
काठमाडौं- लेवननमा पक्राउ गरी विना कारण थुनामा राखिएकी रोजिमाया लिम्वूको रिहाईका लागि आवश्यक कुटनीतिक पहल गर्न जिफन्टले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको छ । जिफन्टको एक टोलीले परराष्ट्र सचिव शंकरदास बैरागीलाई भेटेर लिम्वूलाई पक्राउ गरिएको लामो समय वितिसकेको र हालसम्म उनको रिहाई नभएको भन्दै रिहाईका लागि आवश्यक पहल गर्न अनुरोध ग¥यो ।
२०१६ नोभेम्वर ३० मा लेवननमा घरेलु श्रमिकका रुपमा कार्यरत लिम्वू र सुशीला राना(सुजना) लाई लेवननको जनरल सेक्यूरिटीले पक्राउ गरेको हो । उनीहरु मध्ये रानालाई नेपाल फिर्ता पठाइएको छ भनें लिम्वूलाई हिरासतमा राखिएको छ । यसमा जिफन्टको गम्भीर रुपमा ध्यानाकर्षण भएको भन्दै कानूनी रुपमा बसिरहेका व्यक्तिलाई अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गरेको अभियोगमा पक्राउ गर्नु तथा देश निकाला गर्नु न्यायोचित नभएको जिफन्टले जनाएको छ ।
लिखित रुपमा परराष्ट्र सचिव बैरागीलाई बुझाइएको पत्रमा भनिएकोः निजहरु कानूनी रुपमा नै बसि काम गर्दै आईरहेको र समस्यामा पर्ने नेपाली घरेलु श्रमिकलाई आवश्यकता अनुसार इजिप्ट स्थित नेपाली दुतावास र यस महासंघसंग समन्वय गरि सरसहयोग समेत गर्दै आईरहेकोमा निजहरुलाई पक्राउ गर्ने, डिपोट गर्ने र रोजगारीको हकबाट बंचित गर्नु न्यायोचित होइन ।
अन्यायपूर्वक थुनामा राखिएकी लिम्वूको तत्काल रिहाईका लागि कुटनीतिक पहल गर्न जिफन्टले अनुरोध गरेको छ । भेटमा परराष्ट्र सचिव बैरागीले यसका लागि मौखिक रुपमा काम भइरहेको भन्दै अव लिखित रुपमा पहल गरिने प्रतिवद्धता जनाए । जिफन्टका तर्फबाट साँसद चुडामणी जंगली तथा अधिवक्ताहरु रमेश बडाल तथा निशा बानियाँ गएका थिए ।