
काठमाडौं– नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, मकवानपुर जिल्ला कमिटिको आयोजनामा हेटौंडामा स्थानिय निकायको निर्वाचनमा यातायात क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरियो ।
कार्यक्रमका प्रमुख अतिथी संगठनका केन्द्रीय उपाध्यक्ष अर्जुन अर्यालले निर्वाचित जनप्रतिनिधिहरुलाई खादा लगाएर र संगठनका पूर्व उपाध्यक्ष बलराम फुँयालले टीका लगाएर सम्मान गरे ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष अर्यालले मजदुरलाई राज्यका हरेक निर्वाचत निकायमा १० प्रतिशत सहभागिताको मुद्धा अझ जोडदार रुपमा उठाइने बताए । उनले निर्वाचनमा संगठनले निर्वाह गरेको भूमिकाको बारेमा चर्चा गर्दै सिंहदरवारको अधिकार जनताको घर दैलोमा आएको यो अवस्थामा अधिकार प्रयोग गर्दै रहँदा कसैले अन्यायमा परेको महसुस गर्नु नपरोस भन्ने आग्रह गरे । प्रमुख अतिथि अर्यालले अव स्थानिय निकायले नियम, कानून बनाउँदा यातायात मजदुर अन्यायमा नपर्नेगरी बनाउन सजग हुन निर्वाचित प्रतिनिधिहरुलाई आग्रह पनि गरे ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष गोकर्णप्रसाद पराजुलीसँगै यातायात मजदुर निर्वाचित नेताहरु धर्मराज बस्नेत, जुना दाहाल, शुकराम केसी, अन्जन तिमल्सिनालाई सम्मान गरिएको हो ।