![कोरियाका लागि ७५ हजार नेपालीले परिक्षा दिने](https://deshparadesh.com/wp-content/uploads/2020/01/cropped-logo.png)
काठमाडौं- रोजगारीका लागि कोरिया जान आवेदन दिएका ७५ हजार युवाको प्रारम्भिक छनोटका लागि लिइने भाषा परीक्षाको तयारी पूरा भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत जेठ २७ र २८ गते सञ्चालन हुने आठौं ईपीएस टपिक (भाषा परीक्षा) का लागि काठमाडौं उपत्यकाका २६ स्थानमा परीक्षा केन्द्र कायम गरिएको छ ।
यीमध्ये काठमाडौंमा १९ र ललितपुरमा ७ वटा क्याम्पस तथा स्कुलमा भाषा परीक्षा केन्द्र कायम गरिएको वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अधिकृत शोभाकर भण्डारी जानकारी दिए ।
यो वर्ष ७५ हजार ६ सय १२ युवाले रोजगारीका लागि कोरिया जान अनिवार्य गरिएको भाषा परीक्षामा सहभागिता जनाउँदै छन् । शनिबार र आइतबार दुई सिफ्टमा परीक्षा सञ्चालन गरिने वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जनाएको छ । कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) का प्रतिनिधिको रोहवरमा भाषा परीक्षा सञ्चालन हुनेछ ।
परीक्षामा सहभागी भएर उत्कृष्ट अंक ल्याउने १० हजार २ सय नेपालीलाई कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) ले रोजगारीका लागि छनोट गर्ने छ । यो परीक्षाबाट ४ हजार उत्पादन र ६ हजार २ सय कृषि क्षेत्रका लागि नेपाली कामदार लैजाने कोरियाले जनाएको छ ।
परीक्षामा छनोट भएका कामदारको माग सन् २०१७ को अन्त्यबाट सुरु हुने जनाइएको छ । यो छनोट संख्या गत वर्षको तुलनामा तेब्बर बढी हो । गत वर्षको भाषा परीक्षामा सहभागी ६० हजारमध्ये ३ हजार ५ जना छनोटमा परेका थिए । सरकारले आठौं भाषा परीक्षाको आवेदनका लागि अनलाइन प्रणाली विकास गरेका कारण यो वर्ष परीक्षार्थीको संख्या १५ हजारले बढेको छ ।
शाखाले परीक्षार्थीलाई परीक्षा केन्द्र, परीक्षा मिति र समयका बारेमा स्पष्ट हुन आह्वान गरेको छ । शाखाले अघिल्लो वर्ष जस्तै यो वर्ष पनि शंकास्पद नक्कली परीक्षार्थी रोक्न एमआरपी र रंगिन प्रवेशपत्र अनिवार्य गरेको छ ।
“परीक्षामा शंकास्पद नक्कली परीक्षार्थी पहिचानका लागि कोरिया र नेपाल पक्ष मिलेर नियन्त्रण गरिनेछ,” शाखाका अधिकृत भण्डारीले भने, “नक्कली परीक्षार्थी भएको शंका लागेमा व्यक्तिगत सोधपुछ गरिने र गल्ती देखिएका प्रहरीको जिम्मा लगाई कानुनी कारबाही गरिनेछ ।” परीक्षामा अनुचित काम गर्नेलाई परीक्षाबाट निष्कासित गरी दुई वर्षसम्म भाषा परीक्षाबाट वञ्चित गरिने भएको छ ।
कारोवारबाट
यो पनि पढ्नुहोस्
मलेसियामा नेपाली कामदारलाई तलव नदिने कम्पनीलाई जरिवाना