विदेशमा रहेका नेपाली र तिनका परिवारको उम्मेदवार को ? 

सुनिल न्यौपाने, काठमाडौं- 

यदि राजनीति ठिक बाटोमा चल्यो भनें आगामी बैशाख ३१ कै सेरोफेरोमा स्थानीय तहको निर्वाचन होला । स्थानीय तहको निर्वाचन भयो भनें त्यसले हाल देखिएको एउटा अकर्मण्यताको अन्त्य गर्छ । देशमा नयाँ आशाको सञ्चार गर्छ र संघियताको नयाँ अभ्यास व्यवहारिक रुपमा सुरु हुन्छ । यसले गाउँमा एकप्रकारको तरंग ल्याउने अपेक्षा छ । 

अझै पनि चुनाव बैशाख ३१ मै भईहाल्छ भन्नेमा सवै दलहरु आश्वस्त भइसकेका छैनन । त्यसैले होला एमालेले मेची महाकाली जागरण अभियान चलाएर तथा उम्मेदवार तोक्ने जिम्मा विभिन्न कमिटीलाई लगाएर ‘चुनावी एक्सरसाइज’मा उत्रिइसकेको छ । यसैगरी माओवादी केन्द्रले पनि उम्मेदवार छनौट कार्यविधि र निर्वाचन परिचालन समिति बनाएर चुनावी तयारी अगाडी बढाएको छ । अन्य दलहरुले भनें यो स्तरको तयारी गरिसकेका छैनन । तर तिनिहरुका गतिविधि पनि चुनाव उन्मुख भनें छन् । मधेसी मोर्चाको ‘लचकता’ ले पनि चुनाव केहि दिन ढिलो भएपनि हुन्छ भन्ने सन्देश दिएको छ । 

हरेकले निर्वाचनलाई आ–आफ्नै उपलव्धीका हिसावले हेर्ने हो । पार्टीहरुले कसरी धेरै ठाउँमा जित्ने भनेर हेर्छन् । व्यक्तिले कसरी आफु वा आफूले चाहेका व्यक्तिले टिकट पाउने भनेर हेर्छन । त्यसो भए बैदेशिक रोजगारमा रहेकाहरु र तिनका परिवारले कसरी निर्वाचनलाई हेर्ने त ? यो लेख त्यहि सेरोफेरोमा केन्द्रीत छ ।  

आधिकारिक तथ्याँकले भन्छ नेपालबाट तथ्याँक राख्न थालेपछि झण्डै ४४ लाख पटक श्रम स्वीकृति निस्कियो । कोहि एकपटक मात्र विदेश गए होला, कोहि तीन चार पटक गए होला । सरदरमा एउटै व्यक्ति दुई पटक बैदेशिक रोजगारमा गएको मान्ने हो भनें पनि २१ लाख व्यक्ति बैदेशिक रोजगारमा गए । त्यसरी बैदेशिक रोजगारमा जानेहरुको एउटा परिवारमा सरदर चार जना छन् भन्ने मान्ने हो भनें पनि तथ्याँकले झण्डै करोड छुन्छ । अर्थात बैदेशिक रोजगारमा रहेकाहरु र तिनका परिवारको आँकडा अत्यन्त ठूलो छ । 

हरेकले आफूसँग भएको शक्ति, क्षमता बेच्ने हो । दलहरुले आफ्ना मतदाताको शक्ति मार्फत आफूलाई स्थापित गराउने हुन् । र, त्यहि मतदातामा ठूलो र निर्णयकारी शक्ति भनेको बैदेशिक रोजगारमा रहेकाहरु र तिनका परिवार छन् । त्यसैले यो निर्वाचनमा यदि बैदेशिक रोजगारमा रहेका व्यक्तिका परिवारले संगठित रुपमा केहि आवज उठाउने हो भनें दलहरु त्यसलाई मान्न बाध्य छन् । 

स्वदेशमा हुनेहरुले के गर्ने त? 

चुनाव घोषणा भइसकेको अवस्थामा अव स्थानीय तहको संरचनामा कसरी आफ्नो उपस्थीति, हिस्सेदारी खोज्ने भन्ने अहम् प्रश्न हो । त्यसैले आफ्नो क्षेत्रका बासिन्दा मध्ये कति बैदेशिक रोजगारीमा गएर फर्केका छन्, कति बैदेशिक रोजगारको क्रममा छन् त्यसका बारेमा जानकारी हासिल गर्नु पहिलो काम हो । यदि ठूलो तथ्याँक छ भनें त्यसले उम्मेदवारीको छनौटमा महत्वपूर्ण अर्थ राख्न सक्छ । 

यदि तथ्याँक भएमा त्यहि तथ्याँकका आधारमा सकेसम्म धेरै व्यक्तिसँग सम्पर्क गर्ने र निर्वाचनमा बैदेशिक रोजगार क्षेत्रलाई कसरी समेट्ने(सकेसम्म उम्मेदवार हुन प्रयत्न गर्ने र त्यो सम्भव नभएमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने व्यक्तिलाई यस क्षेत्रका लागि काम गर्ने सार्वजनिक प्रतिवद्धता कसरी गराउन सकिन्छ पहल, प्रयत्न गर्ने) विषयमा छलफल चलाउन आवश्यक छ । यसले हरेक क्षेत्रमा एकप्रकारको तरंग ल्याउनेछ । समय हुँदै यो ढंगको पहल गर्न सके केहि क्षेत्रमा निश्चित रुपमा बैदेशिक रोजगारबाट फर्केका व्यक्ति वा तिनका परिवारले उम्मेदवारी पाउनेछन् । यो नीति निर्माण तहमा बैदेशिक रोजगारीमा संलग्न व्यक्तिको सहभागिताका लागि कोशेढुँगा सावित हुनेछ । 

बैदेशिक रोजगारमा रहेकाहरुले 

रोजगारीका क्रममा विदेशमा रहेकाहरुले आगामी निर्वाचनमा बैदेशिक रोजगार क्षेत्रलाई राजनीतिक दल तथा उम्मेदवारहरुले कसरी प्राथमिकता दिनेछन् भनेर प्रश्न उठाउन र झक्झक्याउन महत्वपूर्ण भूमिका खेल्न सक्दछन् । यसका लागि पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग अत्यन्त उपयोगि देखिएको छ । उनीहरुले सामाजिक सञ्जाल मार्फत आफ्ना तर्कहरुलाई मात्र प्रस्तुत गर्न सक्ने नभई त्यसैका आधारमा जनमत निर्माणमा महत्वपूर्ण अभियान सञ्चालन गर्न सक्दछन् । उनीहरुले परिवार वा साथिहरु मार्फत आफ्ना प्रश्नहरु सम्वन्धित राजनीतिक दलहरु र उम्मेदवारहरुसम्म पुर्याउन सक्दछन् । 

किन यो आवश्यक छ ? 

जवसम्म नीति निर्माण तहमा प्रतिनिधित्व हुन्न तवसम्म बैदेशिक रोजगारमा रहेका व्यक्ति केवल मुलुक धान्ने ईन्धनका पाइप जस्तै हुनेछन् । उनीहरुकै बलमा मुलुकको आर्थिक कृयाकलाप त चल्ने छ तर जुन दिन त्यो पाइपमा खिया लाग्दछ वा प्वाल पर्दछ अर्को पाइप तयार हुनेछ । त्यसैले निर्वाचनको पूर्व सन्ध्यामा चुप लागेर बस्नु भनेको अरु केहि बर्ष पुनः नीति निर्माण तहमा प्रतिनिधित्वको अवशर गुमाउनु हो । 

त्यसैले बोलौं, यस पटकको स्थानीय तहको निर्वाचनमा हाम्रो उम्मेदवार को हो भनेर ? यसमा अमुक पार्टीको पक्षधरताको कुरा राख्नुहुन्न । जुनसुकै पार्टीबाट होस् प्रतिनिधित्वको आवाज उठाऔं । उनीहरुले निर्वाचन जितेमा त्यसले भोलीका लागि सहभागिताको ठूलो अवशरको ढोका खोल्नेछ । त्यसैले बैदेशिक रोजगारका क्रममा रहेकाहरु, फर्केकाहरु र तिनिहरुका परिवारलाई प्रश्न अवको स्थानीय तहको निर्वाचनमा तपाईको उम्मेदार को ?      

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/OYTgsk8CxPI” frameborder=”0″ allowfullscreen></iframe>{/source} 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: