विभाग र म्यानपावर कम्पनीको मिलेमतोमा खाडीमा महिला तस्करी ! 

काठमाडौं, पुष १८- वैदेशिक रोजगार विभागकै कर्मचारी र केही म्यानपावर व्यवसायीले खाडी मुलुकमा घरेलु कामदार पठाउने नाममा मानव तस्करी गर्दै आएको खुलेको छ । अवैधानिक ढंगले घरेलु कामदार बनेर खाडी मुलुक जानेलाई निरुत्साहन गर्नुको सट्टा विभागकै कर्मचारी आर्थिक प्रलोभनमा परी मानव तस्करलाई प्रश्रय दिइरहेका छन् ।

श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागको संरक्षणमा विभाग मातहतको ताहचलस्थित काठमाडौं कार्यालयले गैरकानुनी ढंगले श्रम स्वीकृत दिएर मानव तस्करीलाई प्रश्रय दिएको हो । सरकारले नयाँ कामदारलाई घरेलु कामदारमा जान प्रतिबन्ध लगाएका मुलुकमा विभागका कर्मचारीले श्रम स्वीकृत नवीकरण (रिइन्ट्री) र वैधानीकरणको (लिगलाइजेसन) का नाममा अनियमितता गरिरहेको स्रोतको दाबी छ ।

सरकारले कुवेत, ओमान, बहराइन, साउदी, कतारलगायतका मुलुकमा नयाँ घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ । सरकारले घरेलु कामका लागि जान नयाँ कामदारमाथि प्रतिबन्ध लगाए पनि वैदेशिक रोजगार विभागका कर्मचारीको मिलेमतो (सेटिङमा) झूटो विवरण बनाएर श्रम स्वीकृत दिइएको भेटिएको छ ।

वैधानीकरण र श्रम स्वीकृत नवीकरण गर्ने बहानामा वैदेशिक रोजगार विभागले आर्थिक चलखेल गरी अहिलेसम्म नगएका व्यक्तिलाई पनि पठाउने गरेका छन् । नयाँ कामदारलाई यसअघि नै विदेश गएको विवरण बनाई श्रम स्वीकृत लिन श्रम तथा रोजगार मन्त्रालयका उच्च अधिकारीले संरक्षण दिएको स्रोतको दाबी छ । त्यसको पछिल्लो उदाहरण बनेकी छन् दोलखाकी सुनिता तामाङ ।

विभागले कुवेत नगएकी दोलखा मागापौवा गाविस २ की कुमारी तामाङलाई घरेलु कामदारका लागि पुस ७ गते ३१४६६५७ नम्बरको श्रम स्वीकृति दिएको छ । उनलाई कुवेत पुगेकी सुनिता तामाङको नाममा जारी राहदानीका आधारमा श्रम स्वीकृत नवीकरण गरिएको खुलेको छ ।

आगमन र प्रस्थान जाँच गर्दा कुमारी तामाङ कुवेत पुगेको खुल्दैन । विमानस्थलस्थित अध्यागमन कार्यालयले तामाङको रेकर्ड हेर्दा विगतमा कुवेत नगएको पाएपछि उनलाई प्रस्थान अनुमति दिएन र उनी फर्किन् । विभागका कर्मचारीले प्रलोभनमै नाम मिलेको फाइदा उठाउँदै अर्कै सुनिताको राहदानीका आधारमा तामाङलाई श्रम स्वीकृति दिएको खुलेको छ । दुवै सुनिताको राहदानी नम्बर र जन्ममिति फरक पाएपछि विमानस्थल अध्यागमनले तामाङलाई फिर्ता गरेको थियो ।

सुनिता मात्र होइन, उनीजस्ता सयौंलाई वैदेशिक रोजगार विभागले गलत विवरणमा श्रम स्वीकृत दिएको छ । पछिल्लोपटक विमानस्थल अध्यागमन कार्यालयले झन्डै २० जना त्यस्ता कामदारलाई फिर्ता गरेको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले विभाग र मातहतका कार्यालयमा हुने अनियमितताको अन्त्य गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । महानिर्देशक पाण्डेले भने “अनियमितता स्वीकार्य छैन । म कडाइका साथ निगरानी गर्छु ।” पाण्डे कात्तिकदेखि विभागमा कार्यरत छन् । 

सुनितालाई मात्र होइन, वैदेशिक रोजगार विभागले बहराइन नै नगएका टमबहादुर खत्रीलाई पनि वैधानीकरण (इन्डिभिजुअल लिगलाइजेसन) गरेको छ । एकपटक पनि बहराइन नगएका व्यक्तिलाई इन्डिभिजुअल लिगलाइजेसन गर्नु गैरकानुनी हो । विगतमा बहराइन गएको पुष्टि नभएपछि खत्रीलाई पनि विमानस्थलबाटै फर्काइएको थियो ।

विमानस्थलस्थित अध्यागमन कार्यालयले विभागले जथाभाबी श्रम स्वीकृति दिएका कामदारलाई फिर्ता गर्न थालेपछि वैदेशिक रोजगार विभागको लापरबाही सतहमा आएको हो ।

दिनहुँजसो समस्या आएपछि अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने र विमानस्थल अध्यागमन कार्यालयका प्रमुख उद्धव भट्टराईले गत साता श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीलाई भेटी वैदेशिक रोजगार विभागको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।

स्रोतका अनुसार सचिव मैनालीले अनियमिततामा संलग्न वैदेशिक रोजगार विभागका कर्मचारीमाथि छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् । ुसचिवज्यूले वैदेशिक रोजगार विभागमा भइरहेको अनियमितता छानबिन गर्छु भन्नुभएको छु, मन्त्रालयका एक अधिकारीले भने ।

वैदेशिक रोगजार विभागले वैधानिक प्रक्रियाबाट गएर फर्केर आएकालाई श्रम स्वीकृत नवीकरण (रिइन्ट्री) गरी पठाउने गरेको छ भने विभिन्न तरिकाले खाडी मुलुक गएर फर्केकालाई वैधानीकरण (लिगलाइजेसन) मार्फत श्रम स्वीकृत दिने गरेको छ । तर विभागका कर्मचारीले वैधानिक बाटोलाई कुल्चिएर घरेलु कामदारका लागि अहिलेसम्म नगएका व्यक्तिलाई पनि श्रम स्वीकृति दिइरहेका छन् । यो कार्यबापत विभागका कर्मचारीले कामदार वा म्यानपावर व्यवसायीबाट मोटो रकम असुल्ने गरेका छन् ।

वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले कुवेत नपुगेकालाई गएको विवरण बनाउँदै नवीकरण श्रम स्वीकृति दिइरहेका छन् । श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका उच्च अधिकारीसमेतको संरक्षण तथा म्यानपावर व्यवसायीको मिलेमतोमा विभागका कर्मचारीले जथाभाबी श्रम स्वीकृति दिइरहेको स्रोतको दाबी छ ।

वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराईले गलत काम गर्ने कर्मचारीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि विभाग मातहतमा डरलाग्दो सेटिङ खुलेको हो ।

अन्नपूर्ण पोष्टबाट 

छोरो हरायो परदेशमा, आमा रुन्छिन घरमा 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/CUG3wYJyJig” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय