राजदुत सिफारिस प्रकरणः नाक थेप्चो हुँदैमा समर्थन वा विरोध !   

सुनिल न्यौपाने-

लेखक स्वयं चुच्चो नाकवाला हो । तर यो लेख समथर नाकको दृष्टिकोण राखेर पढ्न आग्रह छ । न चुच्चो, न थेप्चो । 

पछिल्ला केहि बर्षयता नेपालमा कुनै खेती सप्रियो भनें त्यो अर्को जाती, क्षेत्र, वर्ग र समुदायप्रति घृणा फैलाउने । चुच्चो नाकधारीले थेप्चो नाकधारी र थेप्चो नाकवालाले चुच्चो नाकवाला प्रति घृणा गर्न सिके । कालो वर्णकाहरुले गोरो वर्णका र गोरो वर्णकाहरुले कालो वर्णकाहरुलाई घृणा गरे । जनजातिले ब्राम्हण क्षेत्री र ब्राम्हण क्षेत्रीले जनजातिलाई एकअर्काका विपरित ठाने । र, तराई मधेसले पहाड र काठमाडौंलाई दुश्मन ठान्यो र पहाडले तराईलाई । हो यहि उँधोमतिमा हामी लागिरह्यौं । नतिजा हामीलाई पटमुर्ख बनाइयो । हामी सहीलाई सही र गलतलाई गलत भन्ने छुट्याउन सक्न छोड्यौं । 

सरकारको १४ राजदुत सिफारिस प्रकरणपछि देशपरदेशले आशा लामा र शर्मिला पराजुलीका विषयमा केहि समाचारहरु प्रकाशित गर्यो । यसअघिको सरकारले पनि सिफारिस गरेकी पराजुलीका बारेमा उतिबेला पनि देशपरदेशले सो सिफारिस गलत हो भन्ने विषयमा धेरैवटा समाचार तथा लेख प्रकाशन गरेको थियो । हाम्रो तर्क यहि थियो म्यानपावर कम्पनी खोलेर सोही देशमा कामदार सप्लाई गर्नेहरु सोही देशको राजदुत बनेर जाँदा मुलुकको ईज्जत बढ्दैन । उनीहरुले ठिक तरिकाले काम नगर्ने सम्भावना बढी रहन्छ । त्यहि विचार हामीले त्यतिबेला राखेका थियौं । 

अरु कुनै ‘बहादुर’ले गर्न नसक्ने काम पराजुलीले यसपटक पनि गरिदिइन् । अर्थात सरकार फेरिएपनि न उनको राजदुतको सिफारिस फेरियो न त उनका लागि प्रस्ताव गरिएको देश । यसले देखाउँछ नेपाली राजनीतिमा पैसा कति पावरफुल भएको छ भन्ने कुरा । सायद संविधान संशोधनको एउटा तुरुप फोरम लोकतान्त्रिकका अध्यक्षले यसलाई पनि बनाए । तर वर्तमान सरकारले पराजुलीसँगै कहिं कतै अनुमान, आँकलन नगरिएकी आशा लामालाई पनि सिफारिस गरेर देखायो त्यो पनि उनी क्रियाशिल युएईका लागि राजदुतका रुपमा । त्यसैले स्वभाविक रुपमा यसपटक बढी ध्यान आशा लामाप्रति रह्यो । 

पंक्तिकारले न व्यक्तिगत रुपमा आशा लामालाई चिन्दछ न त उनीप्रति व्यक्तिगत बैरभाव राख्नुपर्ने अन्य कारण छन् । तर आशा लामाका बारेमा हामीले निरन्तर केहि सामग्री प्रकाशित गरेपछि केहि जनजाति मित्रहरुले यसमा चित्त दुखाई गरे । केहिले फोन मार्फत यतिधेरै जनजातिलाई नखेद्न आग्रह समेत गरे । यसले अचम्मित तुल्याएको छ । के हाम्रो समाज यो स्तरमा पुगिसक्यो ? के सहीलाई सही र गलतलाई गलत भन्न हामी नसक्ने भईसक्यौं ? हामी हरेक विषयलाई जात, बर्ग, क्षेत्रको चस्माले मात्र हेर्न थाल्यौं ? यस प्रकरणमा थेप्चो नाकवालहरु जो सत्यको पक्षमा छन्, उनीहरु आशा लामाको सिफारिस गलत भयो भनेर उभिएको पनि प्रसस्तै देखिएको छ उनीहरुलाई भनें विर्सन मिल्दैन ।  

आशा लामा युएईका लागि राजदुत हुन योग्य होइनन भनेर प्रश्न उठाउने वित्तिकै केहि जनजाति मित्रहरु सञ्चार माध्यम र सामाजिक सञ्जालमा त्यसको बचाउ गर्न उत्रिए । र, त्यसरी उत्रिनेहरुमा नाम कहलिएका केहि रहे । उनीहरुका तर्क पढिसकेपछि लाग्यो की त उनीहरुले सत्यको अन्वेशण गर्नै चाहेनन्, कि त सत्य ढाकछोप गर्न सकिन्छ भन्ने भ्रम पाले । नाम उल्लेख गरिरहन जरुरी रहेन, तर जो जसले त्यो प्रयत्न गरेका छन्, यति मात्र हृदयंगम गरौं भोली कुनै पीडितले आँशु झार्दा त्यो आँशु पुछ्ने हैसियत पनि तपाईले यहि समर्थन सँगै गुमाइसक्नु भएको छ । किनकी पीडक भनेर थाहा पाइसकेपछि पनि नाक वा जातका आधारमा हामी कसैलाई काँध थाप्न तयार हुन्छौं भनें हामी केवल जातिवादी हुन सक्छौं । 

यति धेरै सत्य छताछुल्ल भइसक्दा पनि चुँ नबोल्ने नेपाली काँग्रेस तथा वर्तमान सरकारले उनीहरुको प्रस्ताव फिर्ता लिन्छ भन्ने विश्वास छैन । त्यसैले सम्भवत उनीहरुका लागि संसदिय सुनुवाईको तगारो उति कष्टकर नहोला । तर पंक्तिकार अहिले पनि आशा लामा र शर्मिला पराजुली राजदुतका लागि योग्य व्यक्ति होइनन् भन्नेमा अडिग छ । चाहे थेप्चो नाक वा चुच्चे नाकवालाको चित्त अझै किन नदुखोस् ।     

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: