काठमाडौँ- केयरगिभरका रूपमा इजरायल जाने कामदारले करिब ८० हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने भएको छ । स्वास्थ्य परीक्षण, बिमा, कल्याणकारी कोष र हवाइ टिकटमा कामदारले करिब ८० हजार रुपैयाँ बुझाउनुपर्ने भएको हो ।
बाँकी खर्च भने कामदारको सट्टा अन्य सम्बन्धित पक्षले व्यहोर्ने वैदेशिक रोजगार विभागले जनाएको छ । केयरगिभरका रूपमा इजरायलमा काम गर्ने कामदारले मासिक १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन् । इजरायलले दोस्रो चरणमा ४८ जना महिला र १२ जना पुरुषलाई ५१ महिनाको श्रम सम्झौता गरी केयर गिभरका रूपमा लाँदैछ । विभागकी निर्देशक रमा भट्टराईले आवेदनका क्रममा खर्च नलाग्ने तर अन्तिम छनोटमा पर्नेहरुले मात्र ७० देखि ८० हजार रुपैयाँ खर्च गर्नुपर्ने बताइन् ।
विभागले केयरगिभरका रूपमा इजरायल जान चाहनेहरुसँग अहिले आवेदन सङ्कलन गरिरहेको छ । इजरायलले केयरगिभरका रूपमा दोस्रो चरणमा थप ६० जना कामदार माग गरेपछि विभागले फागुन १८ गतेबाट आवेदन लिन थालेको हो ।
फागुन १८ गतेयता करिब १ सय जनाले आवेदन बुझाएका छन् । विभागले अनुमति दिएका विभिन्न १८ वटा संस्थाबाट कियर गिभरको तीन महिने तालिम लिएका वा प्राक्टिकल नर्सिङको तालिम लिई नेपाल नर्सिङ परिषद्मा दर्ता भएकाहरुले मात्र आवेदन दिन पाउने भएकाले विभागमा आवेदन बुझाउनेको भिड नदेखिएको हो । यद्यपि, कियर गिभरको तालिम लिनेको सङ्ख्या १ हजार ७ सय रहेकाले करिब २ हजार जनाको आवेदन पर्ने विभागको अनुमान छ ।
विभागकी निर्देशक भट्टराईले संकलित आवेदन रुजु गरेर इजरायली दूतावासमा पठाइने र दूतावासले छनोट गर्ने एक सय जनालाई मात्र स्वास्थ्य, अङ्ग्रेजी भाषा लगायतका परीक्षणमा सहभागी गराइने बताइन् । केयर गिभरलाई वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र अशक्तहरुको स्याहारसुसार तथा रेखदेखमा खटाइने छ । विभागले आवेदन दिनेमध्येबाट ६० जनालाई असारको दोस्रो सातासम्म इजरायल पठाइसकिने बताएको छ ।
म्यानपावर कम्पनीहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म उठाएपछि इजरायलले २०७२ सालको साउन २२ गते सरकारी तहबाट नै केयर गिभरको छनोट गर्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको थियो । इजरायलले पहिलो चरणमा गत साउन महिनामा ५९ जना कामदार लगेको थियो ।
कारोवारबाट