काठमाडौं- नेपाल राष्ट्र बैंकले हुन्डी कारोबार रोक्न प्रस्ताव अघि सारेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले व्यवस्थापिका संसद्अन्तर्गतको अर्थसमितिको बैठकमा हुन्डी कारोबार रोक्न पैसा पठाउने कामदारको खातामा सरकारले निश्चित प्रतिशत बोनस रकम थपिदिनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
शिवाकोटीले विदेशबाट आएको रेमिट्यान्स रकम बैंक खातामा जम्मा गरेको प्रमाणका आधारमा खातावालालाई सरकारका तर्फबाट थप निश्चित प्रतिशत रकम थपिदिने व्यवस्था गर्ने प्रस्ताव राष्ट्र बैंकको भएको बताए ।
उनले विदेशबाट रेमिट्यान्स पठाउने इजाजत प्राप्त संस्थालाई रेमिट्यान्स भिœयाएवापत नगर्दै अनुदान दिने वा सो रकमान्तर गर्दा लागेको बैंक शुल्क सरकारले बेहोर्ने व्यवस्थासमेत आवश्यक पर्ने प्रस्ताव पनि अघि सारे ।
विदेश गएका नेपाली कामदारले आफ्नो कमाई वित्तीय प्रणालीमार्फत पठाए/नपठाएको बुझ्न विमानस्थलमै काउन्टर राख्ने र निजले पैसा पठाएको विवरण अनिवार्य पेस गर्न लगाउनुपर्ने धारणा उनले राखे ।
उनले विदेशी बैंकको रेमिट्यान्स खाता खोल्ने सुविधा नेपालमै उपलब्ध गराउने, विनिमय दरमा सरकारले छुट सुबिधा उपलब्ध गराउनुपर्ने, रेमिट्यान्स कारोबारको शुल्क घटाउनुपर्ने र घरसम्म रेमिट्यान्स पु¥याउन बैंकिङ पहुँच विस्तार गर्नुपर्नेमा जोड दिए ।
हुन्डी कारोबार नियन्त्रण गर्न राष्ट्र बैंकले अध्ययन टोली गठन गरिसकेको भन्दै उनले वैदेशिक रोजगारीमा जानुअघि नेपालमै बैंक खाता अनिवार्य खोल्नुपर्ने, १० लाखको जिवन बिमा लागू गरिएको, कोरिया जाने कामदारलाई हुन्डी कारोबारमा फस्न नदिन कार्यथलोबाटै बैंकिङ प्रणाली मार्फत पैसा पठाउने व्यवस्था मिलाउन सरकारले नै पहल गर्नुपर्ने बताए ।
चालू आर्थिक वर्षको जेठसम्ममा नेपालमा विदेशबाट ६ खर्ब ३३ अर्ब रूपैयाँ रेमिट्यान्स वैधानिक बाटोबाट भित्रिएको थियो । आर्थिक वर्ष सकिँदा करिब ७ खर्ब रुपैयाँ नेपाल भित्रिने अनुमान छ । तर, हुन्डी कारोबार नियन्त्रण गर्न सके रेमिट्यान्स ९ खर्ब रूपैयाँ पुग्ने अनुमान छ ।
रेमिट्यान्स कम्पनी सञ्चालकहरूका अनुसार नै अहिले पनि देशमा कुल आउनेमध्ये ३० प्रतिशत रेमिट्यान्स अबैध बाटो अर्थात् हुण्डीबाट आउँछ । साथै, हाल कोरियाबाट १० प्रतिशत रकम मात्रै वित्तीय प्रणालीमार्फत आउँछ । तर, कतार मलेसिया र साउदी अरेबिया जस्ता देशबाट भने अहिले धेरैजसो रकम वैध बाटोबाट आउने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
दुबई तथा दक्षिण कोरियाबाट भने अधिकांश रकम अवैधबाटो बाटै भित्रिने गरेको छ । हुन्डी अवैध तथा असुरक्षित कारोबार भए पनि केही देशबाट विविध कारणवस हुण्डीको कारोबार धेरै हुँदै आएको छ ।
अर्थ समितिको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईमएईका अध्यक्ष चन्द्र ढकालले करिब ३० प्रतिशत रकम अबैध बाटोबाटै भित्रिने गरेको जानकारी दिए । कति रकम हुन्डीबाट आउँछ भन्ने बारेको वास्तविक तथ्यांक छैन भन्दै उनले करिब ३० प्रतिशत रकम अबैध बाटोबाटै आउने गरेको अध्ययनले देखाएको बताए ।
यस्तै, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पाकिस्तानले विदेशी मुद्राको निक्षेप कम भएपछि विदेशबाट आउने रकमको शुल्क आफैंले व्यहोर्ने व्यवस्था गरेको अनुभव सुनाउँदै अवैध बाटोबाट पठाउँदा भन्दा वैध बाटोबाट पठाउँदा सस्तो परेपछि पाकिस्तानमा अधिकांश रकम वैध बाटोबाटै भित्रिएको जानकारी गराए । कारोवारबाट
