सुन्तलाबाट स्याङ्जामा ३५ करोड भन्दा धेरै भित्रियो

स्याङ्जा: चालु आर्थिक वर्षमा स्याङ्जामा ३५ करोड बढीको सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय स्याङ्जाले जनाएको छ । सुन्तलाबाट आम्दानी बढ्दै गएपछि कृषकहरू सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन् ।
 
कार्यालयका अनुसार १ हजार २ सय ७० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ११ हजार ५ सय २० मेट्रिक टन सुन्तलाबाट ३५ करोड ६६ लाख ५९ हजार २ सय रुपैयाँ जिल्ला भित्रिएको हो । उत्पादित सुन्तलामध्ये १२ प्रतिशत अर्थात् १ हजार ३ सय ८२ मेट्रिकटन आन्तरिक खपत र अन्य जिल्लाबाहिर निर्यात गरिएको हो ।
 
यसवर्ष सबैभन्दा बढी पुस महिनामा १७ करोड ९७ लाख १२ हजार र सबैभन्दा कम कात्तिकमा बिक्री भएको थियो । चालु वर्ष उत्पादन भएको सुन्तला गतवर्षको तुलनामा १२.९६ प्रतिशले बढी रहेको कार्यालय प्रमुख तेजप्रसाद दवाडीले बताए ।
 
गतवर्ष स्याङ्जामा १ हजार २ सय ५० हेक्टरमा १० हजार २ सय मेट्रिक टन सुन्तला उत्पादन हुँदा  २६ करोड १५ लाख ९९ हजार ४ सय आम्दानी भएको थियो । 

कात्तिकको दोस्रो साताबाट बिक्री सुरु हुने सुन्तला मङ्सिरको दोस्रो साताबाट भने व्यापारमा वृद्धि हुने गर्छ । स्याङ्जामा उत्पादित सुन्तला बुटवल, पोखरा र काठमाडौँ लगायतका सहरमा बिक्री वितरण गरिन्छ ।
 
जिल्लाको पुतलीबजार नगरपालिकाको १०, ११, १२ र १३, वालिङ नगरपालिकाको ७ र ८, साविकको खिलुङ देउरालीको ९, साविकका दहथुम १, एलादी, अर्जुनचौपारी, ठुलाडिही, मनकामना, पौवैगौडे, ओरष्टे, अर्जुनचौपारी, चिन्नेबास, रापाकोट लगायतका २५ गाविसलाई कार्यालयले सुन्तला उत्पादनको पकेट क्षेत्र घोषणा गरेको छ 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: