म्याग्दी, फागुन ५-
विदेशबाट फर्किएका म्याग्दीका एक युवाले आधुनिक प्रविधि र संरचनाको प्रयोग गरेर बाख्रापालन सुरु गरेका छन् । बेनी नगरपालिका–३ गौस्वाँराका ३७ वर्षीय विराज मल्लले सञ्चालन गरेको सिद्धबराह बाख्रापालन तथा कृषि फार्ममा नयाँ शैली, प्रविधि र संरचनाको प्रयोग भएको छ ।
३० मिटर लम्बाइ र ५।२ मिटर चौडाइ भएको खोरभित्र बाख्रा राख्ने ११ वटा छुट्टाछुट्टै कोठा छन् । मानिस बस्ने घरजस्तै सफासुग्घर रहेको फार्मभित्र ब्याउने बाख्रा, भर्खरै ब्याएका, तीन महिना पुगेका पाठापाठी, सोभन्दा साना पाठापाठी, बोका, माउ बाख्रा बस्ने छुट्टाछुट्टै कोठा छन् । सजिलै घाँस, दानापानी खान सक्ने डुँडको व्यवस्था गरिएको खोरको बाख्रा बस्ने टाँडमा मल रोकिँदैन । जाडो याममा न्यानोका लागि फाइबर टिनको व्यवस्था गरिएको छ ।
गर्मीमा हावा छिर्नेगरी झ्यालमा तारजाली राखिएको छ, जसले गर्दा बाख्रालाई खोरभित्र र बाहिर लैजाने तथा ल्याउने गर्नुपरेको छैन । घाँस काट्ने आधुनिक औजारको प्रयोग गरिएको उक्त फार्मका सञ्चालक मल्लले जंगलबाट फार्मसम्म घाँस ल्याउन रोपवे, बाख्राले चाहेको बेला आफैँ पानी पिउन सक्ने व्यवस्था र चिसोबाट बचाउन खोरभित्र हिटर जडान गरेका छन् ।
“टेलिभिजन र इन्टरनेटमा विदेशका बाख्रा फार्म देखेको आधारमा सोही अनुसारको संरचना बनाएर बाख्रा पालेको हुँ,” मल्लले भने, “खोरलाई सरसफाइ, वातावरण अनुकूलित र व्यवस्थित बनाउन सकेमा रोगको समस्या धेरै कम हुन्छ ।” बाख्रामा कुनै स्वास्थ्य समस्या देखिए लक्षणको आधारमा इन्टरनेटमा उपचार विधिको बारेमा खोजी गर्ने र कृषि प्राविधिकसँग टेलिफोनमार्फत परामर्श लिने गरेका छन् ।
प्रविधि र यन्त्र उपकरणको प्रयोगले मानवीय श्रम कम हुने तथा उत्पादन लागत घटाएर बढी मुनाफा गर्न सकिने मल्लले बताए । उनले बाख्रा, खसीबोकाको सामाजिक सञ्जाल फेसबुक पेज खोलेर बजारीकरण गर्छन् ।
साढे तीन वर्ष इराकमा काम गरेर गाउँ फर्किएका मल्लले बाख्रा फार्म स्थापना र पूर्वाधार तयार गर्न हालसम्म २० लाख रुपैयाँ लगानी भएको बताए । खोरमा भएका बाख्राको हिसाब गर्दा फार्मको पुँजी करोड रुपैयाँभन्दा बढी हुन्छ । दुई वर्षअघि २७ वटा बाख्राबाट फार्म सुरु भएको थियो ।
११० वटा जमुनापारी, बित्तल र खरी जातका बाख्रा रहेको फार्मबाट पछिल्लो एक वर्षयता पाँच लाख रुपैयाँबराबरको खसीबोका बिक्री भएको छ । आफूबाहेक थप चार जनालाई रोजगारी दिएका छन् मल्लले ।
व्यवसायमा सफल नभएपछि विदेश गएका मल्लले आफ्नै देशमा केही गरेर स्वरोजगार बन्ने अठोटका साथ सुरु गरेको बाख्रापालनबाट सन्तुष्ट रहेको बताए । व्यवस्थापन र संरचनाको हिसाबले उक्त फार्म जिल्लामै नमुना रहेको पशु सेवा केन्द्र ज्यामरुककोटका पशु सेवा प्राविधिक टुकनाथ तिवारीले बताए । उनका अनुसार गत वर्ष पशु सेवा कार्यालयले उक्त फार्मलाई युवा स्वरोजगार कार्यक्रमअन्तर्गत एक लाख रुपैयाँ अनुदानका साथै प्राविधिक सेवा उपलब्ध गराएको छ ।
कारोवारबाट