विदेशमा सिकेको सीपले नेपालमा कमाउँदै 

ज्ञानु पंगेनी, नवलपरासी, पुष २०- 

नेपालबाट किन युवा विदेश जान्छन् ? उत्तर सहज छ पैसा कमाउन । तर विदेश गएर पैसा मात्र कमाएर फर्किनेहरुका लागि त्यसपछिको विकल्प के ? धेरैसँग उत्तर सहज हुन्न । जसले विदेशमा गएर केहि पुँजीसँगै सीप सिकेर फर्किन्छन् उनीहरुका लागि भनें सहज उत्तर हुन्छ अव स्वदेशमा नै रोजगारी । हो त्यस्तै उदाहरण हुन् कावासोती ८ का युवा लेखनाथ पाठक । 

पाठकले विदेशमा सिकेको सीपलाई स्वदेशमा नै प्रयोग गरेर राम्रो आम्दानी गरिरहेका छन् । आठ वर्षसम्म विदेशमा पसिना बगाएका पाठकले विगत अढाई वर्षदेखि कावासोती ८ मै कृष्ण तयारी कपडा पसल खोलेर ३ जनालाई रोजगारी समेत दिएका छन ।

पछिल्लो समय विभिन्न संघसंस्थाहरुले संस्थाका नाम लेखिएका टिर्सट ड्रेसका रुपमा प्रयोग गर्नेक्रम बढेसँगै पाठकले खोलेको तयारी कपडा पसलले पनि राम्रै बजार पाएको छ । कावासोतीमा यस्तो तयारी पोशाक निर्माण गर्ने अहिलेसम्म उनी मात्रै छन । यसले पनि उनको आम्दानी राम्रो छ ।

‘आठवर्षसम्म मलेसियामा गार्मेन्ट फ्याक्ट्रिमा नै काम गरें र नेपाल फर्केपछि त्यहि सीपलाई प्रयोग गरेर विदेशमा भन्दा राम्रो कमाई भइरहेको छ’ पाठकले भने ‘३ जनालाई रोजगारी पनि दिएको छु, कामको कुने खाँचो छैन ।’ सोहि पसलबाट उनले सवै खर्च चलाएर केहि बचत समेत गर्दै आएका छन् । उनी भन्छन् ‘५ जनाको परिवार राम्रैसँग पालेको छु । विदेशमा भन्दा यहि मलाई सन्तुष्टि मिलेको छ ।’ उनी विदेशमा रातदिन नभनि काम गर्नुपरेको र विना काममा त्रसित भएर बस्नु परेको सम्झँदै अहिले आनन्द भएको बताउँछन् । 

देशको अवस्थाबाट वाक्क भएर विदेश गएका उनले लामो समयसम्म विदेशमा काम गरे । त्यहि बसाईमा उनले सीप पनि सिके र आफुले सिकेको सीप आफुमा मात्रै सिमित नराखि अरुलाई पनि सिकाउने गरेका छन् । 

विदेशमा सिकेको सीपबाट स्वदेशमा नै प्रगति गर्ने उनी एक्ला पात्र होइनन् । कावासोती ३ का कमल भुषाल र दिपक कँडेलले पनि विदेशमा सिकेको सीपलाई स्वदेशमा नै प्रयोग गरेर राम्रो आम्दानी गर्दै आएका छन । नाताले साला भिनाजु पर्ने यी दुईले कावासोतीमा होटेल सञ्चालन गर्न थालेको एक वर्ष भएको छ ।

उनीहरु दुवैजनाले लामो समयसम्म विदेशमा होटेलमा नै काम गरेका थिए । विदेशमा कमाएको पैसा र सिकेको सीपलाई दुवैजनाले स्वदेशमा नै प्रयोग गरि राम्रो आम्दानी पनि गर्दै आएका छन । 

५ वर्षसम्म दुवईमा काम गरेका कमलले सधैं अर्काको देशमा श्रम र पसिना बगाउनुभन्दा स्वदेशमा नै केहि गर्नुपर्छ भन्ने सोच राखेर होटेल व्यवसाय शुरु गरेको बताउँछन । भुषाल भन्छन्ः ‘५ वर्षसम्म अर्काको देशमा काम गरे, धेरै दुःख कष्ट सहें परिवारबाट छुट्टिदाको पीडाले सधैं आँसु झथ्र्यो, आफ्नै घरपरिवार र आफ्नै देशमा जस्तो कहाँ हुन्थ्यो र अर्काको देश । तर घरपरिवारको मुख  हेर्नुपर्दो रहेछ । विदेश जाँदा लागेको ऋण तिर्नलाई पनि अर्काको देशमा लामो समय पसिना  बगाएँ ।’ 

विदेशमा उनको तलब पनि राम्रै थियो । तर अर्काको देश भनेको अर्कैको हुन्छ । आफ्नोपन त्यहाँ भेटिएन । त्यसैले उनी लामो समयसम्म विदेशमा अडिन सकेनन् । स्वदेश फर्केर उनले भिनाजुसँग साझेदारीमा होटल सुरु गरे । 

शुरुका दिनमा केहि असहज भएपनि अहिले होटेलबाट राम्रै आम्दानी भएको भुषालको भनाई छ । विदेशमा सिकेका खानाका परिकार बनाउने सीपलाई अहिले आफ्नै होटेलमा उनले सदुपयोग गरेका छन् । ‘ग्राहक पनि खुसी हुन्छन, विदेशमा बनाउने गरेको परिकार यहाँ बनाएर ख्वाउँदा मलाई पनि खुशी लागेको छ’ भुषालले भने । 

दिपक कँडेलको कथा पनि उस्तै छ । १४ वर्षसम्म भारत र ८ वर्ष दुवईमा गरि २२ वर्षसम्म उनले विदेशमा पसिना बगाए । विदेशमा धेरै कष्ट सहनुपरेको उनी बताउँछन । सानै उमेरमा भारत पसि १४ वर्षसम्म भारतमा काम गरेका उनले धेरै कमाउने आशामा विदेश लागेको बताउँछन । 

‘८ वर्षसम्म  विदेशमा काम गरें । सीप नसिकी र केहि कुरा नबुझी विदेश जाँदा शुरुका केहि वर्ष त धेरै दुःख पाएँ । अर्काको देशमा जे जस्तो काम पनि गरियो । अर्काको देशमा गएपछि आफुले चाहेर पनि घर फर्किन नपाईने । ऋण काढेर गएको त्यसै फर्कन पनि नमिल्ने । जतिसुकै दुःख परेपनि सहेर काम गरे’ कँडेलले भने । 

पछि सीप सिकेर दुवई गएपछि उनलाई सजिलो पनि भयो र कमाई पनि राम्रै भयो । तर उमेर र जोस जाँगर हुँदासम्म अरुको देशमा काम गर्ने नसक्ने भएपछि नेपालमा बसेर के गरेर जीवन चलाउने भन्ने चिन्ताले उनलाई सताउनथाल्यो । त्यसैले स्वदेशमा नै केहि गर्नुपर्छ भन्ने सोचेर सालासँग छलफल गरि नेपाल फर्केर साझेदारीमा होटेल खोल्ने निधो गरे । 

नेपालमा नै गरेको कामबाट उनीहरुले ३ जनालाई रोजगारी पनि दिएका छन् । खर्च कटाएर केहि रकम बचत पनि भइरहेको उनीहरु बताउँछन् । व्यवसाय विस्तार हुँदै गएकाले राम्रो हुँदै जाला भन्ने उनीहरुको अपेक्षा पनि छ । 

के तपाई पनि यस्तै कुनै काम थाल्नुहुन्छ की ? 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/E6vqi7x4IY8″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय