुन । त्यो बाक्सामा खुशी भर्न गएका बालाई सानी खुब याद गर्छिन । सानीले बाल्यकालमै आमाको साथ पाइनन् । उसका बा गाउँमै ज्याला मजदुरी गरेर घर चलाउथे । सानीकी दिदीले आठ कक्षामै पढ्न छोडीसकेकी हुन ।
गाउँकै सरकारी जमिनमा टिनले बारेर बनाएको सानो घर थियो । वर्षौ देखी त्यही छाप्रोले घामपानी छेकेको छ । गर्मीमा जस्ता तातेर बसिनसक्नु बनाउँछ । जाडोमा चुहिएको चिसो सितले सुत्न कठिन । त्यो भन्दा नी पिर त हुरी चल्दा हुन्छ। पानी पर्दा चुहिए पनि भाँडो त थाप्न मिल्ने । तर हुरी चल्दा छाप्रो उढाउने डरले सानी निदाउन सक्दिनथिन् ।
यहिबीचमा सानीको गाउँ पनि नगरपालिका भयो । खै नगरपालिका भएपछि अरुलाई चैं के भयो कुन्नी, तर सानीको परिवारले वर्षौ देखी बस्दै आएको सरकारी जग्गा अव खाली गर्नुपर्यो । आफ्नै घर जग्गा प्रशस्त हुनेहरुले पनि सरकारी जग्गामा पिल्लर हालेर घर बनाएका छन । तर सानीको सानो छाप्रो चैं छिट्टै भत्काइ हाल्नु भनेर चिठी धेरै पटक आयो । सानीका बाले रुँदै नगरपालिकाका ठूला मान्छेलाई गुनासो पोखे, बस्ने ठाउँ छैन बास नउठाइदेउ भनेर । तर चुनाव जितेका ति ठूला मान्छे पटक्कै बोल्दैनन् । नगरका हाकिमलाई सानीका बाले बिन्ती गर्दै भनेका थिए
‘सर हामी त सुकुमबासी हौँ । यहाँबाट निकाले पछि कहाँ जानु ? बिजोक हुन्छ हाम्रो’ तर उनको बिन्ती सुनेननु हाकिमले ।
‘त्यो तिम्रो समस्या हो । यो जग्गामा सरकारी भवन बन्दै छ । त्यसैले छिटो खाली गर्नु । नत्र डोजर लाएर भत्काउनु पर्ला ।’
हाकिमका कुराले तर्सिएका उनी भएका झिरी झाम्टा पोको पारेर छिमेकीको मतानमा बस्न पुगे । यसले उनको मनमा सरकारी हाकिमप्रति कहिं नभएको रिस गुम्सिएको थियो । दिउँसो जसोतसो मन बुझाएर काम गरेपनि कहिले काहीँ काम गरेर बेलुका फर्किदा रक्सीले मातेर फर्किन्थे अनि रुँदै भन्थे
‘यो गरिबको जिन्दगी त शत्रुको पनि नहोस । जति मरिमेटे नि कहिल्यै उँभो लाग्न सकिएन । अब बिदेश जान्छु अनि मेरो नाममा पनि लाल पुर्जा बनाउँछु’ सानीको परिवारको नाममा कुनै लालपुर्जा छैन । सानी जन्मिंदा त्यही छाप्रोमा रोएकी हो । उनकी आमाले सानीलाई धर्तीमा रुँवाउदै ल्याइन अनि स्वयं चैं लागिन भगवानको घर तिर ।
सानीका बालाई लालपुर्जा पाउनु भनेको आकाशबाट तारा टिप्नु जस्तै भयो । भुकम्पले घर नभत्केकाहरुले आर्थिक सहयोग पाए । सानीको छाप्रोको पनि एक पाखो गारो भत्काइ दियो पापी भुईंचालोले । तर त्यो परिवारले कुनै आर्थिक सहयोग पाएन । अड्डाका हाकिमले लालपुर्जा नहुनेले कुनै सहयोग पाउँदैनन भने पछि सानीका बा निराश हुँदै फर्किएका थिए । सबैको घरमा बिजुली बत्ती बल्दा पनि सानीले टुकी बालेर नै कखरा सिक्नु प¥यो । बिजुली अफिसमा पनि लालपुर्जा नभइ बत्ती जोड्न मिल्दैन भने पछि सलेदो र टुकीमै उज्यालो खोज्नु पर्यो उनले । त्यसैले त्यो सधैंको अध्यारोबाट उम्किन सानीका ‘बा’ कतार गएका हुन ।
सानीले देखेको बाकस
सानी कक्षा पाँचमा पढ्छिन । स्कुलबाट फर्किदा उसकी साथीको घरमा धेरै मान्छेको भिड थियो । सबैजना केही कुरी रहेका थिए । सानी र उसकी साथी आँगनमा पुग्ने बित्तिकै सानीकी साथीलाई अंगाल्दै उसकी आमा रुन थालिन । किन धेरै मान्छे जम्मा भएका हुन ? किन सबैको अनुहार अँध्यारो छ ? अनि उसकी आमा किन रुँदैछिन ? केही बुझ्न सकेकी थिइनन् सानीले । उनकी साथी पनि आमासँगै रुँन थालिन । अघिसम्म हाँस्दै आएकी साथी किन रोएकी भन्ने उनले बुझेकी थिइनन् । सायद उनकी साथीले पनि बुझेकी थिइनन् होला । एकैछिनमा शववाहन लेखेको गाढी आँगनमा आइपुग्यो । सबैजना गाडीलाई छोपौंला झैं गरी अगाडी बढे । गाडीबाट रातो ठूलो बाकस बाहिर निकाले ।
सानीले मनमनै सोचिरहेकी थिइ । उसको बुबाले बिदेशबाट घरमा कति धेरै कोसेली पठाई दिएका छन । तर किन रुँदैछन उनीहरु, घरमा धेरै कुरा आउँदा पनि । सानी उत्साहित थिइ त्यो बाकसमा के–के पठाएका होलान भनेर । मिठाइ पनि होला अनि उसकी साथीको लागि नयाँ लुगा र खेलौना पनि । घरमा गएर बालाई फोन गर्छु छिट्टै घरमा यस्तै बाकस पठाई दिनु भन्छु । साथीको बुबाले जस्तै भनेर उ बाकस नजिकै अरु मान्छे तिरै गइ । गाउँका पुरुषहरु बाकस खोल्दै थिए । बाकस खोले पछि धेरैले फोटो खिचे । रुवाईको आवाज चर्को हुँदै गयो । उनले साथीको बुबा बाकसमा निदाएको देखिन् । उनले यो भन्दा पहिला यति ठूलो बाकस कहिल्यै देखेकी थिइनन् । अनि बाकसमा यसरी लमतन्न परेर मान्छे सुतेको पनि । सानीलाई लागेको थियो साथीको बुवा उठ्लान र चकलेट बाँड्लान । तर त्यस्तो भएन । साथीकी हजुरआमाले ठूलो स्वरमा रुँदै भन्नु भयो
‘मैले यसलाई विदेश नजा भनेर धेरै भनें, मानेन । यदि विदेश नगएको भए हामी सबैलाई छोडेर यसरी कहिल्यै नआउने बाटो जाने थिएन । यो पापी विदेशले मेरो छोरो खायो ।’ सानीले हजुरआमाको कुरा बल्ल बुझिन् । उनले बल्ल थाहा पाइन् किन मान्छेहरु रोएका रहेछन भनेर । उनकी साथी पनि रोइरहेकी थिइ अब उसको बाबा कहिल्यै निन्द्राबाट नउठ्ने खवर सुनेर । एकैछिन पछि गाउँलेहरु सानीका साथीको बाबाको लाशलाई बाँसमा बाँधेर खोला तिर झरे । अकमक्क परेकी सानी घर तिर लागि ।
उसले खोलामा जलाएको लाश आफ्नै घर अघिल्तीर उभिएर हेरिरही । सानीकी दिदी घाँसको भारी लिएर आँगनमा आएको देख्नासाथ उ दौडिंदै दिदीको नजिक पुगि । दिदीको अंगालोमा कस्सिदै डाको छोडेर रुन थाली । उसकी दिदीले के भयो भनेर धेरै चोटी सोध्दा पनि सानी रोइ मात्रै रही, केही बोलिन । धेरै बेर रोए पछि उसले दिदीलाई भनि
दिदी हाम्रा बा पनि बाकसमा आए भने ? दिदीले पनि छिमेकी काकाको लाश विदेशबाट बाकसमा आएको कुरा सुनिसकेकी थिइ । सानीको कुरा सुनेर सानी दिदी झस्किइन् । धत् कहिं त्यस्तो पनि हुन्छ ? दिदीले बहिनीलाई केहि हप्काएको स्वरमा भनी, अनी मायालु तरिकाले केहिबेर सानीको कपाल मुसारिरहन् । त्यसपछि उनले कतारमा बा लाई फोन लगाइ दिइन् ।
बा ले फोन उठाएपछि सानी बोल्नै सकिन । निक्कै बेर हिक्क हिक्क गर्दै रोइरहिन् । उताबाट सानीका बा बोलेः के भो ? किन रोएकी ? तर अहँ, सानीको बोली अझै फुटेन । सानी एकोहोरो रोइ मात्रै रहिन् । सानीकी दिदीले दिउँसोको खवर बा लाई सुनाइन् । बा ले फेरी सानीलाई सम्झाउन फोनमा कुरा गर्न चाहे । त्यतिबेलासम्ममा सानीको रुवाइ अलि कम भएको थियो । सानीले बा लाई रुन्चे स्वरमा भनि
‘बा तपाई छिट्टै घर आउनु । मलाई केही पनि चाहिदैन । मलाई तपाईको खुब याद आएको छ । छिमेकी हजुरआमाले भन्नु भएको बैगुनी बिदेशले मान्छे खान्छ रे । मलाई बाकसमा कोसेली चाहिदैन । तपाई मलाई छोडेर कहिल्यै नआउने बाटो नजानु है ।’ सानीको रुन्चे स्वर सुनेर उसका बा का पनि जोर आँखा रसाए । ‘छिट्टै आउँछु’ भनेर फोन राखे ।
सानी ठूलो बाकस देख्नासाथ विदेसमा भएका बा सम्झिन्छे । उसलाई डर छ कतै उसको बा पनि कुनै दिन बाकसमा निदाएर त आउने हैन ? सानी जस्ता धेरैका बा विदेसिएका छन बाकसमा सुख भर्न । अहिलेसम्म ८ हजार भन्दा धेरै बाकस यसरी नै भरिएर आइसकेका छन । यो चक्र खै कहिले रोकिएला ?