काठमाडौ- रोजगारीका लागि दक्षिण कोरिया जान दिइने भाषा परिक्षाका लागि झण्डै ७५ हजार व्यक्तिले आवेदन दिएका छन्। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आठौं पटकको परीक्षाका लागि गत चैत ९ देखि चैत्र १८ सम्म आवेदन खुल्ला थियो । यसपटक अनलाइन मार्फत आवेदन दिने व्यवस्था थियो ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अधिकृत शोभाकर भण्डारीका अनुसार ग्लोबल बैंकमार्फत परीक्षा दस्तुर भने ७५ हजार ९ सय २५ जनाले बुझाएका छन् । शुक्रबार राति १२ बजेसम्म आवेदन दर्ता गर्ने समय रहेकाले आवेदकको संख्या अझ बढ्न सक्छ । यो संख्या हालसम्मकै धेरै हो । २०१६ मा ८ हजार कोटाका लागि ६३ हजार र २०१५ मा ५१ हजारले आवेदन दिएका थिए ।