
चितवन- पैसा कमाउनै भनेर २०५८ सालमा मलेसिया गएका रत्ननगर–८, बैरियाका विष्णु पुरी अहिले गाईगोठमा रमाइरहेका छन् । त्यहाँ पैसा कमाइ नभएपछि उनी स्वदेश फर्किए । यहाँ आएर उनले गाईपालन सुरु गरे । व्यवसाय सुरु गरेको १० वर्षमै पुरी सफल व्यवसायीमा गनिएका छन् । छोटो समयमै गाईपालन गरेर राम्रो आम्दानी गर्दै आएका विष्णु विदेशीने युवाका लागि उदाहरणीय पात्र बनेका छन् ।
उनले मालिका पशुपालन तथा पशु विकास फर्म नाम दिएर व्यवसाय सुरु गरे । उनले २०६३ सालमा ९ वटा गाईबाट व्यवसाय सुरु गरे । अहिले उनको गोठमा गाई र बाच्छी गरी ३८ वटा छन् । ३८ गाईमध्ये अहिले २२ वटा दुहुना छन् । उनले दैनिक २ सय लिटरसम्म दूध उत्पादन गर्दै आएका छन् । अहिले मासिक ८० हजार आम्दानी हुने गरेको उनी बताउँछन् ।
चार वर्षसम्म विदेशमा काम गर्दा पनि पैसा कमाउन नसकेपछि त्यहाँबाट फर्किएर पुरीले गाईपालन सुरु गरेका हुन् । मलेसियामा चार वर्ष काम गरें तर पैसा कमाउन सकिन उनले भने अहिले आफैंले सुरू गरेको गाईपालनबाट मासिक ८० हजार कमाएको छु । आफूले गरेको गाईपालनले राम्रो मुनाफा आर्जन गर्न थालेपछि पुरीलाई आफ्नै घरमा गरेको मिहिनेत विदेशमा गरेको कामभन्दा कयौं गुणा राम्रो भएको छ । गाई पालेर के नै गर्न सकिन्छ भनेर आलोचना गर्नेहरु अहिले उनको तारिफ गर्छन् । “सुरुमा धेरैले खिसी गर्थे,” पुरी खुसीहँुदै भन्छन्, “अहिले मेरो सिको गर्दै अरुले पनि सुरु गरेका छन् ।”
दूध बिक्रीका लागि उनलाई धेरै भौतारिनु पर्दैन । उनकै घरमा दूध लिन बिहानै ग्राहक आउँछन् । बिक्री गरेर बचेको दूध नजिकैको हरिहर दुग्ध उत्पादक संस्थामा लैजाने गरेका छन् । घरबाटै बिक्री गर्दा लिटरको ६० रुपैयाँसम्म पर्छ भने संस्थामा लैजाँदा ४५ रुपैयाँ पर्छ ।
विष्णुका श्रीमती, दुई छोरा र एक छोरी छन् । विष्णुका जेठा छोरा हाल चीनमा डाक्टर पढिरहेका छन् । कान्छा छोराले स्नातक तथा छोरी १२ कक्षामा अध्ययनरत छिन् । आफ्नो व्यवसायबाट छोराछोरीलाई राम्रोसंग पढाउन सकेकोमा उनी सन्तुष्ट छन् ।
गाईपालनका लागि उनले डेढ विघा जग्गामा घाँसखेती पनि गरेका छन् । डेढ विघा नै भाडामा लिएर घाँसखेती गरेका हुन् । वार्षिक ५ लाखको पराल, ९० हजार जग्गाको भाडा, दानाचोकर तथा कामदारलाई ज्याला तिर्दा धेरै बचत नहुने विष्णुको भनाइ छ । गोबर बिक्रीबाट भने उनलाई केही राहत मिलेको छ । गाईपालन गरेकै कारण उनले सरकारबाट युवा स्वरोजगार कार्यक्रमअन्तर्गत २ लाख रुपैयाँ अनुदान पाएका छन् ।
कारोवारबाट