![फलानाकी श्रीमति त विग्रिईछे !](https://deshparadesh.com/wp-content/uploads/2017/09/Pharak_Aankha_3_Sunil.jpg)
सुनिल न्यौपाने-
जसरी हाम्रो शरीर चलाउन रक्तप्रवाह वा श्वास आवश्यक हुन्छ, मुलुक चलाउन आर्थिक चलायमान कृयाकलाप आवश्यक पर्दछ । पछिल्ला केहि बर्षहरु, अझ भनौं झण्डै पछिल्लो दुई दशकमा मुलुकको आर्थिक कृयाकलापलाई के कुराले गतिशिलतालाई दियो होला ? कसैले स्वीकारे पनि वा नस्वीकारे पनि सिंहदरवार देखि गाउँको कुनै घरको चुल्हो बाल्ने शक्ति कहिंबाट आइरहेको छ भनें त्यो मलेसिया र अरवका देशहरुबाट नै हो । त्यहाँ अधिकाँशले पसिना चुहाएर तथा थोरैले कम शारिरीक श्रम पर्ने काम गरेर पठाउने रकम नै देश सञ्चालनको ईन्धन हो ।
मुलुकको प्राणवायु बनिरहेको त्यहि रेमिट्यान्स पठाउनेहरु प्रति हामी कति संवेदनशिल छौं ? राज्यका निकायहरु कत्तिको संवेदनशिल छन् वा समाजका वर्गहरुले यसलाई कत्तिको संवेदनशिल भएर हेरेका छन् त ? उति धेरै बहस भइरहेको छैन ।
बैदेशिक रोजगारीले समाजमा पारेको सकारात्मक योगदान र नकारात्मक समस्याका बारेमा केहि समय अगाडी केहि महिलासँग छलफल गर्ने मौका जुट्यो । उनीहरुका श्रीमान् कोहि घर चलाउने खर्च कमाउन या त अरवका देशमा पसिना काढ्दै थिए वा मलेसियामा समस्याको पहाड पल्टाउँदै थिए । तर उनीहरुले ति विराना देशमा जुनस्तरको शारिरीक कष्ट खेपिरहेका छन् उनीहरुका श्रीमतिले नेपालमा खेपिरहेको मानसिक कष्ट त्यो भन्दा कम छैन ।
छलफलकै क्रममा श्रीमान परदेशीएपछि सजिलो अप्ठ्यारो के छ भन्ने जिज्ञासामा ति महिला तँछाड मँछाड गर्दै समस्याको पोको फुकाउन थाले । उनीहरुलाई आफुले खेपेका हैरानी सुनाउने यति हतारो थियो मानौं उनीहरुका ति समस्या सुनिदिन यसअघि कोहि पुगेकै थिएन ।
श्रीमान विदेश गएको सजाय स्वरुप हिजोआज गाउँमा कुनै महिलाले राम्रो नयाँ लुगा लगाउनु हुन्न । काम विशेषले कुनै गाउँकै वा चिनारु पुरुषसँग हिड्नु र कतिपय स्थानमा बोल्नु पनि हुन्न । कसैले त्यति गरेको देखे उनी विग्रिएको बात लाग्न त्यहि काफी हुन्छ । ‘फलाना’की श्रीमति विग्रिई । यहि सन्देश घर परिवार हुँदै अरव वा मलेसियामा कार्यरत उसको श्रीमानसम्म पुग्छ । र, सुरु हुन्छ पारिवारिक तनाव । छलफलका सहभागिहरुले धेरै ढंगमा भनेपनि कुरोको चुरो यहि थियो ।
न तथ्यले न तर्कले पुष्टि हुन्छ, तर पनि यो विषय पछिल्लो समयमा यसरी फैलिएको छ मानौं अधिकाँश परदेशीका श्रीमतिहरु यहि बाटोमा लागेका छन् । यसमा सञ्चारमाध्यमको भूमिका कम छैन । तिनिहरुले विकाउ समाचारको रुपमा यहि परदेशीका श्रीमति अर्कैसँग लहसिएको वा धन कुम्ल्याएर भागेको समाचारलाई सनसनीपूर्ण रुपमा प्रस्तुत गर्ने गरेका छन् । ति सामग्री ति सञ्चार माध्यमको अनलाईन हीट बढाउने माध्यम भएका छन । काठमाडौंबाट छापिने केहि साप्ताहिक पत्रिका र म्यागेजिनहरुले बजारमा विक्रि घटेपछि त्यसलाई उकास्न काठमाडौंको यौन बजारको सामग्री छापे झैं अनलाइनका पछिल्लो समयका सामग्री भएका छन् परदेशीको श्रीमतिले रकम कुम्ल्याएर भागेका समाचारहरु पनि ।
हो, एउटा तथ्य सत्य हो कतिपय परदेशीका श्रीमतिले अर्कैसँग विवाह गरेका छन् । कतिपयले अरव वा मलेसियामा कमाएको सम्पूर्ण लटीपटि लट्पट्याएर हिंडेका पनि छन् । तर त्यो संख्या कति छ ? श्रीमान स्वदेशमा हुँदा हुँदै पनि अर्कै विवाह गर्नेहरु छन् की छैनन् ? यो तथ्य तिर हामी उति केलाएर हेर्दैनौं । र, मुख्य कुरा एउटा त्यस्तो घटनाले कति परदेशीका परिवारमा शंकाको बीउ रोप्छ भन्ने ख्याल पनि गर्दैनौं । त्यो चाहे सञ्चारमाध्यम होस् वा गाउँका बुद्धिजीवि कहलिएका शिक्षक, पत्रकारहरु नै किन नहुन् ? हरेकले रे को हल्ला फैलाउनु अगाडी विश्लेषण गर्न जरुरी छ ।
खाडी वा मलेसियाको लाहुरे हुने बाटो चौडा भएपछि गाउँका अधिकाँश पुरुषले त्यहि बाटो समात्दै गाउँ छोडे । गाउँमा रहे महिला, बृद्धबृद्धा र बालबालिका । कुनै सरसहयोग आवश्यक पर्दा ति महिलाले गाउँमा बाँकी भएका पुरुष वा नातेदारसँगै खोजे । तर यसलाई हरेक घटनामा शंकाको चस्माले हेर्ने र हरेक परदेशीका श्रीमतिलाई विग्रिन तत्पर व्यक्तिका रुपमा हेरिनु गलत हुन जान्छ । श्रीमानले विदेशबाट दुईचार पैसा कमाएर पठाएपछि नयाँ लुगा हाल्न र छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन हाल्नु स्वभाविक रहर र आवश्यकता हो । त्यसैले परदेशीका श्रीमति विग्रिए भनेर औंला तेस्याउनु अगाडी यो पक्षमा पनि विचार गर्नु आवश्यक छ । तथ्य केलाऔं, रे को पछि नदौडौं ।
यो पनि पढ्नुहोस्
आमा भन्छिन्ः विदेश गएको छोरो ज्यूँदै छ की खवर पाए हुन्थ्यो