हत्या अभियुक्त साउदी अरवमा पक्रेर नेपाल ल्याईंदैै

काठमाडौं, माघ १८- घटना जति पुरानो छ त्यति नै अपत्यारिलो र विभत्स पनि छ । कास्कीको सिद्ध गाविसका धेरै बुढापाकाले सायद उक्त घटना बिर्सिसके । नेपाली सेनाका एक अवकाशप्राप्त जवानले झन्डै १८ वर्ष अघि २०५५ कात्तिक १ गते धारिलो हतियार प्रयोग गरेर सिद्ध गाविस–७ का शविराज थापाको हत्या गरेका थिए ।

हत्यापछि फरार अभियुक्त जीवनबहादुर अधिकारीलाई घटनाको १८ वर्षपछि नेपाल प्रहरीले साउदी अरबबाट पक्रेर ल्याउने अन्तिम तयारी थालेपछि उक्त घटना पुनः चर्चामा आएको छ ।

सिद्ध गाविसको बागेश्वरी आधारभुत विद्यालयका शिक्षक रामराज छिमाल १८ वर्ष पुरानो उक्त घटना अहिले पनि सम्झिन्छन् । छिमालले उक्त दिन सम्झिँदै भने, ‘घटना लगत्तै सिंगो गाउँ महिनौंसम्म त्रसित बनेको थियो । रात नपर्दै गाउँलेहरु घरभित्र पस्थे ।’ 

छिमालका अनुसार मृतक थापा र अधिकारी पुराना साथी थिए । उनीहरु अरु बेला पनि सँगै हिँड्थे, खाने–पिउने पनि उनीहरुको सँगै नै हुन्थ्यो । उनले सुने अनुसार घटनाका दिन थापाले कास्की फाईनान्सबाट झण्डै बीस हजार रुपैयाँ झिकेर ल्याएका थिए । सो रात गाविस भवन छेउकै घरमा थापा र अधिकारी मादक पदार्थ सेवन गरेर बसेका थिए । बिहान रगताम्य अवस्थामा थापाको शव घर छेउमा भेटिएको थियो । 

‘त्यसपछि के के भयो त थाह भएन । तर मान्छेमा वर्षौंसम्म डर भने रहिरह्यो,’ छिमालले त्यो दिन सम्झिँदै भने, ‘त्यो घटनापछि त्यसै सेलायो । मृतककी आमा पनि सारै सोझी थिइन् । उनको पहुँच पनि कही कतै पुगेन । त्यसबारे केही भयो र ?’

घटना लगत्तै फरार रहेको अधिकारीलाई नेपाल प्रहरीले वर्षौंसम्म पक्रन सकेन । हत्या अधिकारीले नै गरेको निष्कर्षमा प्रहरी पुगेपनि पक्राउ गर्न नसकेपछि मृतकका परिवारको छोरोको हत्यारालाई कारवाही हुने आश पनि हरायो । 

हत्याको उक्त घटनामाथी केन्द्रिय अनुसन्धान ब्युरोको आँखा पर्‍यो । ब्युरोको अनुसन्धानले अभियुक्त अधिकारी भागेर साउदी अरब पुगेको पत्ता लगायो । त्यसलगत्तै ब्युरोले अधिकारीको नाम अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को रेड कर्नर नोटिसमा राख्नका निम्ती नेपाल प्रहरीको इन्टरपोल इकाइमा अनुरोध गरेको थियो । १२ जेठ २०७३ मा नेपाल प्रहरीले अधिकारीको नाम रेड कर्नर नोटिसमा राख्न इन्टरपोल हेडक्वार्टरमा अनुरोध गरेको थियो भने २४ जेठमा इन्टरपोलले अधिकारीको नाम रेड कर्नर नोटिसमा राखेको थियो ।

सुपुर्दगी सन्धी नभएकै कारण साउदी अरबबाट अभियुक्तको हैसियतमा अधिकारीलाई पक्राउ गरेर ल्याउन नेपाल प्रहरीलाई सजिलो थिएन । त्यसका निम्ती नेपाल प्रहरीको इन्टरपोल इकाइले साउदी अरबको इन्टरपोल इकाइसँग साईडलाईन वार्ता समेत गरेको थियो । हत्या अभियोगबारे साउदी इन्टरपोललाई विस्तृतमा जानकारी गराएपछि अधिकारीलाई पक्राउ गरेर डिपोर्ट गर्न तयार भयो ।

साउदी प्रहरीले अधिकारीलाई पक्रिसकेको छ र हवाई एस्कर्टिङ गरेर नेपाल ल्याउने अन्तिम तयारी चलिरहेको छ । नेपाल प्रहरीको इन्टरपोल इकाइ तथा अपराध अनुसन्धान विभागका एआईजी विज्ञानराज शर्माका अनुसार अधिकारीलाई ल्याउनका लागि दुई प्रहरी साउदी अरब जानका लागि तयारी अवस्थामा छन् । 

‘उताबाट खबर आउने बित्तिकै गृहसँग अनुमति लिइनेछ र प्रहरी साउदी अरब जानेछन्,’ शर्माले भने । उनी यो सफलतालाई प्रहरीको अन्तरदेशीय समन्वयको उपलब्धीका रुपमा हेर्नुपर्ने बताउँछन् । 

‘यो प्रकरणले अपराध गरेर भागेको अपराधी विश्वको जुनसुकै कुनाबाट पनि नेपाल प्रहरीले पक्रेर ल्याउन सक्छ भन्ने प्रमाणित गर्दछ,’ उनले भने ।

माघको पहिलो साता मात्रै काठमाडौंमा सम्पन्न भएको अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को २३ औं एसिया क्षेत्रीय सम्मेलनमा पनि अन्तरदेशीय समन्वयबारे कुरा चलेको थियो । विभिन्न देशमा रहेको इन्टरपोल इकाइले अपराधी पक्रिन र सम्बन्धित देशमा हस्तान्तरण गर्न सहयोग गर्ने विषयमा सम्मेलनमा बहस भएको थियो । 

यसअघि पनि १९ जेठ २०६९ मा भएको न्यायधिश रणबहादुर बमको हत्या घटनाका सुटर सञ्जय इस्माइली मगरलाई नेपाल प्रहरीले यसै गरी साउदी अरबबाटै पक्रेर ल्याएको थियो । त्यस्तै गैंडा तस्करीका अभियुक्त राजकुमार प्रजालाई भने मलेसियाबाट पक्रेर ल्याएको थियो ।

कान्तिपुरबाट

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/7M95Yy0W3sw” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: