तुलसी सुवेदी, काठमाडौं-
अधिकांश युवाहरुमा कोरिया जाने सपना हुन्छ । कोरिया जाने र मनग्य पैसा कमाएर जीवनस्तर परिवर्तन गर्ने अधिकांश युवाहरुले सपना बुनेका हुन्छन् । कतिपय सफल हुन्छन्, कतिपय सफलता प्राप्त गर्न नसकी हरेश खान्छन् । नेपाली युवाका लागि वैदेशिक रोजगार वाध्यता बनेको छ । अधिकांश युवा खाडी मुलुक र मलेसिया पुगेका छन् । केही युवा आकर्षक मानिएको कोरिया पनि पुग्न सफल भएका छन् । कोरिया पुग्न पनि मेहनत चाहिन्छ । पुगेपछि झन् धेरै मेहनत गर्नुपर्छ । कोरिया पुग्ने अधिकांशको जीवनमा परिवर्तन भने अवश्यक देख्न सकिन्छ ।
पछिल्लो समयमा कोरियन रोजगारप्रति युवाको आकर्षण बढ्दै गएको छ । कतिले भाषा पास गर्नका लागि लगातार पढेपनि सफलता प्राप्त गर्न सक्दैनन् । कतिले लगातारको प्रयासपश्चात भाषा पास गरी कोरियामा काम गरेर स्वदेश फर्किसकेका छन् । पछिल्लो समयमा कोरिया जाने युवाको चाहना बढ्दो क्रममा छ । रोजगार अनुमति प्रणाली९ईपीएस० मार्फत कोरिया जान अधिकांश युवाहरु लालायित देखिन्छन् । हालै मात्र कोरिया जानका लागि हजारौं युवाहरुले फारम भरेका छन् । कम्तिमा १० हजार नेपाली युवा कोरिया लैजाने ईपीएसको तयारी भएपनि त्यसको दशगुणा भन्दा बढीले फारम भरेका छन् । कोरियामा जिटुजीमार्फत सन् २००७ देखि लगातार नेपाली कामदार गइरहेका छन् । केही गरौं भन्ने युवाका लागि कोरिया आकर्षक गन्तव्य मुलुक हो।
कोरियामा झण्डै पाँच वर्ष बिताएका प्यूठान ऐरावती गाउँपालिकाका सुशील थापा कोरियन रोजगारीले जीवनमा आकाश पातल परिवर्तन भएको अनुभव सुनाउँछन् । ‘भन्छन् ‘कोरियन रोजगारीले मलाई धेरै सिकाएको छु, म सन्तुष्ट नै छु ।’ उनी कोरियाबाट हालैमात्र स्वदेश फर्किएका छन् । अब स्वदेशमै कुनै व्यवसाय गरेर बस्ने उनको सोच छ । उनी कोरिया जानको लागि सन् २०१० मा कोरियन भाषा परीक्षा दिएका थिए । उनी पहिलोपटक असफल भएपनि हार मानेनन् । भन्छन्‘मैले हिम्मत हारिन्, फेरी परीक्षा दिएँ र पास भएँ ।’ उनले कोरियाको करिब पाँच वर्षको बसार्इमा एक करोड २० लाख बचत गर्न सफल भएका छन् ।
उनले स्वदेशमै जागिर खान चाहेनन् । नेपालमा जागिरको कमाईले जीवनमा कुनै प्रगति हुन सक्दैन् कि भन्ने उनलाई लागेको थियो । उनका दाईहरुले सरकारी जागिर खाएका थिए । भन्छन् ‘उहाँहरु जागिरमा सन्तुस्टि नभएको कारणले मैले कहिल्यै सरकारी जागिर खाने विचार गरिन ।’ अभावको जिन्दगी राम्रोसँग भोगेका थापा कोरियामा ५ वर्ष बिताउँदा परिश्रमको महत्व राम्रैसँग बुझेको बताउँछन् ।
पहिलोपटक कोरियन भाषा परीक्षामा फेल भएपछि उनले जापान जाने सोच बनाएका थिए । जापानका लागि चिनेका र भरपर्दो मानिस नभएपछि उनले जापान जाने चाहना अघि बढाउन सकेनन् । त्यसपछि उनी पोल्यान्ड जानका लागि अन्तरबार्ता दिए र पास पनि भए । पोल्यान्ड जानका लागि पैसाको जोहो गर्दै थिए । तर कोरियाको भाषा परीक्षा छिट्टै हुने सञ्चारमाध्यमबाट समाचार सुनेपछि उनको सोचाई फेरी बदलियो । त्यसपछि उनले पोल्यान्डको कुरा छाडेर कोरियन भाषा पढ्न काठमाडौं हानिए ।
कोरियन भाषा पढ्नका लागि डिल्लीबजारमा बसेर बागबजारको एक इनिस्चिुउटमा पढ्न थाले । पहिला पनि भाषा पढेकाले उनलाई सहज भयो । केही महिनाको पढाइ पछि भाषा परीक्षामा उनी पास भए । कोरिया जानलाई रोस्टरमा परेको केही समय र प्रक्रियापछि उनी कोरिया पुगे ।
उनले कोरियामा गेरेन्डिङ् र वेल्डिङ्मा काम गर्न थाले । सुरुमै १ लाख ६२ हजार पारिश्रमिक बुझेपछि उनको खुसीको सीमा नै रहेन । पैसा धेरै आएपनि काममा गाह्रो भएपछि उनले कम्पनी परिवर्तन गर्दै तीनचारवटासम्म कम्पनी बदलेर काम गरे । कोरियामा निश्चित समयभित्र चारवटा कम्पनी परिवर्तन गर्न पाउने नियम नै छ । दक्षिण कोरियामा करिब पाँच वर्ष काम गरेर स्वदेश फर्किएका थापा भन्छन् ‘कोरियामा बसेर नसोचेको परिवर्तन भयो, मेहनतको महत्व बुभियो, अब नेपालमै केही रचनात्मक काम गर्छु ।’ उनले सुनाए ।
शिक्षण पेशामा केही वर्ष काम गरेका मुसिकोट नगरपालिका ६ रुकुमका एकराज केसी अहिले कोरियामै कार्यरत छन् । उनी अहिले दिनरात कोरियामा खटेर काम गर्दै छन् । उनी कोरिया जाने सपना बुन्दै २०७० असारमा काठमाडौं आएर भाषा पढेका थिए । उनले दुई महिनामात्र कोरियन भाषा पढेर परीक्षा दिए । उनको नाम निस्कियो । उनी खुसीले गदगद् भए । कतिले दुई वर्षसम्म पनि भाषा पढेर नाम निकाल्न मुश्किल पर्दछ।
कोरियन भाषाबाहेक अरु केही सोचेनन् । होस्टेलमा बसेर ८ घण्टा लगातार भाषा पढे र नाम निकाल्न सफल भएका थिए । अहिले कोरियामा दुःख भएपनि जीवन परिवर्तन हुन सकेकोमा खुसी व्यक्त गर्छन् ।
उनले श्रीसाईकुमारी निम्नमाध्यामिक विद्यालय मुसीकोटमा ७ वर्ष अध्यापन गरेका थिए । भन्छन् ‘शिक्षण पेशाबाट परिवार धान्न मुश्किल भयो, अनि कोरियाको बाटो रोजेको हुँ ।’ कोरिया पुगेपछि छोटो समयमा पनि आर्थिक सबलीकरण हुने देखेर उनले सरकारी जागिर छोड्न कुनै समस्या मानेनन् ।
उनको कोरियामा मासिक डेढ लाखभन्दा कमाउछन् । बेरोजगार युवाहरुलाई सकेसम्म स्वदेशमै रोजगार गर्न आवश्यक भएको उनी ठान्छन् । स्वदेशमा जस्तो राम्रो विदेशमा नहुने उनको तर्क छ । यदी विदेश जानु नै पर्ने भए राम्रोसँग बुझेर पूर्ण जानकारी लिएर मात्र जानुपर्ने उनी सुझाव दिन्छन् । ईपीएस कोरिया शाखाका अनुसार कोरियामा ईपीएसमार्फत २० हजार युवा कोरियामा काम गरिरहेका छन् ।
यतिखेर कोरियन भाषाको नतिजामा हजारौं प्रतिक्षारत छन् । ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले कोरियन रोजगारीमा युवाको आकर्षण बढ्दै गएको बताउँछन् । ‘धेरै नेपालीलाई अवसर दिनका लागि हामी कोरियन सरकारसँग निरन्तर समन्वय गर्दै आएका छौुं । कोरिया नेपाली कामदारसँग सन्तुष्ट भएकाले पनि नेपालीले पाउने कोटा बढ्दै गएको छ । ईपीएस शाखाका निर्देशक खतिवडा भन्छन्(‘भाषा पास गरेका सबैले कोरिया जान अवसर भने पाउँदैनन्’ उनले भने।
थापा र केसी मात्र होइन कोरिया रोजगारीले हजारौं नेपालीको जीवनस्तर माथि उठेको छ । कोरियाले कठोर मेहनतको पाठ पनि मज्जाले सिकाएको छ । कोरिया जानका लागि नतिजाको पर्खाइमा हजारौं युवाहरु बसेका छन् । वास्तवमा कोरिया सोचेजस्तो छैन् । कठोर मेहनत गर्नुपर्छ । महेनत गर्न सके स्वदेशमै पनि कमाउन सकिन्छ। त्यसो त वैदेशिक रोजगार धेरै युवालार्इ वाध्यता बनेको छ भने केही रहरले पनि विदेश पुगेको पार्इन्छ ।
अन्नपूर्ण पोष्टबाट
