काठमाडौं,माघ ३- लेवननमा पक्राउ परेकी रोजी लिम्वूको पक्राउ र थुनामा राखिएको घटना प्रति चासो व्यक्ति गर्दै उनको अविलम्व रिहाइका लागि ईन्टरनेशनल सेण्टर फर ट्रेड यूनियन राइट्स्(आइटीयूसीआर) ले लेवनन सरकारको ध्यानाकर्षण गराएको छ । यसैगरी उनलाई जवर्जस्ती स्वदेश फर्काउने निर्णय खारेजीको पनि अपिल गरिएको छ ।
आइटीयूसीआरका निर्देशक डेनियल व्ल्याकवर्नले लेवननको परराष्ट्र मन्त्राालयलाई पत्र लेख्दै घरेलु श्रमिकलाई संगठित गर्दै उनीहरुको अधिकारका लागि कार्यरत लिम्वूको पक्राउ तथा सुजना रानाको पक्राउ र जवर्जस्ती स्वदेश फिर्तिका बारेमा चासो व्यक्त गरिएको हो ।
कानूनी रुपमा बसेर काम गरिरहेकाहरुलाई विना कारण पक्राउ र कानूनी सहायता लिन समेत नदिइ बन्दी बनाउनु र स्वदेश फर्काउनु अन्यायपूर्ण घटना भएको ध्यानाकर्षणमा उल्लेख छ ।
घरेलु कामदारलाई संगठित गर्नु र उनीहरुको अधिकारका लागि लड्नु लेवननको कानून अनुसार पनि गैरकानूनी नभएको र यो अन्तराष्ट्रिय कानून अनुरुपको कार्य भएको पत्रमा उल्लेख छ । उनीहरुले गरेको कामलाई अन्तराष्ट्रिय संस्थाहरुले समेत महत्वका साथ लिएको भन्दै रोजी लिम्वूको अविलम्व रिहाईको माग गरेको छ । यसैगरी उनको स्वदेश फिर्ताको निर्णय खारेजीको आइटीयूसीआरले आग्रह गरेको छ ।
पत्रमा घरेलु कामदारका विषयमा आउने मुद्धाहरुमा फिनासोलसँगको समन्वयमा सुल्झाउन तथा आइएलओको नीति अनुरुप कार्य गर्न आग्रह गरिएको छ । कानूनी रुपमा बसिरहेका व्यक्तिको पक्राउ, हिरासतमा राखिनु र कानूनी सहयोग समेत लिन नदिइ जवर्जस्ती स्वदेश फिर्तिको घटना हुनु आश्चर्यको विषय भएको पत्रमा उल्लेख छ ।