
काठमाडौं, पुष १३
देउराली–७ सिम्लेफाँट गोरखाकी सीता रेग्मी, खनाल स्थानीय उद्योगले रोजगारी दिएपछि आत्मनिर्भर भएकी छन् । तनहुँ आँबुखैरेनी नगरपालिका–५ स्थित सूर्य ब्लेन्डर्स प्रालिले स्थानीय महिलालाई प्राथमिकतामा राखेर रोजगारी दिएपछि सीताले स्टोरकिपरको जिम्मेवारी पाएकी हुन् ।
विभिन्न किसिमको मदिरा उत्पादन गर्दै आएको सूर्य ब्लेन्डर्सको स्थापना कालदेखिकै कर्मचारी रहेकी उनी तल्लो पदमा काम गर्दै स्टोरकिपरमा पदोन्नति भएकी हुन् । सीता भन्छिन्, “उद्योगले महिलालाई प्राथमिकता दिएर रोजगारी दिएपछि आत्मनिर्भर भएकी छु ।”
उनीमात्रै होइन, उद्योगले रोजगारी दिएका १ सय २० जना महिलाहरू नै खुसी रहेको उनले बताइन् । “महिलाहरू घरव्यवहार चलाउन, छोराछोरीलाई आवश्यक शिक्षादिक्षाको लागि खर्च जुटाउन सक्षम छन्,” सीताले भनिन्, “कसैकसैले सहकारीमा केही रकम बचतसमेत गरेका छन् ।”
उद्योगमा काम गर्ने मध्ये ९० प्रतिशत महिला छन् । रोजगारीपछि उनीहरू आत्मनिर्भर भएका छन् । सानै उमेरमा वैवाहिक बन्धनमा बाँधिएर अध्ययनको अवसरबाट वञ्चित भएका महिलाले अनुशासित भएर काम गर्दै आएका छन् । उद्योगका सञ्चालक वसन्तराज श्रेष्ठ पुरुषको तुलनामा महिलाहरू मितव्ययी, अनुशासित र व्यावहारिक रहेको बताउँछन् । दिनहुँ रोजगारीको लागि महिलाको माग आउने गरेको उनले बताए । “रोजगारी चाहियो भन्दै आउनेको संख्या बढ्दो छ,” उनले भने, “उद्योगको क्षमताअनुसार जनशक्ति खपत गर्दै आएका छौं ।”
२०६६ बाट सञ्चालनमा आएको उद्योगमा महिलाहरू मजदुरदेखि प्रशासनिक कर्मचारीसमेत छन् । “सुरुमा ३० देखि ३५ जनासम्म महिला रोजगारी दिएका थियौं,” गोरखा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन्, “महिलाले रोजगारी पाउनु आर्थिक र सामाजिक पक्षमा सकारात्मक परिवर्तन आएको महसुस गरेको छु ।”
महिलामा काम गरेर खानुपर्छ भन्ने मानिसकताको विकास भएको श्रेष्ठ महसुस गर्छन् । उनी भन्छन्, “पढेका र नपेढका सबैमा काम गर्नुपर्छ र कमाएको थोरै भए पनि बचत गर्नुपर्छ भन्ने धारणाको विकास भएको छ ।” उद्योगले नियमित बाहेक अतिरिक्त समय (ओटी) मा समेत काम गर्ने सुविधा दिएको छ । उनीहरूले सामान्यतया ९ हजार रुपैयाँभन्दा माथि मासिक तलब पाउँछन् ।
एकल तथा घरपरिवारबाट अपहेलित महिलाहरूले रोजगारी पाएपछि आफ्नो व्यवहार सम्हाल्न सकेका छन् । ठूलो काम गर्न हातमा सीप नभएका, योग्यता कम भएकाहरू उद्योगमा रोजगारी पाएबाट आत्मनिर्भर हुन सकेकोमा खुसी छन् ।
ममता क्षेत्री (नाम परिवर्तन) श्रीमानबाट अपहेलित महिला हुन् । उनका दुई वटा बच्चा छन् । क्षेत्रीले भनिन्, “रोजगारी गरेर बच्चाहरूलाई दुःख–सुख पढाइहेकी छु । थोरै रकमको लागि कसैको मुख ताक्नु परेको छैन ।”
यस्तै उर्मिला परियार (नाम परिवर्तन) का श्रीमानले दोस्रो विवाह गरे । उनी आफ्नो खुट्टामा आफैं उभिन सकेकोमा चिन्ता नलागेको बताउँछिन् । सुरुमा कामको लागि रुँदै आएकाहरू सानो कमाइले पनि आर्थिक र सामाजिक रूपमा परिवर्तन गर्न सफल भएको सञ्चालक श्रेष्ठ बताउँछन् । “उनीहरू व्यक्तिको घर, पसलको काम भन्दा उद्योगको काममा खुसी भएको पाएको छु,” उनले भने, “भविष्यमा थपलाई पनि रोजगारी दिने योजना छ ।”
उद्योगमा दिनहुँ सीपयुक्त जनशक्तिको खाँचो पर्दै गएको छ । पढेका र काम जानेका महिलाको खाँचो परेको श्रेष्ठ बताउँछन् । यसका लागि सरकारीलगायत गैरसरकारी संघ–संस्थाले युवतीहरूलाई सीप सिकाउन विभिन्न तालिमहरू दिनुपर्ने आवश्यकता छ ।
पेट र पकेटको लागि रोजगारी हुनेमा फरक हुने महसुस गरेको उनले बताए । भन्छन्, “पेट हेर्नेलाई रोजगारी अनिवार्य हुने र अनुशासित भई काम गर्ने र पकेटको लागि काम गर्नेहरू अनुशासनमा कम ख्याल गर्दा रहेछन् ।”
पछिल्लो समय महिलाले रोजगारी गर्नुपर्छ भन्ने सोच बढ्दै गएको तनहुँ उद्योग वाणिज्य संघका सदस्य तथा आँबुखैरेनी इकाईका सभापति कृष्ण गान्द्राङ बताउँछन् । यसले बेरोजगारी हटाउन भूमिका खेलेको उनको ठम्याइ छ । वरपरका उद्योग, निजी विद्यालय, बजारका पसल तथा सहकारी आदिमा गरी ५ सयभन्दा बढी युवतीहरू कार्यरत रहेका गान्द्राङले बताए । “कामप्रतिको लगनशिलता पनि महिलामा पाइन्छ,” उनले भने, “आफू काम गरेर भए पनि छोराछोरी निजी विद्यालयमा अध्ययन गराएका छन् ।”
रोजगारीका लागि महिला आफैं अग्रसर भएका छन् । आफैं सक्षम छन्, खुसी छन्, राम्ररी काम गरिरहेका छन् । उमेरका हिसाबले सक्षम भएकाहरू परिश्रम गर्नुपर्ने काममा झनै सक्षम छन् । उनीहरू आत्मनिर्भर हुन सकेका छन् । बचत गर्न सकेका छन् । घरव्यवहार चलाएर पनि केही न केही रकम बचत गर्न सफल भएका छन् । रोजगारदाताले महिला कर्मचारीलाई रोजगारीमा अवसर दिएपछि स्थानिय महिलाको आय आर्जनसमेत बढेको छ । महिलाको आयआर्जन बढ्न थालेपछि बचत समेत गर्न थालेका छन् ।
कारोवारबाट
बैदेशिक रोजगार सम्वन्धि गन्धर्व गीत हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/tM0uQinIies” frameborder=”0″ allowfullscreen></iframe>{/source}