राजदूतमा लामाको नाम हट्यो

काठमाडौं- सरकारले युनाइटेड अरब इमिरेट्स (युएई) को राजदूतमा सिफारिस आशा लामाको नाम फिर्ता लिँदै बाँकी विभिन्न देशको राजदूतमा सिफारिस १२ जनाको नाम सुनुवाइका लागि संसदीय समितिमा पठाएको छ। फागुन ९ गतेको मन्त्रिपरिषद् बैठकले स्पेनमा नयाँ दूतावास खोल्ने निर्णय गर्नुका साथै राजनीतिक भागबन्डामा १४ देशका लागि विभिन्न व्यक्तिको नाम राजदूतमा सिफारिस गरेको थियो।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले लामाको नाम राजदूत सिफारिस सूचीबाट फिर्ता लिने र स्पेन सरकारबाट दूतावास खोल्ने स्वीकृति प्राप्त नभएसम्म त्यहाँको राजदूतमा सिफारिस गरिएका भरत रायमाझीको नाम संसदीय सुनवाइका लागि नपठाउने निर्णय गरेको हो। बैठकले स्पेनमा दूतावास खोल्न आवश्यक प्रक्रिया तत्काल अघि बढाउन परराष्ट्र मन्त्रालयलाई निर्देश गरेको छ।

‘राजदूतमा सिफारिस गरिएका १४ जनामध्ये युएईका लागि सिफारिस आशा लामाको नाम फिर्ता लिने निर्णय सरकारले गरेको छ। स्पेनमा दूतावास खोल्ने अनुमति प्राप्त नहुन्जेलसम्म त्यहाँका लागि सिफारिस भरत रायमाझीको नाम संसदीय सुनवाइ समितिमा नपठाउने निर्णय भएको छ’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो, ‘नयाँ निर्णय अनुसार प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत बिहीबार राजदूतमा सिफारिस १२ जनाको नाम संसदीय सुनवाइ समितिमा पठाएको छ।’

मन्त्रिपरिषद्ले फागुन ९ गते एकसाथ १४ देशका लागि राजदूत सिफारिस गरेको थियो। जसमध्ये कांग्रेस कोटाबाट ६, माओवादी केन्द्र कोटाबाट ४, राप्रपा कोटाबाट ३ र फोरम लोकतान्त्रिक कोटाबाट एक राजदूत सिफारिसमा परेका थिए। कांग्रेस कोटाबाट भीम उदासलाई म्यानमार, अर्जुनबहादुर सिंहलाई कोरिया, विश्वम्भर प्याकुरेललाई श्रीलंका, चोपलाल भुसाललाई बंगलादेश, आशा लामालाई युएई र रमेशप्रसाद कोइरालालाई कतारका लागि  राजदूतमा सिफारिस गरिएकोमा लामाको नामा फिर्ता लिइएको हो।

यस्तै माओवादी केन्द्रको कोटाबाट पदम सुन्दास बहराइन, महेन्द्रबहादुर सिंह साउदी अरेबिया, लक्की शेर्पा अस्ट्रेलिया र युवनाथ लम्साल डेनमार्कको राजदूतमा सिफारिस भएका छन्। राप्रपा कोटाबाट निरञ्जन थापा इजरायल, भरत रायमाझी स्पेन र प्रतिभा राणा जापानको राजदूतमा सिफारिस भएका छन्। शर्मिला पराजुलीलाई फोरम लोकतान्त्रिक कोटाबाट ओमानको राजदूतमा सिफारिस गरिएको छ। 

सिफारिससँगै लामा, पराजुली र कोइरालाको नाम विवादमा तानिएको थियो। म्यानपावर व्यवसायी लामालाई राजदूत बनाएको भन्दै सरकारको आलोचना भएको थियो। लामाविरुद्ध वैदेशिक रोजगारीको सिलसिलामा ठगी गरेको भन्दै दुई दर्जनभन्दा बढी उजुरी परेका छन्। जुन देशका लागि लामाको सिफारिस भएको थियो त्यही देशमा रहेको नेपाली दूतावासमा उनीमाथि उजुरी परेका छन्। कांग्रेस कोटाबाट राजदूत सिफारिसमा परेकी उनी जनमोर्चा नेपालबाट दोस्रो संविधानसभामा निर्वाचनमा काठमाडौं क्षेत्र– ४ मा उम्मेदवार बनेकी थिइन्। चुनावमा उनको १४ मत आएको थियो।

यस्तै, सरकारले स्पेन सरकारसँग स्वीकृति नलिई त्यहाँ दूतावास खोल्ने निर्णय गरेपछि व्यापक आलोचना भएको थियो। परराष्ट्र मन्त्रालयसँग सल्लाह नगरी सरकारले नयाँ दूतावास खोल्ने निर्णय लिएको थियो। परराष्ट्रले नै सरकारको निर्णयप्रति असन्तुष्टि जनाएपछि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्पेनमा दूतावास खोल्न स्वीकृति लिने प्रक्रिया तत्काल सुरु गर्न परराष्ट्रलाई निर्देशन दिएको हो। ‘परराष्ट्रले स्पेन सरकारसँग दूतावास खोल्ने सहमति लिएपछि आवश्यक अन्य प्रक्रिया अघि बढाइने छ’ स्रोतले भन्यो।

नागरिकबाट 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CUG3wYJyJig?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: