
निमेष गिरी-
युएई नेपालीको श्रमको राम्रो गन्तब्यको रुपमा स्थापित मुलुक हो । पछिल्लो तथ्यांक अनुसार युएईमा २ लाख ४ हजार नेपाली कार्यरत छन् । नेपालीको युएई आगमनसँगै नेपालीको बढ्दो समस्या समाधानार्थ एवं नेपाली कला र संस्कृति प्रवद्र्धन गर्दै एक आपसमा भाईचाराको सम्बन्ध स्थापन गर्दै आवश्यकता परेको बेलामा सहयोग गर्ने अभिप्रायले सामाजिक संघसंस्थाहरुको स्थापना भएका थिए र छन् । तर हालका दिनमा यहाँ गाऊँ स्तरीय, क्षेत्रिय, जिल्ला स्तरीय, राष्ट्रिय एवं जातिय संस्थाहरुको स्थापना दिनानुदिन बृदि भईरहेका छन् । सामाजिक मात्र नभएर राजनीतिक दलका भातृसंगठनहरु पनि स्थापना भएका छन् ।
नेपालीको हितमा स्थापना भएका संस्थाहरु कुनै न कुनै रुपमा राजनीतिमा मुछिएका छन । त्यो राजनीति राजनीतिक दल र विचारको मात्र होईन क्षेत्रिय, जातिय एवं धार्मिक रुपमा चल्ने संस्थाहरु, नेपाल र नेपालीको हितमा स्थापना भएका संस्थाहरु राजनीतिको नराम्रो चपेटामा फसेका छन् । जसको कारण एक आपसमा सुमधुर सम्बन्ध र सहकार्य भन्दा पनि दुशित प्रतिस्पर्धा बढि देखिएको छ । जसले आम श्रमिक नेपालीहरुमा सामाजीक अभियन्ता र सामाजिक संघसंस्थाहरु प्रति नकारात्मक असर परेको छ ।
नेपाली समाज, युएई
नेपालीलाई सहयोग गर्ने उद्धेश्यले स्थापित सबैभन्दा पुरानो संस्थाको रुपमा नेपाली समाजको स्थापना सन् १९९० ताका भएको थियो । सन् २००५–२००६ सम्म नेपाली समाज प्रति युएईमा कार्यरत नेपालीको संलग्नता उल्लेखिनिय रुपमा पाईन्थ्यो । उसले आयोजना गर्ने कार्यक्रमहरुमा नेपालीको उपस्थितीले उक्त कार्यक्रम अति सफल हुने गरेको ईतिहास आज एकादेशको कथाको रुपमा छ । त्यति लामो ईतिहास बोकेको नेपाली समाज जो हिजो ठुला ठुला हलमा कार्यक्रम गर्दा मान्छे नअटाएर कार्यक्रम हेर्न आएका नेपालीलाई फिर्ता पठाउनु पथ्र्यो आज सानो हलमा ५० देखी ६० जना केन्द्रिय पार्षद भेला गर्न असक्षम भएको छ ।
विगतका दिनमा नेपाली समाजका नेतृतवको चाहना र आफ्नै नेतृत्वमा हुनुपर्छ भन्ने मन्यतामा टुक्रिने गरेको नेपाली समाज आजका दिनमा पनि नेतृत्वको लडाईंले टुक्रिदै छ । नेपाली समाजको नेतृत्वको परिवर्तनले नेपाली समाज यो अवस्थामा पुगेको होईन । विगतका नेतृत्वकर्ताहरु नै आजका दिनमा यसको नेतृत्व गरिरहेका छन् । तर युएईमा रहेका हालका नेपालीको सोच, मान्यता एवं आवश्यक्ता अनुसार आफूलाई परिवर्तन गर्न नसक्नु नै नेपाली समाजको हालको अवस्थाको कारक हो । नेपाली समाजका कार्यनितीहरु यहाँ रहेका नेपालीको चाहना र अपेक्षा अनुसार कार्य गर्न नसक्नु नै हो । खाली सबै भन्दा पुरानो संस्था भएको राग र ईतिहासको गाथा गाएर नेपाली समाज आम नेपालीको समाज बन्न सक्दैन । नेपाली समाजका नेतृत्वकर्तालाई आफु नेपाली समाजको प्रमुख पदमा रहेको र सबैभन्दा पुरानो र सबैभन्दा ठुलो संस्थाको अहमताका कारण आफ्नो नेतृत्व नै सर्वेसर्वा हो भन्ने मानसिकताका कारण यहाँ रहेका सामाजीक संघसंस्थासंग प्रत्यक्ष परोक्ष रुपमा सहकार्य गर्न सकेको छैन ।
गैर आवसीय नेपाली संघ, एनसीसी,युएई
विश्वका ७५ मुलुकमा आफ्नो शाखाहरु विस्तार गरेको गैर आवसीय नेपाली संघको युएई शाखाको स्थापना सन् २००५ मा भएको थियो । तत्कालिन समयमा गैर आवसीय नेपाली संघमा एकल नेतृत्व गर्ने परिपाटी बसेको थियो । त्यसैले गैर आवसीय नेपाली संघ सन् २००९ सम्मको समयमा युएईमा रहेका सामाजिक अभियन्ताहरुको पहुँच भन्दा धेरै टाढा थियो । नेपाली समाजका तात्कालिन अभियन्ता रामेश्वर शाह, जाकीर हुसेन, कृष्ण ढकाल, डि.एल शर्मा, पि.एस. लिम्बु लगायतका अन्य व्यक्तिहरु क्यारीफरको चौरीमा बसेर कसरी एनआरएनमा सहभागि हुने भन्ने छलफल चलाएका थिए । तर तात्कालिन मध्यपुर्व संयोजक एवं युएई शाखाका अध्यक्षले पुनः खल्तिवाट नाम बोलाउने प्रवृतिका कारण एनआरएन, एनसीसीमा युएईको सामाजिक अभियन्ताहरु नै पहुँच देखि टाढा थिए । सन २००९ एनसीसीले आयोजना गरेको भेलाले आक्रोश व्यक्त गरी जाकिर हुसेनको संयोजकत्वमा निर्वाचन समिति गठन गर्न सफल भएको थियो । उक्त कार्यमा अर्जुन दाहाल, पि.एस लिम्बु, शालिक सुवेदी, शेष नारायण झा, बिकास अधिकारी, कृष्ण न्यौपाने लगायतकाको पहलमा सो कार्य सम्भव भएको थियो । जसका कारण आज युएईमा एनसीसीमा सहभागी हुन सहज भएको छ ।
एनअरएन मध्यपुर्वका लागि आवश्यक छैन भन्नेहरु पनि नभएका होईनन । त्यो बहसको विषय पनि हो । तर नेपाल सरकारले २ वर्ष भन्दा बढी समय बाहिर रहेका नेपालीलाई गैर आवसीय नेपालीको परिभाषामा राखे पछि होईनौ भन्नु र सदस्यता लिन्न भन्नु व्यक्तिको स्वतन्त्रता निर्भर रहने कुरा हो । हालका दिनहरुमा एनसीसी, युएई र यसका पदाधिकारीहरु युएईमा रहेका नेपाली संघसंस्थाहरुसंग सहकार्य गर्न सफल नभएको नै हो । जसको मुलभुत कारण नेतृत्वमा ७५ मुलुकमा स्थापना भएको, नेपाल सरकारको मान्यता प्राप्त संस्थाका नेता हामी वा म मात्रै हो भन्ने मान्यता नै हो । यहाँ रहेका आम नेपाली र सामाजिक कार्यमा रहेका सबै संघ संस्थाहरुसंग सहकार्य गर्ने हो भने जुनसुकै प्रवृतिका समस्याहरुको न्युनिकरण गर्न सहज हुन्छ । त्यसैले एनसीसी युएईको नेतृत्वले सहकार्यलाई नै बल दिनु नितान्त जरुरी देखिएको छ ।
यहाँ विभिन्न धर्म, जाति, भाषा , आस्था र विचार वोकेका नेपाली नागरिक छन् । ति सबैको मत र मान्यतामा आँच नआउने गरी कार्य गर्नु आवश्यक हुन्छ । तर केहि समय अगाडी नेतृत्वले खादाको प्रयोगको विषयमा उठाईएको विषय बिबादित बन्न पुग्यो । कुनै धर्मालम्बिहरुले प्रयोग गरिरहेको संवेदनशिल विषयमा अभिव्यक्ति दिनु नेतृत्वको कमजोरी र अदुरदर्शी निर्णय थियो । खादाको सभ्य र सम्मानजनक प्रयोग गरौ भन्नु भन्दा पनि प्रयोग गरेर उदाहरण बन्नु पर्दथ्यो । तर नेतृत्वको अभिव्यक्तिले समुदाय प्रति र त्यसको मान्यता प्रति कुनै पनि किसिमको अभिव्यक्ति दिनु वाञ्छनिय हुँदैन । जुन गल्ति यसको नेतृत्वले स्विकार गर्दै उक्त समुदाय प्रति गल्तिको लागि मन देखी नै क्षमाप्रार्थी बन्नु नै पर्दछ ।
आदिवासी जनजाति महासंघ, युएई
सन् २००७ भन्दा अगाडी स्थापना भएका जातिय संस्थाहरुको छाता संगठन निर्माण गर्ने अभिप्रायका साथ आदिवासी जनजाति महासंघको स्थापना भएको थियो । आदिवासी जनजाति महासंघको स्थापना पि.एस.लिम्बु, तेज आले लगायतको सक्रियतामा सम्पन्न भएको थियो जसको उदेश्य आईएलओ द्धारी जारी गरिएको अधिकारका लागि प्रवासबाट पनि दबाब सिर्जना गर्नुका साथै आफ्नो समुदायको हक, अधिकार एवं सशक्तिकरण गर्नका लागि आदिवासी जनजाति महासंघको स्थापना भएको थियो ।
महासंघले आम आदिवासीहरुलाई एकताको शुत्रमा गाँस्दै आजको मितिमा ११ जातिय संस्थाहरुको छाता संगठनको रुपमा सक्रिय छ । जसले आदिवासीका कला संस्कृति एवं भर अवरमा परेका आदिवासीहरु एवं गैर आदिवासीहरुलाई पनि नैतिक, भौतिक एवं अर्थिक सहयोग गर्दै आएको छ । नेपाल बहुजातिय, बहुभाषिय एवं बहुसंस्कृतिक मुलुक हो । विभिन्न जाति र सम्प्रदायका वेग्ला वेग्लै कला, संस्कृति र भाषाको सुरक्षा एवं संरक्षण तथा सम्बर्धनमा महासंघ कृयाशिल छ ।
तर, विगतको तुलनामा आज जनजाति महासंघमा आदिवासीहरु प्रति मात्रै बढि संम्बेदनशील भएको देखिन आएको छ । नेपालको राजनीतिक दल र तिनका विचारका आधारमा जातिवाद भित्र अतिवादी प्रवृति हावी भएको कुरा जनजाति महासंघका संस्थापक पदाधिकारी बताउँछन् । आफ्नो निस्क्रियताको कारण पनि त्यहि हो भन्दछन । उनीहरुको भनाई अनुसार जातिवादमा अतिवाद युएईमा मात्र नभएका युएई बाहिर र नेपालमा पनि अतिवादी प्रवृति हावी छ । कुनै पनि व्यक्तिले अरुको मौलिक हक र अधिकार हनन गरेर जातिय उत्थान हुन सक्दैन भन्ने कुरामा उनीहरु स्वयं सहमत छन् । तर जनजातिको हक, अधिकार प्राप्त गर्न गैर जनजाति सम्प्रदायको मान्यता प्रति प्रहार गरीने कार्य निरुत्साहित गर्न आदिवासी जनजाति महासंघका पदाधिकारीहरु सफल भएका छैनन । जसका कारण युएईमा सामाजीक कार्य सम्पन्न गर्नका असहज स्थिती पैदा भएको छ ।
जिल्ला, क्षेत्रिय एवं ठाँऊका संस्थाहरु
युएईको सन्दर्भमा केन्द्रिय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका संघ संस्थाहरुको तुलनामा आफ्नो क्षेत्र वा क्षेत्रका नागरीकहरुको समस्याको न्युनिकरण गर्न , उक्त क्षेत्रमा विकास निर्माण एवं शिक्षा क्षेत्रको विकासमा प्रशंसनिय एवं उल्लेखनिय कार्य गरेका छन । जसको मुक्त कण्ठले प्रशंसा गर्नु पर्दछ ।
तर यि संस्थाहरुमा तिनै केन्द्रिय स्तरका संस्था, राजनीतिक विचारका नेतृत्वको आलोचना एवं कुनै समुह वा समुदाय प्रति वढी झुकाव हुने हुँदा समस्या देखिएको छ । यहाँका जिल्ला एवं क्षेत्रिय स्तरका केहि संस्थाहरुले नेपाली समाजको छाता संस्थाको अवधारणा अनुसार उक्त संस्थाको सदस्यता पनि लिएका छन । तर जुन रुपमा नेपाली समाजले छाता भएपछि सबै करङ्गहरुको अस्तित्व र तिनको कार्य प्रणालिमा आर्थिक नैतिक एवं भौतिक सहयोग गर्नु पर्ने हो त्यो सम्पन्न गर्न सकेको छैन । छाता संगठनको अवधारणा अनुसार यहाँ रहेका अन्य सामाजीक संघसंस्थासंग सहकार्य गर्दै आदिवासीको ल्होसार, पश्चिमका देउडा, दशै, तिहार जस्ता चाडवाडहरुमा सामुहिक मनाउने परम्परा स्थापना गर्न सक्नु पर्दछ । त्यसैगरी यहाँ समस्यामा परेका नेपालीहरुको सहयोगका लागि सामुहिक प्रयास गर्न थालनी गर्नुका साथै सबै संघसंस्थाको संलग्नतामा सहयोगका लागि अक्षय कोष हालसम्म निर्माण गर्न नसक्नु सोचनिय विषय हो ।
यहाँ समााजीक संघसंस्थाहरु करीब एक सयको हाराहारीमा छन् । तर युएईमा वैधानिक रुपमा कुनै पनि संस्था दर्ता भएको छैन । युएईको कानुन अनुसार कुनै पनि सामाजीक कार्य गर्नका लागि संस्था दर्ता गर्नु नितान्त जरुरी हुन्छ । त्यसको पहल एनसीसी, युएईले गरे पनि हाल के भईरहेको छ स्पष्ट हुन सकेको छैन । आदिवासी जनजाती महासंघ र नेपाली समाज जस्ता छाता संगठनहरुले पनि यस कार्यमा पहल गरी दर्ता गर्न नसक्नु नेपाली सामाजीक संस्थाको हित अनुकुल हुन सक्दैन ।
हरेक संस्थाको चुनावी सरगर्मिको मौषममा नेतृत्वमा आउने महत्वकाँक्षाले संस्था दर्ता गर्ने वचनवद्धता जाहेर गर्दछन । तर अन्त्यमा “माछा माछा भ्यागुता” मात्र हुने गर्दछ । यहाँ रहेका सामाजीक व्यक्तिहरु आफु र आफ्नो स्वार्थको लागि एक आपसमा सहकार्य गर्न चाहँदैनन । समस्या खोज्ने र ति समस्याको हलमा सामुहिक प्रयास गर्ने पारीपाटी स्थापना गर्न सकेका छैनन । गुपचुप समस्याको समाधान गरी सार्वजनिक गर्ने परम्पराको विकास भएको छ । यस्ता कार्यले समाजको प्रतिष्ठा त स्थापित गर्छ तर सामुहिक संलग्नतालाई प्रोत्साहित गर्दैन ।
अतिवाद र मपाईत्व
नेतृत्वमा रहेका सामाजीक कार्यकर्ताहरुको अभिव्यक्तिहरु पनि सामाजीक हित विपरीत हुने गरेको छ । कुनै पनि जाति, भाषा, धर्म र समुदायले प्रयोग गर्ने सामग्रीहरुको विपक्षमा आफ्नो धारणा बनाउनु समाजको हितमा हुन सक्दैन चाहे उक्त वस्तु वा आस्थाको सकारात्मक प्रयोग र सम्मान वृद्धि गर्ने अभिप्राय नै किन नहोस । सामाजीक कार्यकर्ताको पदमार्ग भनेको तरबारको धारको पदयात्रा हो भन्न सकिन्छ । सम्मान र प्रतिष्ठा आर्जन गर्न लामो समय लाग्दछ । तर गुमाउन एक सेकेण्ड नै काफी हुन्छ । त्यसैले एनसीसी, युएई र आदीवासी जानजाति महासंघ विचको सम्बन्धमा तिक्तता आएको छ जसलाई हल गर्न हालसम्म सम्भब भएको छैन । कुनै पनि सामाजीक अभियन्ताले सामाजीक मुल्य र मान्यतालाई सम्मान गर्नु पर्दछ । उदाहरणका लागि युएईको खादा प्रकरणलाई लिन सकिन्छ । कुनै व्यक्तिलाई सम्मान स्वरुप अर्पण गरीने वस्तुलाई म प्रयोग गर्दिन भन्न व्यक्तिगत रुपमा पाईन्छ । त्यो व्यक्तिको आफ्नो स्वतन्त्रता पनि हो । तर सामाजीक अभियन्तासंग यो अधिकार रहँदैन । कुनै पनि संस्थाको प्रमुख कुनै जाति, भाषा, वा धर्म भन्दा वढी सबैको हुन सक्नुपर्दछ । उक्त अभिव्यक्ति नै आज आदीवासी जनजाति महासंघ र एनआरएन युएईको विवादको प्रमुख कारक हो । हुन त एनआरएनका पदाधिकारीहरुले खादाको अवमुल्यन गर्ने हाम्रो चाहाना होईन त्यसको सम्मान जनक प्रयोगका लागि हाम्रो अभिव्यक्ति हो भन्दै २ वटा बिज्ञप्ति प्रकाशीत गरिसकेका छन् । तर समस्या जहाँको त्यहि नै छ त्यसले निकास पाउन सकेको छैन ।
त्यसैगरी जातीय संस्थाहरुले आफ्नो जाति, भाषा वा संस्कृतिको पक्षमा कार्य गर्नुपर्दछ । तर आफ्नो जाति, भाषा र संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्ने नाममा अन्य समप्रदाय र जाति विशेषलाई गाली गर्न न्यायोचित हुन सक्दैन । सामाजीक पद धारण गरेका व्यक्तिको अभिव्यक्तिहरु सामाजीक सदभाव खलबल्याउने हुनुहुँदैन । रचनात्मक र समन्वयात्मक हुन जरुरी हुन्छ । तर हालमा दिनमा सामाजीक संघसंस्थाका उच्च पदस्थ व्यक्तिहरुको अभिव्यक्ति सम्पुर्ण नेपाल र नेपालीको हित विपरीत हुने गरेको पाईन्छ ।
हालका दिनमा युएईका कार्यक्रममा ढाकाको मफलरको प्रयोग उल्लेखनिय रुपमा भईरहेको छ । कसैले यसलाई खादाको विकल्पको रुपमा प्रयोगको रुपमा बुझेका छन । कसैले देशमा उत्पादीत वस्तुको प्रयोगको रुपमा । तर आदिवासी जनाजातीका सामाजीक अभियन्ता र गैर आदीवासी सामाजीक अभियन्ताहरु विच एक आपसमा घोचपेचले सामाजीक सञ्जाल भरीने गरेको छ ।
सामाजीक अभियानमा सरीक भएका व्यक्तिहरुले यस प्रवृतिका मुद्धाको उठान गर्नु कदाचित जायज हुन सक्दैन । यसले अतिवादी मनोवृत्तिलाई प्रश्रय दिंदै लैजाने देखिएको छ । खादाको विषयमा कुरा उठाउने व्यक्तिहरुले नै ढाकालाई निम्नस्तरको शव्दबाणमा उत्रिनु अर्को सम्प्रदायको अधिकारमा हस्तक्षेप गर्नु होईन र ? सोचनिय विषय छ । यस प्रवृतिले कसैको पनि हित हुन सक्दैन र नैतिक रुपमा अर्काको गल्ति देखाईरहँदा आफुले पनि अर्को समुदाय प्रति गरेको त्यहि प्रवृतिको कार्यप्रति क्षमा याचना गर्नु पर्छ भन्ने हेक्का किन नराख्ने ? आफ्नो अधिकारको खोजी गर्दा अर्कोको नाकमा तपाईको औला त पुगेको छैन, आफैलाई प्रश्न गर्न पनि जरुरी छ ।
निश्कर्ष के हो भने सामाजीक अभियानमा सामाजीक हित विपरीत हुने कार्यको विपक्षमा सामाजीक व्यक्ति र संस्थाहरु उभिन्नु पर्दछ । त्यस प्रवृतिलाई निरुत्साही गर्न कदम चाल्नु पनि पर्दछ । सामाजीक कार्यकर्ता र नेतृत्वले कुनै पनि बस्तुको प्रयोगमा हस्तक्षोप र सभा वा समुहमा त्यसको प्रयोग माथि प्रश्न उठाउनु हुँदैन । यदि उठाउछ भने उसले समाज र समुदायसंग त्यसका लागि क्षमा याचना गर्नु पर्दछ । त्यसैगरी तिमीले यो प्रवृतिको क्षमा माग गर्नु पर्दछ भन्ने मान्यता पनि तानाशाही प्रवृतिलाई नै प्रश्रय दिने हुन्छ । जसले गर्दा आज युएईमा अतिवादी मान्यताहरु स्थापित हुँदै नेपाली विचका सामाजीक सद्भावमा कुनै पनि बेला द्धन्द्ध निम्तने समस्या देखिएको छ । जसको एक मात्र सामाधान भनेको समाजमा कुनै जाति, भाषा, धर्म र वर्णको रुपमा मान्यता स्थापित गर्ने नभएर समाजको हितमा ति मान्यताको प्रयोग अर्को समुदाय र जातिलाई नपर्ने गरी गरिनु पर्दछ । आरोप र प्रत्यारोप छोडेर आआफ्नो गल्ती स्विकार गर्दै आगामी दिनमा त्यस्ता गल्तीहरु नदोहोरीने प्रतिवदता जाहेर गर्नु आवश्यक छ ।
र अन्त्यमा, कुनै पनि संस्थाका नेतृृत्वले पितुर्क्याइ नगरि ठुलो र चौडा छाती बनाउन जरुरी छ । बुद्दको नाम जपेर शान्तीको बदलामा झै झगडा र आरोप प्रत्यारोप गर्नेहरु बुद्दका अनुयायी हुन सक्दैनन । ‘बुद्दम शरणम गच्छामी’
यो पनि पढ्नुहोस्
‘विदेश जाँदा ठगिएपछि एजेण्ट भएँ’