काठमाडौं, फागुन २३– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइने कोरियाली भाषा परीक्षाको आवेदन अनलाइन प्रणालीबाट संकलन गरिने भएपछि परीक्षा दिने नेपालीको संख्या लगभग दोब्बरले बढ्ने अनुमान सरकारले गरेको छ । आवेदन संकलनको प्रक्रिया सहज गरिएको र विदेशमा रहेका नेपालीले समेत आवेदन दिने भएकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष आवेदन दिने कामदारको संख्या बढ्ने भएको हो । ईपीएस शाखा नेपालका निर्देशक बाबुराम खतिवडाले कोरिया जान लिइने भाषा परीक्षाको आवेदन सहज गरिएका कारण १ लाख बेरोजगार नेपालीले फारम पर्ने अनुमान गरिएको बताए ।
“अघिल्लो वर्ष ६१ हजार नेपालीले आवेदन दिएकोमा यो वर्ष परीक्षा फारम पर्नेको संख्या १ लाखसम्म पुग्ने अनुमान गरिएको छ,” निर्देशक खतिवडाले कारोबारसँग भने, “एक लाखभन्दा बढीले आवेदन दिन सक्ने अनुमानसहित सबै प्राविधिक प्रक्रिया पूरा गरिसकेका छौं ।”
अनलाइन प्रणाली विकास गरिएकाले विदेशमा रहेका नेपालीले समेत आफन्तको सहयोगमा फारम भर्न सक्ने छन् । विदेशमा रहेका नेपालीका आफन्तले तोकिएको बैंकमा परीक्षा शुल्क बुझाएपछि रकम बुझाएको कोड नम्बर विदेशमा पठाएर उतैबाट आवेदन दिन सक्ने छन् ।
आइतबार श्रममन्त्री सूर्यमान गुरुङको अध्यक्षतामा बसेको बैठकले परीक्षा शुल्क र परीक्षा व्यवस्थापनसम्बन्धी सरोकारवाला निकायसँग छलफल गरी आवेदन शुल्क बुझाउने बैंकको नाम निश्चित गरेको थियो ।
कोरियाली भाषा परीक्षाको आवेदन शुल्कका लागि ग्लोबल आईएमई बैंकका देशभरका ९४ शाखामा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । बैंकमा पैसा जम्मा गर्ने आवेदकको भीड अत्याधिक हुने क्षेत्रमा बैंकले ईपीएस परीक्षार्थीका लागि छुट्टै काउन्टरको व्यवस्था गर्ने सहमति भएको निर्देशक खतिवडाले जानकारी दिए ।
अघिल्लो वर्ष सम्पूर्ण आवेदकमध्ये आधा अर्थात् ३० हजारले उपत्यकाबाट आवेदन दिएका थिए । अघिल्ला वर्ष आवेदन चाप पहिलो दिन अध्याधिक हुने गरेको अनुभवका आधारमा यो वर्ष लगभग ४० हजारभन्दा बढीको चाप काठमाडौं उपत्यकामा हुने देखिएको छ ।
ईपीएस कामदारका कारण चैत ९ गतेदेखि १८ गतेसम्म देशभर ग्लोबल आईएमई बैंकमा सेवाग्राहीको भीड बढ्ने भएको छ । यसअघि इपीएसले संकलन केन्द्रमै काउन्टर राखेर शुल्क लिँदै आएको थियो ।
बैंक जान नसक्ने आवेदकले ई–सेवामार्पmत समेत परीक्षा शुल्क बुझाउन सक्ने ईपीएस कार्यालयले जनाएको छ । कोरियाले भाषा परीक्षा शुल्कका लागि २४ अमेरिकी डलर लिँदै आएको छ ।
आवेदक वढ्ने अनुमानसहित सरकारले अनलाइनका लागि स्थापना गरिएको सर्भरको क्षमतासमेत दोब्बरले वृद्धि गरेको छ । आवेदकलाई अनलाइनमार्पmत फारम भर्न प्राविधिक समस्या नहोस् भनेर दुई वटा इन्टरनेट सेवा प्रदायकबाट सेवा लिने तयारी गरिएको छ ।
१ सेकेन्डमा १० हजार कामदारले अनलाइन सेवामा प्रवेश गर्न सक्ने अनुमानसहित प्राविधिक क्षमता विस्तार गरिएको शाखाले जनाएको छ । घरमा नै इन्टरनेट सुविधा भएका परीक्षार्थीलाई दिउँसोको तुलनामा राति फारम भर्न ईपीएस कार्यालयले अनुरोध गरेको छ ।
शाखाका अधिकृत शोभाकर भण्डारीले अन्तिम समयमा भीडभाड हुने भएकाले ९, १० र ११ गतेभित्रै फारम भर्न सबैलाई अनुरोध गरेका छन् । कोरियाको भाषा परीक्षार्थीको संख्या ८० हजार मात्र पुगे पनि बैंकहरूले १० दिनमा मात्र २० करोड रुपैयाँभन्दा बढी संकलन गर्ने भएकोे छ । यसरी संकलन भएको शुल्क परीक्षा सञ्चालनका लागि खर्च गरिँदै आएको छ ।
कारोवारबाट
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1