![खाडी लैजाने भन्दै महिलालाई भारत लैजाने पक्राउ](https://deshparadesh.com/wp-content/uploads/2020/01/cropped-logo.png)
काठमाडौं, फागुन २०- रोजगारीका लागि विदेश पठाइदिने भन्दै ३ महिलालाई भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ताप्लेजुङ, बाग्लुङ र बाँके बनकटवाकी महिलालाई भारत लग्दै गर्दा दैलेख जगन्नाथ ३ का शेरबहादुर कसेरा र बर्दिया बाँसगढी ५ की बिमला सुनारलाई नियन्त्रणमा लिएको हो । नेपालगन्ज नाका हुँदै बिहीबार भारतको रुपैडिहा सीमा छिरिसकेका उनीहरूलाई जमुनाहा प्रहरीले पक्राउ गरेको छ ।
खाडी मुलुक पठाइदिने भन्दै भारत लैजान लागिएका महिला फरक फरक जिल्लाका भएका कारण बेचबिखन उद्देश्य रहेको शंका प्रहरीको छ । पक्राउ परेका कसेरा र सुनारलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालिएको छ । ती महिलालाई सीमामा रोकेर सोधपुछ गर्दा शंकास्पद जवाफ दिएपछि नियन्त्रणमा लिइएको हो । उनीहरूले रोजगारीका लागि खाडी जान लागेको बताएका थिए ।
प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । विदेश जाने भन्दै भारत लैजान लागिएका महिलाको बयानपछि थप विवरण खुल्ने उनले बताए । उनीहरूलाई भने गैरसरकारी संस्थाको सेल्टरमा राखिएको छ । ताप्लेजुङकी महिलाले पहिलोपल्ट नेपालगन्ज आइपुगेको बताइन् ।
सरकारले भारतको बाटो हुँदै खाडी जान पूर्ण रूपमा निषेध गरेको छ । तर, भारतमै भिसा मिलाइदिने भन्दै नेपालगन्ज नाकाबाट महिला लैजाने क्रम अझै रोकिएको छैन । आर्थिक प्रलोभनमा पारेर भारत लैजाने मानव तस्करको गिरोह क्रियाशील छ । मानव बेचबिखनविरुद्धका क्षेत्रमा काम गर्ने माइती नेपाल नेपालगन्जका अनुसार नाकाबाट भारत गएका मध्यपश्चिमका ५ सयभन्दा बढी महिला हराएको भन्दै खोजीका लागि निवेदन परेको छ ।
कतिपय महिलालाई पर्यटक भिसामा विदेश पठाउने भन्दै भारत लगिने गरेको पाइएको छ । त्यस्तै, बिहेवारीको बहाना बनाएर पनि भारत लैजाने गरिएको थुप्रै घटना आएका छन् । माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले मानव तस्करले विभिन्न बहाना बनाएर महिलालाई भारत लैजाने प्रयास रहेको बताए ।
कान्तिपुरबाट