कोरियाली भाषा परिक्षा जेठमा 

काठमाडौं- नेपाली युवाको आकर्षक रोजगार गन्तव्य कोरियाले रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि चैतमा कोरियन भाषा परीक्षाको आवेदन खुला गर्ने भएको छ । परीक्षाका लागि आवेदन दिन अनलाइन प्रणालीको व्यवस्था गरिएको छ । संकलन केन्द्रमा लामो लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न अनलाइन प्रणालीको व्यवस्था गरिएको बताइएको छ । कोरियाले नेपाली युवालाई आफ्नो देशका साना तथा मझौला उद्योगमा रोजगारीका लागि बर्सेनि कोरियन भाषा परीक्षा सञ्चालन गर्दै आएको छ ।

जेठको अन्तिम साता परीक्षा सञ्चालन गर्ने योजनाअनुसार रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गतको भाषा परीक्षाको आवेदन चैत अन्तिम सातामा आह्वान गर्ने तयारी रहेकोे ईपीएस शाखाले जनाएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले चैतमा परीक्षा आवेदन र जेठमा परीक्षा सञ्चालन गर्न कोरियाको मानव संसाधन बोर्ड ९एचआरडी० लाई प्रस्ताव पठाएको छ ।

“चैतमा परीक्षाको आवेदन लिने र जेठको अन्तिम साता परीक्षा सञ्चालन गर्ने योजना नेपाली पक्षको भएपछि एचआरडीलाई प्रस्ताव पठाएका छौं,” ईपीएस शाखा नेपालका अधिकृत शोभाकर भण्डारीले भने, “यो वर्ष भाषा परीक्षाका लागि अनलाइन प्रणाली विकास गरिएकाले आवेदन दिन संकलन केन्द्रमा लाइन बस्नु पर्दैन ।”

कोरिया सरकारले ईपीएसअन्तर्गत कामदार माग गरिरहेका १६ देशमा पनि यही समयमा परीक्षाको आवेदन र परीक्षा सञ्चालन गर्ने गरेको छ । यसअघि कोरियन भाषा परीक्षाको आवेदन पेस गर्न २४ घण्टाभन्दा बढी लाइन बस्नुपर्ने अवस्था थियो ।

लामो समय फर्म भर्नका लागि लाइनमा बसेका कतिपय युवा बेहोस् हुने गरेकाले शाखाले यो वर्षदेखि घरमै बसेर फर्म भर्न सक्ने गरी अनलाइनको व्यवस्था गर्ने भएको हो । अनलाइन आवेदन दिन सरकारले सम्पूर्ण प्राविधिक तयारी पूरा गरिसकेको जनाएको छ ।

कोरियन भाषा परीक्षाका लागि गत वर्ष ६० हजार युवाले ४ दिन लागाएर आवेदन दिएका थिए । यो वर्ष पनि सोही संख्यामा बेरोजगार युवाले आवेदन दिन सक्ने अनुमानसहित नेपाल पक्षले सम्पूर्ण तयारी पूरा गरेको छ ।

अघिल्ला वर्ष कोरियन भाषा परीक्षाका लागि देशका विभिन्न ५ क्षेत्रबाट आवेदन फर्म संकलन गरिएको थियो भने परीक्षा काठमाडौं र पोखरामा मात्र सञ्चालन गरिएको थियो । कोरियामा हाल ४० हजारभन्दा बढी नेपाली कृषि तथा उत्पादनमूलक क्षेत्रमा कार्यरत छन् । कोरिया सरकारले विदेशी कामदारलाई कोरियन कामदार सरह तलब र अन्य श्रमिक सुविधा दिने गरेका कारण नेपाली कामदारको पहिलो रोजाइ कोरिया रहँदै आएको छ ।

कोरियामा हाल नेपाली कामदार मासिक १३ लाख कोरियन वन अर्थात् लगभग १ लाख २५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । कोरियामा १६ देशका कामदारमध्ये नेपाली कामदारको कार्यक्षमता उच्च रहेका कारण मागसमेत बढ्दै गएको शाखाले जनाएको छ ।

कारोवारबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: