काठमाडौं, पुष २६
साउदी अरब, बहराइन र ओमनमा काम गर्न जानका लागि अन्तर्वार्ताबाट छनोटमा परेका नयाँ कामदारको स्वास्थ्य परिक्षण (मेडिकल) जनवरी १ तारिखबाट रोकिएको छ । मेडिकल नभएपछि ती देशमा जाने कामदारको भिसा लगाउने प्रक्रिया अवरुद्ध बनेको छ ।
गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले प्रति कामदार १० अमेरिकी डलर बुझाउनुपर्ने नयाँ नियम विवादमा परेपछि कामदारको स्वास्थ्य परिक्षण रोकिएको हो । खाडी राष्ट्रको एउटै स्वास्थ्य नीति लागू गर्ने निकाय जीसीसी हो । ‘जनवरी एकबाट प्रति कामदार १० डलर पठाउनुपर्ने नियम लागू भयो । मेडिकल गरेबापत तोकिएको बैंकमा रकम जम्मा गर्न पत्र पठाएको थियो’ स्वास्थ्य परिक्षणको अनुमति पाएका गाम्का नेपालका मोहन चौलागाईंले भने,‘विदेशी बैंकमा रकम पठाउन राष्ट्र बैंकले श्रम मन्त्रालयको सिफारिस माग्यो । श्रमले सिफारिस नदिएपछि हामीले कामदारको स्वास्थ्य परिक्षण गर्न बन्द गरेको हौं ।’
जीसीसीले गाम्का नेपालअन्तर्गत १२ वटा स्वास्थ्य संस्थालाई साउदी, बहराइन र ओमन जाने कामदारको स्वास्थ्य परिक्षण गर्न अनुमति दिएको थियो । उनीहरुले एक जना कामदारको स्वास्थ्य परिक्षण गर्न ५ हजार ३ सय रुपैयाँ लिने गर्छ ।
साउदी, बहराइन र ओमनले मेडिकल रिपोर्ट पेस गरेपछि मात्रै भिसा प्रक्रिया सुरु गर्ने गरेको छ । कतारका केही कम्पनीले पनि मेडिकल रिपोर्ट अनिवार्य लिने गरेको छ । वैदेशिक रोजगार व्यवसायीहरुका अनुसार मेडिकलको रिपोर्ट नभएपछि आवेदन दिने कार्य स्थगित भएको छ । ‘डिसेम्बर २५ सम्म अन्तर्वार्तामा पास भएका कामदारका मेडिकल रोकिएको छ,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङले भने, ‘अन्तर्वार्ता पास भएका कम्तीमा १५ हजार कामदार काठमाडौंमा रोकिएका छन् ।’
श्रम मन्त्रालयले कामदारमाथि अतिरिक्त भार पर्न नहुने तर्क राखेको छ । मन्त्रालयले गाम्काबाटै कामदारको स्वास्थ्य परिक्षणको शुल्क तोकिएको भन्दा बढी लिइरहेको जनाउँदै भनेको छ, ‘दर्ता शुल्क लिने विषयमा कूटनीतिक माध्यमबाट मन्त्रालयलाई जानकारी हुनुपर्दथ्यो । मन्त्रालयलाई यसबारे जानकारी आएपछि मात्रै छलफल गर्न मिल्छ । फेरि कामदारको स्वास्थ्य परिक्षण गर्नेबारे जीसीसीले अहिलेसम्म औपचारिक रुपमा मन्त्रालयसँग अनुमति लिएको छैन ।’
कान्तिपुरबाट
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}
